गैडाकोट नगरभित्र वडाअध्यक्ष नै सामुदायिक विद्यालयको अध्यक्ष रहने

0

डोलराज रानाभाट, २५ बैशाख, गैडाकोट । गैडाकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा वडाअध्यक्ष नै अध्यक्ष रहने गरी समिति गठन गरिने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले हिजो सूचना जारी गर्दै तत्काल विद्यालयमा अभिभावक भेला बोलाउन सम्भव नभएकाले अर्को व्यवस्था नहुँदा सम्म सम्वन्धित वडाभित्र रहेका विद्यालयमा सोही वडाका वडाअध्यक्ष नै अध्यक्ष पदमा रहने गरी समिति गठन गर्न भनिएको हो ।

त्यस्तै समितिको सदस्यहरुमा विद्यालय व्यवस्थापन समितिको निवर्तनमा अध्यक्ष, सम्वन्धित वडाको वडा समितिबाट छनोट भएका वडा समितिका निर्वाचित महिला वडा सदस्य मध्येबाट वडा समितिले छनोट गरी पठाएको एक जना, विद्यालय रहेका सम्वन्धित वडाको शिक्षाप्रेमी÷चन्दादाता मध्येबाट समितिले मनोनयन गरेको एक जना रहने र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी समितिको गठन गर्न भनिएको हो ।

सम्पूर्ण सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएको र दैनिक तथा दुरगामी महत्वका क्रियाकलाप संञ्चालन गर्न समस्या परेको गुनासो आएपछि यो व्यवस्था गरिएको बताइएको छ । हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अभिभावकहरुको भेला गर्न असम्भव भएकाले प्रत्येक सामुदायिक विद्यालयमा यो व्यवस्था सहित समित गठन गर्ने व्यवस्था गरिएको हो ।

Share.

Leave A Reply