नेपालको सातै प्रदेशमा कोरोना संक्रमण , कर्णाली प्रदेशमा पनि देखियो संक्रमण

0

६ जेठ । हिजो मात्रै ८० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको सख्या ३७५ पुगेको छ । साथै पहिलो पटक कर्णाली प्रदेशमा कोरोना सक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण देखिएको हो ।

भारतबाट फर्किएका ती युवक जेठ १ गते गाउँ पुगेको बताइएको छ । योसँगै मुलुकका सातै वटा प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा १७१ जना, प्रदेश २ मा १३३ जना, प्रदेश १ मा ४३ जना, वाग्मती प्रदेशमा १९ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा ५ जो सबै निको भइसकेका छन्, गण्डकीमा ३ र कर्णालीमा एक जनामा संक्रमण देखिएको छ । यता तराइका २१ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

सुनसरीका एक जना पुरुषमा संक्रमण देखिएसँगै तराईका सवै जिल्ला प्रभावित भएका छन् । तराईका जिल्लामध्ये सबैभन्दा बढी प्रदेश ५ को बाँकेमा ९३ जना, प्रदेश २ को पर्सामा ९१ जनामा कोरोना संक्रमण देखिएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो । अहिलेसम्म ३४ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३/३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply