राके जुलुस सहित नेविसंघ र तरुण दल नवलपुरले भन्यो ‘भारतीय विस्तारवाद मुर्दावाद’

0

डोलराज रानाभाट, ३० बैशाख । सुगौली सन्धी सन् १८१६ देखि नै नेपालको भूमि भएको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि भारतले हडपेको भन्दै नेपाल विद्यार्थी संघ नवलपुर र नेपाल तरुण दल नवलपुरले राँके जुलुस सहित विरोध जनाएका छन् । नेपाली भूमिमा आएर सडक निर्माण गरेको भन्दै नेविसंघ नवलपुर र तरुण दलले गैडाकोट नगरपालिका अघिको चौतारी देखि राँके जुलुस निकालेर मिचिएका सवै नेपाली भूमि तत्काल फिर्ता गर्न माग गरेको हो । ।

राँके जुलुस सहित ‘भारतीय विस्तारवाद मुर्दावाद,’ नेपाली भूमि फिर्ता गर’ लगायतका नारा लगाउँदै काँग्रेस चोकमा पुगेर जुलुस सकिएको थियो । सन् २०१५ मा चीन र भारतवीच लिपुलेक हुँदै सडक निर्माण गर्ने सहमति भएको र अहिले सडक नै उद्घाटन गरेको दिनसम्म आउँदा केपी शर्मा ओली नेतृत्वको सरकारले देखिने गरी कदम नचालेको भन्दै कडा विरोध जनाए ।

नेपाली काँग्रेसका तत्कालिन सभापति सुशिल कोइराला प्रधानमन्त्री भएको समय लिपुलेक नेपाली भूमि रहेको भनी अडान लिँदा भारत भ्रमण रोकिएको स्मरण गर्दै वर्तमान सरकारले जनतालाई भ्रम छरेर भूमि फिर्ताका लागि पहल भएको बताउने तर काम केही नगर्ने भन्दै राजीनामा समेत माग गरे ।

नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेलले राष्ट्रको  भूमि बचाउन ज्यान दिन तयार रहेको भन्दै प्रधानमन्त्री ओली कुर्ची जोगाउने खेलमा मात्रै व्यस्त भएको आरोप लगाउनुभयो । आफूहरुको एउटै मात्र माग रहेको भन्दै ओली नेतृत्वको सरकारले तत्काल नेपालको सवै भूमि समेटेर नक्सा सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।  त्यसपछि तत्काल भारतसँग पहल गरेर नेपालको भूमि बचाउन माग गर्नुभयो । साथै प्रहरीले दमन गरेको भन्दै माथिबाट जस्तो आदेश दिएपनि नेपालीको माया हुने सवैले यसमा समर्थन गर्न जरुरी रहेको बताउनुभयो । साथै दमन गर्न खोज्ने प्रहरीहरुलाई सम्वोधन गर्दै उहाँले देशको भूमि गुमेकोमा भित्रि मन रोएको होला,नेपाली आमाको आँशु चुहिँदा छाती पोलेको होला भन्दै देशको लागि लड्दै गर्दा नेविसंघ एक थोपा रगत हुँदा सम्म देशको रक्षार्थ लडिरहने बताउनुभयो ।

सचिव सुशील काफ्लेले लकडाउन हुँदा पनि राष्ट्रियताको सवालमा घरभित्र वस्न नसकी खवरदारीको लागि राँके जुलुसमा आउन वाध्य भएको बताउनुभयो । तरुण दलका जिल्ला सचिव गोपाल सापकोटाले उखान टुक्काले गुमेको जमिन फिर्ता नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासनको विश्वास गर्न नसकिने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नक्सा मात्रै के जमिन नै फिर्ता ल्याउछु भन्नुभयो तर त्यो बोलीमा मात्रै सीमित गर्नुभयो । उखान टुक्कामा हामी वस्ने छैनौँ ।” यदि चाँडै ध्यानाकर्षण सहित गुमेको जमिन फिर्ता नलिए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । कार्यक्रममा नेविसंघका केन्द्रीय नेतादेखि तरुण दलका, जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।

कोरोना भाइरसको संक्रमण वढिरहेको समय गरिएको जुलुसको सुरुमा सामाजिक दुरी कायम गरेपनि भाषण सभामा दुरी कायम गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

Share.

Leave A Reply