चितवनकी संक्रमित भनिएकी महिलाको ठेगाना अस्पष्ट, खोजी कार्य चल्दै

0

प्रेम क्षेत्री,
चितवन, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन गढौली १ निवासी २५ वर्षिया महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरेपछि चितवनमा तरंग उत्पन्न भएको छ । गढौली राप्ती नगरपालिकाको वडा नम्बर २ मा पर्छ । त्यस्तै कालिका नगरपालिकाको वडा नम्बर ४ मा समेत गढौली भन्ने स्थान रहेको छ ।
संक्रमित महिला चितवनमा नरहेको जनाईएको छ । ती महिला हाल काठमाडौंमा सम्पर्कमा रहेको उल्लेख गरिएको छ । उनले काठमाडौंमै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएको जनाईएको छ । ती संक्रमित महिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन । यस बारे कन्ट्याक्ट ट्रेसिङ हुनेछ ।
तर उनको ठेगाना राप्ती नगरपालिकाको वडा नम्बर १ र २ को सिमानामा रहेको हुनसक्ने राप्ती नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेस न्यौपानेले जानकारी दिनुभयो । उनको वास्तविक घर कुन स्थानमा हो र उनि चितवनमा आएको हो या होईन भन्ने बारे खोजी भईरहेको उहाँले जानकारी दिनुभयो । उनि कुन स्थानको भन्ने अझै पहिचान हुन सकेको छैन । उहाँले यहाँबाट स्याम्पल समेत नपठाएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै राप्ती नगरपालिकाका नगर उप प्रमुख ईमान सिंह लामाले संक्रमित महिलाको ठेगाना अझै निश्चित नभएको बताउनुभएको छ । यद्यपी गाउँलेका अनुसार राप्ती नगरपालिका वडा नम्बर १ र २ को सिमानामा उनको घर रहेको हुन सक्ने र उनि काठमाडौंमा नै बस्दै आएको हुनसक्ने उहाँले बताउनुभयो ।
राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालले राप्तीमा बसोबास गर्ने कसैमा पनि कोरोना संक्रमण नभएको बताउँदै संक्रमित महिलाको बारेमा जानकारी लिने प्रयास भईरहेको बताउनुभयो । उहाँले काठमाडौंमै परीक्षण गरिएकाले सोही ठाउँमा बसोबास गरेको हुनुसक्ने बताउनुभएको छ ।
संक्रमित महिला कहिलेदेखि काठमाडौंमा बसोबास गर्दै आइरहेकी थिइन भन्ने बारे खोजी भइरहेको छ ।
उता कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले भने आफ्नो नगरपालिकाको नभएको जनाउनुभएको छ । यद्यपी उनको ठेगानाका विषयमा खोजी भईरहेको जनाउँदै उहाँले भारतबाट र कैलालीबाट नगरबासीलाई ल्याउने तयारीमा जुटिरहेको बताउनुभयो । ल्याउन लागिएका नगरबासीलाई कुन स्थानमा कसरी राख्ने भन्ने विषयमा छलफल भईरहेको उहाँले बताउनुभएको छ।
यो सँगै आज नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply