चक्रवात अंपुनको प्रभाव : तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौँ, ६ जेठ : चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभावले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भइ निरन्तर भइरहने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

हाल देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । दिउँसो देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली भई मध्य र पूर्वी केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

 

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

विशेष मौसमी बुलेटिन (Special Weather Bulletin)

शक्तिशाली चक्रवात अंपुन (AMPHAN) सम्बन्धी अपडेट

(जारी मितिः २०७७-०२-०६, बिहान 10:०० बजे)

शुरुको अवस्था (Initial Status):

शुरुमा बंगालको खाडीमा विकसित भएको न्यूनचापिय मौसम प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो। यस चक्रवातको नाम अंपुन (AMPHAN) नामाङ्कण गरिएको छ। उक्त चक्रवात शुरुमा उत्तर उत्तर पश्चिम (NNW) दिशातर्फबाट अगाडि बढदै गरेकोमा पछि उत्तर उत्तर पूर्व (NNE) तर्फ अगाडि बढिरहेको छ। यो चक्रवात अझ शक्तिशाली (Super cyclonic storm) बन्दै भारतको पश्चिम बंगाल/बंगलादेशको तटिय क्षेत्रिय तर्फ अगाडि बढिरहेको छ।

हालको अवस्था (Present Status):

चक्रवातको अवस्थितिः 15.6अक्षांश ,८६.7 देशान्तर

चक्रवातको दिशा र गतिः  उत्तर-उत्तर-पूर्व (NNE) ,14 कि.मि/घण्टा

चक्रवातको अनुमानित केन्द्र(EYE) को हावाको चापः 940 हे.पा.(HPa)

अनुमानित चक्रवाती हावाको अधिकतम गतिः 115-125 Knots

(बिहान ५ः४५ बजेको समयमा)

मिति २०७७ ज्येष्ठ ६ गते बिहान ९:15 बजे भू-उपग्रहबाट लिइएको वादलको तस्विर

संभावित अवस्था (Future Status):

अंपुन (AMPHAN) चक्रवातले बंगलादेशको तटिय क्षेत्रमा २० मे, २०२० मा अपरान्ह वा साँझ समुद्रबाट जमिनतर्फ प्रवेश गर्नेछ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिने संभावना छ।

 

Observed and Forecast Track of AMPHAN cyclone (Source: India Meteorological Department)

नेपालको सन्दर्भमा अंपुन (AMPHAN) चक्रवातको प्रत्यक्ष प्रभाव नरहेपनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरि पूर्व र मध्य क्षेत्रको मौसम आगामि ३-४ दिन सम्म प्रभावित हुनेछ। पूर्व र मध्य क्षेत्रमा केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

Share.

Leave A Reply