भारतबाट २ जना गैंडाकोट आईपुगे, अमरापुरी र गैंडाकोट क्वारेन्टीनमा, स्कुल–स्कुलमा क्वारेन्टीन

0


प्रेम क्षेत्री,
जेठ १०, गैंडाकोट । भारतीय सीमामा अलपत्र परेका २ जना गैंडाकोट आईपुगेका छन् । उनिहरु मध्ये एक जना लक्ष्मी मावि अमरापुरीमा र अर्का एकजनालाई नारायणी मावी गैंडाकोटमा निर्माण गरिएको क्वारेन्टीनमा राखिएको छ ।
हिजो बेलुका दाउन्ने सम्म हिंडेर आईपुगेका उनिहरुलाई त्यहाँबाट ल्याई क्वारेन्टीनमा राखिएको नगर क्वारेन्टीन व्यवस्थापन समितिका संयोजक एवं गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
आज मात्रै लक्ष्मी मावि अमरापुरीमा १० बेडको क्वारेन्टीन तयार गरिएको छ । क्वारेन्टीनमा बेड, झुल, खानेपानी, म्याट, खानपिन र सरसफाईका लागि २ जना कर्मचारी व्यवस्थापन गरिएको उहाँको भनाई छ । यहाँ १ जना क्वारेन्टीनमा रहेका छन् ।
त्यस्तै जनशक्ती आधारभुत विद्यालय वेल्डियामा पनि १० बेडको क्वारेन्टीन तयार भईसकेको छ ।
त्यसैगरी नारायणी मावी गैंडाकोट ७ मा १० वेडको क्वारेन्टीन तयार भएको छ । गैंडाकोट ५ का एक व्यक्तिलाई आज यहाँ राखिएको गैंडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले जानकारी दिनुभयो । हाललाई यहाँ १ जना व्यक्तिलाई खानपिन र सरसफाईका लागि खटाईएको छ ।
नगर क्वारेन्टीन व्यवस्थापन समितिका संयोजक गोविन्द प्रसाद सुवेदीका अनुसार यसअघि देखीनै १४ जना पितौजीघाटमा रहेको कभर्ड हलमा रहेका छन् । उहाँले नगरका ठाउँ ठाउँमा क्वारेन्टीन निर्माण कार्य चलिरहेको पनि जानकारी दिनुभयो । आज बसेको नगर क्वारेन्टीन व्यवस्थापन समितिको बैठकले नगरमा आवश्यकता अनुसार क्वारेन्टीन सङ्ख्या र बेड थप गर्दै जाने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।
बैठकले समसामयिक विषयमा समिक्षा समेत गरेको छ । गैंडाकोट नगरपालिका सुचना अधिकारी लिलाधर शर्माले कोरोना सम्भावित जोखीम कम गर्न नगरपालिकाको तर्फबाट गर्नुपर्ने पहलका विषयमा छलफल भएको बताउनुभयो । आवश्यकता अनुसार प्रत्येक वार्डमा आ– आफ्नो विद्यालयमा क्वारेन्टीन निर्माण गर्नुपर्ने कुरा आएको पनि जानकारी दिनुभयो । बैठकमा नगर प्रमुख छत्रराज पौडेल, उप प्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य लगायत जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
गैंडाकोट नगरपालिकाले विदेशमा रहेका नगरबासीलाई ल्याउने तयारी गरिरहेको छ । टोल विकास संस्था, वडा कार्यालय मार्फत विदेशबाट आउन चाहने हरुको सुचना संकलन गरिरहेको छ । नगरपालिकामा सो को व्यवस्थापनका लागि क्वारेन्टीन तयार गरिरहेको छ । नगरमा आउनेहरुको सङ्ख्या एकिन भएपछि थप व्यवस्थापन कार्य अघि वढ्ने जनाईएको छ ।

Share.

Leave A Reply