हामीलाई कोरोना आयो भन्छन् : एम्बुलेन्स चालक

0

चितवन, ८ जेठ : कोरोना रोगको सङ्क्रमण बढ्दै जाँदा चौबीसै घण्टा सेवामा समर्पित हुने एम्बुलेन्स चालकले भने बाटोमा पानी पनि पिउन नपाउने गरेको बताएका छन् ।

कोरोना आयो भन्दै एम्बुलेन्ससमेत रोक्न नदिने गरेको उनीहरुको गुनासो छ ।

नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई÷दुई सय हाराहारी काठमाडौँ र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने जानकारी दिनुभयो । केहीबाहेक अधिकांश यो सङ्कटको घडीमा कार्यक्षेत्रमा छन् ।

उहाँ भन्नुहुन्छ, “जोखिम मोलेर अहोरात्र खट्दा पनि हाम्रा लागि कसैले हेर्दैनन्”, एम्बुलेन्स चालकहरुमा गुनासाका चाङ छन् उहाँको भनाइमा बाटोमा पैसा तिरेर पनि खान पाइँदैन । उहाँले गुनासो गर्नुभयो, “एम्बुलेन्स रोक्यो भने कोरोना आयो भन्दै घृणा गर्दछन् ।” बाटोमा पानीसमेत किनेर खान नपाउने गरेको उहाँको गुनासो छ । यस्तै एम्बुलेन्स चालकलाई पिपिइ, स्यानिटाइजर र मास्क छैन, भाडाको रकमले स्यानिटाइजर किन्न पुग्दैन ।

यस्तै प्रहरीले जाँचका क्रममा दुःख दिने गरेको चालकको गुनासो छ । बिरामी झार्ने, अनावश्यक कागजपत्र माग्ने र चालकलाई तथानाम गाली गर्ने गरेको लामिछानेको गुनासो छ ।

उहाँले भन्नुभयो, “केहीले कमी कमजोरी गरे होलान्, ती चालक कारवाही गर्नुपर्छ तर सबैलाई जाँचका नाममा ज्याजति गरिन्छ ।” देशमा सङ्क्रमणमा भिड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारको नाम लिइन्छ, तर सँगै जोखिम मोल्ने र काम गर्ने हामीलाई कसैले सम्झँदैन उहाँले गुनासो गर्नुभयो ।

आठ घण्टा काम गर्ने सरकारका कर्मचारीले तलब स्केलको दोब्बर पाइरहँदा २४ घण्टा काम गर्ने एम्बुलेन्स चालकले रु आठदेखि १० हजारमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply