क्वारेन्टिन : सुत्ने व्यवस्था भरतपुर महानगरको, खाना स्वयंको

0

भरतपुर, १० जेठ  : भरतपुर महानगरपालिकाका सबै वडामा कोरोना भाइरसको जोखिम हुन नदिन धमाधम क्वारेन्टिन स्थापना भइरहेको छ ।

अधिकांश वडामा क्वारेन्टिन स्थापना भइसकेका छन् भने केहीमा निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा न्यूनतम १० श्ययाको क्वारेन्टिन स्थापना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिनुभयो ।

उहाँले महानगरपालिकाको निर्देशनअनुसार २० बढी वडामा क्यारेन्टिन स्थापना भइसकेको बताउनुभयो । “हरेक क्वारेन्टिनमा सामाजिक दूरी कायम हुने गरी श्यया राखिएको छ”, उहाँले भन्नुभयो, “महानगरले सुत्ने व्यवस्था गरेको छ, खानाको व्यवस्था स्वयं व्यक्तिले गर्नुपर्नेछ ।” उहाँले परिवार नभएकाहरुको हकमा भने सबै व्यवस्था महानगरले गर्ने बताउनुभयो ।

विशेष गरेर भारतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिको उहाँले बताउनुभयो । महानगरमा पहिलो चरणमा २९० श्ययाको क्वारेन्टिन निर्माण हुने र आवश्यकताका आधारमा बढाउँदै लैजाने उहाँले जानकारी दिनुभयो ।

यसैबीच वडा नं ६ स्थित केशरबागमा शुक्रबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाले थप सतर्कता अपनाएको छ । आफ्नै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या देखिइसकेपछि थप नगरवासीमा सङ्क्रमण देखिन नदिन महानगरले शुक्रबारदेखि नै थप सतर्कता अपनाउँदै लकडाउन अवधिभर घरभित्रै बसिदिन महानगरले महानगरवासीलाई आग्रह गरेको छ ।

सङ्क्रमणको जोखिम झन् बढ्दै गएकाले सबैले धैर्यताका साथ घरभित्रै बसेर सहयोग गरिदिन महानगरले सूचना जारी गरेको छ । पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्म मात्रै सञ्चालन गर्न महानगर प्रमुख रेनु दाहालले आग्रह गर्नुभयो । (रासस)

 

Share.

Leave A Reply