बाख्रापालनमा रमाएको मन, तालिम र अनुदान पाए कर्म गर्ने राममायाको धोको

0


प्रेम क्षेत्री
गैंडाकोट । पुर्वी नवलपरासीको पहाडी क्षेत्र गैंडाकोट १८ आहालेकी ३६ वर्षिया राममाया सुनारी मगरले बाख्रा पाल्न थालेको १२ वर्ष भन्दा बढि भयो । उहाँ गाउँको उदाहरणिय पात्र हुनुहुन्छ । गाउँमा उहाँको खोरमा बाहेक यति ठुलो सङ्ख्यामा अरुको खोरमा बाख्रा छैन । बाख्रा बेचेर आएको पैसाले उहाँले निकै प्रगति गर्नुभयो । उहाँले गरेको प्रगति देखेर गाउँलेहरु पनि छक्क पर्छन । उहाँले भन्नुभयो –“ अहिले पनि गाउँमा सबैको घरमा भन्दा मेरो घरमा बाख्रा धेरै छन् ।”


ग्रामिण क्षेत्रका अधिकांश व्यक्ति कृषि पेशामा आश्रित छन् । कृषि कर्ममा रमाउँदै आएका उनिहरु सम्भावना भन्दा समस्या बढि रहेको बताउँछन् । पर्याप्त तालिमको अभावमा पनि समस्या निम्तिने गरेको छ । यस्तै अनुभव छ, गैंडाकोट १८ आहालेकी राममाया सुनारीको ।
डेढ वर्ष पहिलेसम्म उहाँका श्रीमान बेलबहादुर सुनारी पनि यहि काममा तल्लिन हुनुहुन्थ्यो । तर विस्तारै व्यापार खस्कन थालेपछि श्रीमान पनि विदेश हानिनुभयो । यहिबाट आएको पैसाले उहाँको विदेश यात्रा सहज बनायो । श्रीमानलाई विदेश पठाउँदा ऋण खोज्नुपरेन । तर समस्या धेरै भएपछि यो पेशाबाट पलायन हुन थालेका छन् ।
आम्दानी पनि राम्रै थियो । श्रीमान पनि विदेश र दुई छोरा पढ्न अन्यत्र लागेपछि एक्लै स्याहार सुसारमा समस्या छ । बाख्रा बिरामी पर्न थाले । उपचार गर्ने मेसो पाउनुभएन । कुनैबेला उहाँको खोरमा ९० वटा सम्म बाख्रा थिए । तर अहिले विस्तारै घटेको छ । उहाँले भन्नुभयो –“ पहिले ९० वटा पुगेको थियो । अब काम गर्न गाह्रो हुन थाल्यो । केही मरे । अहिले विस्तारै घटेको छ ।”


वर्षौदेखी बाख्रापालन गर्दै आएपनि उहाँले र्फम दर्ता गर्न सक्नुभएको छैन । यसबारे उहाँलाई मेसो पनि छैन । आफ्नै नाममा पुर्जा नभएपछि पनि समस्या छ । यसबारे तालिम नपाएपछि पनि समस्या भएको उहाँको तर्क छ । उहाँले भन्नुभयो –“धेरै दौडधुप गर्नपर्छ रे ∕ उता नगरपालिका गए यता कस्ले हेर्ने ?”


राममायाले एकैपटक डेढ लाखसम्म हात परेको झलझली सम्झिरहनुभएको छ । उहाँले थप्नुभयो –“स–सना बेचेको त गिन्ती छैन । दशैमा एकैपटक १० वटा सम्म खसी पनि बेचे । डेढ लाख सम्म हात परेको थियो ।” त्यही पैसाले घर खर्च चलेको छ । बचत गरेर राखेको त्यो पैसाले अहिले पनि सहज बनाएको छ । यसले भोलीको गर्जो टर्छ भन्ने विश्वास उहाँको छ । तर सम्भावना भन्दा समस्याको चाङ बढेको उहाँको बुझाई छ ।
बाख्रापालन बारे पर्याप्त तालिम छैन । चरनको समस्या छ । अहिले त घाँस पनि छैन । त्यसमाथी रोगव्याधीले सताएको छ । यसबारे केही तालिम र अनुदान पाए आफै कर्म गर्ने राममायाको धोको छ ।

Share.

Leave A Reply