गैडाकोट ४ रानीतालका युवाहरुले भने , ‘हामीलाई राहत होइन काम दिनुस’, तयारी भइरहेको छ ः वडाअध्यक्ष न्यौपाने

0

डोलराज रानाभाट, ५ जेठ, गैडाकोट । गैडाकोट ४ रानीतालका स्थानीयले राहत नभई काम दिन आग्रह गरेका छन् । रानीतालका टिकाराम परियारले भरतपुरको मण्डिमा काम गरेर परिवार पाल्दै आएपनि अहिले लकडाउनका कारण ती काम सवै गुमेको बताउनुभयो । आफू सहित २७ जनाले रोजगारी गुमाएको र राहत भरमा जीवन नचल्ने भन्दै काम दिन आग्रह गर्नुभयो । दैनिक आम्दानीको कुनै वाटो नभएकाले वडा र नगरबाट संचालन हुने विकास आयोजनामा काम दिलाइदिन माग गर्दै सामाजिक दुरी कायम गरी काम गर्न तयार रहेको बताउनु भएको हो । चैत्र १० गते देखि घरमा नै वस्नुपरेको भन्दै राहत नभई काम दिलाईदिन वडा र नगरपालिकासँग आग्रह गर्नुभयो । राहतले केही दिनलाई मात्रै पुग्ने र फेरि उही अवस्थामा फर्कनु परेकाले आफ्नै पौरखले खान चाहेको भन्दै राहतका नाउँमा आउने सामाग्रीको गुणस्तरीयता भरपर्दो नरहेको पनि गुनासो गर्नुभयो ।

मिस्त्री देखि हरेक काम गर्न तयार रहेको भन्दै रानीतालमा ९० देखि ९२ जना काम विहिन भएको जानकारी दिनुभाये । रानीतालमा ७० घरपरिवार रहेको र राहत भन्दा काम दिलाईदिन माग गर्दैै काम पाएमा राहत पाइएन भन्दै झगडा गर्नुपर्ने अवस्था नआउने र आफ्नै पोरखले खान पाए यो संकटमा आनन्द हुने बताउनुभयो । लाल वहादुर परियारले पनि राहतको रुपमा आउने सामाग्री गुणस्तर नभएको भन्दै मण्डीमा काम गर्दा राम्रै आम्दानी रहेको बताउनुभयो । तर लकडाउनले त्यो काम गुमेपछि अहिले समस्या परेको जानकारी दिनुभयो । काम गर्न पाए राहतमा आएको कुहिको चामल खानु नपर्ने उहाँको भनाई थियो ।

यता वडाअध्यक्ष कृष्ण न्यौपानेले नगरसँग सल्लाह गरेर सामाजिक दुरी कायम गर्ने गरी आयोजना सचालन गर्ने तयारी भइरहेको बताउनुभयो । कामसँगै खाद्यन्न भन्ने कार्यक्रम सुरु गर्न खोजेपनि कृषि क्षेत्रमा काम गर्ने व्यक्ति नपाएको गुनासो गर्नुभयो । तर आफू पनि राहत भन्दा काम नै उपलब्ध गराउने कार्यमा लागेको बताउनुभयो ।

रानीतालका युवाहरुको विषयमा आफू जानकार रहेको र काम उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताउनुभयो । वडा भित्र रहेका सुत्केरी, गर्भवती ,अशक्त र ज्यष्ठ नागरिकलाई मात्रै राहत वितरण गर्ने र युवाहरुलाई भने कामका आधारमा खाद्यन्न वा वडामा संचालन गरिने योजनामा समावेश गर्ने बताउनुभएको छ । यता नगरप्रमुख छत्रराज पौडेलले पनि आफू राहतको समर्थन नरहेको भन्दै उपभोक्ता मार्फत गरिने योजनाहरु संचालन गर्न वडामा निर्देशन दिएको बताउनुभयो । त्यसरी सुरु गरिने आयोजनामा वडाभित्रका मजदुरहरुलाई काम गर्ने अवसर दिन निर्देशन दिएको पौडेलले बताउनुभयो ।

Share.

Leave A Reply