स्वाव परीक्षणको रिपोर्ट आयो, गैडाकोटका स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टी

0

डोलराज रानाभाट, १० जेठ , गैडाकोट ।

गैडाकोटका स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टी भएको छ । आज पोखरामा गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरु कसैमा पनि कोरोना नभएको पुष्टी भएको हो । गैडाकोटको स्वावलाई प्राथमिकतामा राखेर परीक्षण गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक कल्पना सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले पनि स्वास्थ्यकर्मीमै आरडिटी पोजेटिभ आएपछि पहिलो प्राथमिकतामा राखेर जिल्लाबाट स्वाव संकलनको टोली पठाएर संकलित स्वाव पीसीआर परीक्षणको लागि पोखरा पठाइएको र शनिवार राति पीसीआर रिपोर्ट नेगेटिभ आएको पुष्टी गर्दै आरडिटी पोजेटिभ देखिएका सहित १७ जनामा कोरोना नभएको बताउनुभयो । यता गैडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले पनि कोरोना नरहेको रिपोर्ट आएको र भोलिबाट थप सहज हुने गरी सेवाहरु प्रवाह गर्ने बताउनुभयो । भोलिबाट नै परीक्षणको दायरा पनि वढाउदै उच्च सतर्कता अपनाईने बताउनुभयो ।

हिजो गैडाकोट स्वास्थ्य चौकीमा आरडिटी परीक्षण गर्दा गैडाकोट नगरपालिका वडानम्वर ४ र ५ निवासी दुई महिला स्वास्थ्यकर्मीमा पोजेटिभ दखिएपछि उहाँहरुलाई पितौजीको क्वारेनटाइनमा राखिएको थियो । आज विहानै स्वास्थ्य कार्यालय नवलपुरबाट आएको टिमले दुई जना उहाँहरु सहित अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा दिइरहेका १७ जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइएको थियो । दिउसो पुगेको स्वावलाई प्राथमिकता दिएर परीक्षण गरिएकाले आजै रिपोर्ट आएको हो ।

गैडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल स्वयम आज पोखरा पुगेर स्वाव छोडेर आउनुभएको थियो । स्वास्थ्यकर्मीमै आरडिटी पोजेटिभ देखिएपछि इमरेजेन्सीमा राखेर परीक्षण गरिएको थियो । आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा स्वाव परीक्षण गरिएको हो ।

आज मात्रै गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल स्वयम् स्वाव संकलन स्थल पितौजी पुगेर निरीक्षण गर्नुभएको थियो भने प्रदेशमा सम्पर्क गरी यो धेरै इमरजेन्सीमा रहेका कारण सोही अनुसारको समयमै परीक्षण गरिदिन आग्रह गर्नुभएको थियो । साथै गैडाकोट नगरभित्र अव पीसीआर परीक्षणको दायरा वढाउने बताउनुभयो । रिपोर्ट नेगेटिभ आएपछि उहाँले गैडाकोटलाई कोरोनाको ग्रीन जोन बनाउन भइरेको प्रयासमा थप सहयोग मिलेको बताउनुभयो ।

Share.

Leave A Reply