‘नाकामा थप कडा, आन्तरिक खुकुलो गराऔँ’

0

डोलराज रानाभाट, २२ बैशाख । कोरोना भाइरस कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनको अवधि वढाउने, यसको ढाँचा कस्तो हुने आदिवारे केन्द्रमा व्यापक छलफल भइरहदा भारतसँगको सीमा जोडिएका पश्चिम नवलपरासीका स्थानीय सरकार प्रमुखहरुले भने आन्तरिक लकडाउन खुकुलो बनाउँदै सीमामा थप कडाई गर्न सुझाव दिएका छन् ।

सीमा नाका कडाई गर्न आफूहरु दिनरात लागेको बताउँदै आन्तरिक क्षेत्रमा भने कृषि कार्यहरु गर्नुपर्ने समय भएकाले लकडाउन खुलाउन सरकारलाई सुझाव दिएका हुन् । भारतमा कोरोना संक्रमित वढेको र नेपालसँग सीमा रहेका भारतीय राज्यहरुमा समेत संक्रमितहरु रहेकाले सीमामा भने थप कडाई आवश्यक रहेकोमा उहाँहरुको जोड छ ।

भारतसँग सीमा जोडिएको प्रदेश नम्वर पाँच पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आफ्नो गाउँपालिका भारतको विहार र युपीसँग सीमाना जोडिएको कारण भारतबाट आउनेहरु खेतको वाटोबाट छिर्ने र रोक्न कठीन भएको बताउनुभयो । तर पहिले भन्दा आजभोलि त्यसरी प्रवेश गर्नेहरु धेरै कम रहेको भन्दै सुस्ता गाउँपालिकामा कोरोना भाइरस भित्रिन नदिन सशस्त्र र नेपाल प्रहरीको दशगजा क्षेत्रमा वाक्लो उपस्थिती गराइएको बताउनुभयो । हालसम्म गाउँपालिकामा कोही पनि कोरोना संक्रमित नरहेको भन्दै लकडाउनवारे अध्यक्ष पाण्डेले भन्नुभयो,“लकडाउन पुरै खोल्नु उपयुक्त छैन । जवसम्म भारतमा लकडाउन भइरहन्छ यहाँ त्यसको समानान्तर रुपमा लैजानुपर्छ । तर आन्तरिक कामहरु गर्नमिल्ने गरी केही खुकुलो पार्नुपर्छ । गाउँपालिकामा धेरै किसानहरु रहेकाले धान रोप्ने, वीउ राख्ने मौसम भएको भन्दै पुरै खुल्ला पनि नगर्ने र पुरै बन्द पनि नगर्ने गरी सामाजिक दुरी कायम रहने गरी निर्णय गर्नुपर्छ ।”
अध्यक्ष पाण्डेयले सीमामा रहेका जनतालाई अत्यन्त सजग र सचेत गराउँदै युवा क्लव, आमा समूह, जनप्रतिनिधि परिचालन गर्दै निगरानी बढाएको बताउनुभयो । शसस्त्र प्रहरीको गस्तीलाई सजिलो गराउन, रातको समय सर्पले टोक्न सक्ने भन्दै वत्तीको व्यवस्था गरिएको छ । खेतनै सीमा भएकाले कोही प्रवेश गर्छ की भनेर अहिले रातीको समयमा प्रत्येक १०० मिटरको फरकमा विजुलीवत्ती वालिएको हो । जसले सीमाभित्र प्रवेश गर्नेहरु धेरै कम भएको उहाँको भनाई छ । एक दुई जना प्रवेश गरेको पाईएपनि स्थानीयले तुरुन्तै जनप्रतिनिधिलाई खवर गर्ने र क्वारेनटाइनमा राख्न ठूलो भूमिका खेलेको पाण्डेले बताउनुभयो । गाउँपालिकामा ३ किलोमिटरको दुरीमा १० वटा पोष्टबाट सीमामा निगरानी गरिएको र त्यसरी सीमामा रहेको शसस्त्र प्रहरीहरुका लागि पाल देखि पिउने पानीको व्यवस्था गाउँपालिकाबाट गरिएको छ । सुस्तामा सवै राजनीतिक दललार्ई समेटर युथ सूस्ता निर्माण गरिएको र ओषधी छर्कने देखि वत्ति जडान र सीमामा निगरानी राख्न सक्रिय रहेको बताउनुभयो ।


सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले पनि सुरुमै भारतसँग सीमा जोडिएको वडाका नाकामा हेल्प डेस्क राखेर कोरोना विरुद्ध अघि वढेको बताउँदै दुई ठाउँमा क्वारेनटाईन बनाएको बताउनुभयो । प्रत्येक वडाको प्रत्येक टोलमा क्लोरिन, व्लीचिङ पाउडर छरिएको र गाउँमा अहिले सम्म कोरोना संक्रमित नभेटिएको बताउँदै सीमा कडा पार्न उहाँको पनि सुझाव छ । तर गाउँपालिका भित्र भने केही खुकुलो पार्न र कृषकहरुले काम गर्न पाउने बतावरण वनाउने गरी लकडाउनको परिमार्जन गर्न सुझाव दिनुहुन्छ । भारतसँग सीमा जोडिएको ठाउँमा २ सय मिटरको फरकमा पोष्ट सहित निगरानी रहेको भन्दै रातीको लागि टर्च लाईटहरु उपलब्ध गराएको उहाँको भनाई छ । अहिले सुख्खा मौसम भएकाले खेतबाट राती राती प्रवेश गर्नेहरु रहेको भएपनि थाहा पाउनासाथ क्वारेनटाइनमा राखेर थप निगरानी गर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । वाइफाई सहितको सुविधा क्वारेनटाइनमा उपलब्ध गराएको भन्दै जेल जस्तो अनुभव हुन नदिएको बताउनुभयो । आरडिटी परीक्षण जारी रहेको र नेगेटिभ आएपछि घर पठाइएको बताउनुभयो ।


प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले पनि सुरु सुरुमा केही व्यक्ति भारतबाट आएकाहरुलाई तुरुन्त क्वारेनटाइनमा राखेर उपचार गरिएको र चेकजाँचपछि पोजेटिभ कसैलाई नदेखिएकाले घर पठाइएको बताउनुभयो । अहिले वोर्डरमा चुस्तदुरुस्त रहेको भन्दै सीमासँग जोडिएका वस्ती टोलका युवाहरुलाई परिचालन गरिएको र कसैलाई छिर्न नदिएको शर्माले बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो,“प्रतापपुर खुला नाकामा रहेको छ । सीमा नाका खुल्ने वित्तिकै भारतबाट प्रवेश गर्नेहरुबाट जोखिम भइहाल्छ । तर बीचमा अड्कीएकाहरुको उद्धार गर्ने र आन्तरिक केही खुलापन गर्नुपर्छ । तर सीमाना चुस्तदुरुस्त गर्नुपर्छ ।”   ”अहिले धेरै चुनौति हामीलाई छ”, अध्यक्ष शर्माले भन्नुभयो, “जनताले अझै लकडाउनवारे वुझेका छैनन् । अन्य पार्टीले नेपाल वन्द गरेको र साँझ ५ बजेपछि खुलेको जस्तै वुझाई भयो ।” तर अहिले संचारमाध्यम, टोलटोलमा गएर वुझाएपछि धेरै   सुधार आएको छ । कसैलाई भारतबाट आउन नदिएको उहाँको भनाई छ ।


पाल्हीनन्दन गाउँपालिकामा मुस्लिमहरुको वाक्लो वस्ती छ । गाउँपालिका कार्यालय आडमै मस्जिद छ । आज मात्रै मस्जिद मदरसा अनुगमन समितिले पनि निरीक्षण अनुगमन गरेर कोही पनि वाहिरी व्यक्ति लुकेर नवसेको र सामाजिक दुरी कायम गरेको भेटियो भनी जानकारी गराएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले वाहिरबाट आएकाहरुलाई क्वारेनटाइनमा राखेर  आरडिटी गर्ने र आरडिटी पछि पनि पुन ७ दिन होम क्वारेनटाइनमा वस्ने नियम नै बनाएको बताउनु भयो । त्यसको अनुगमन संयन्त्र पनि बनाइएको छ । प्रत्येक वडामा ९/९ जना स्वास्थ्य स्वयमसेवीका खटाइएको श्रीवास्तको भनाई छ । कडा निगरानीका साथ रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकामा हालसम्म कोही पनि संक्रमित नभेटिएको भन्दै सीमामा सुरक्षा निकायसँग १०० मिटरको दुरीमा पोष्ट राखी निगरानी गरेको बताउनुभयो । तरपनि एकाद व्यक्ति प्रवेश गरिरहेको भन्दै अहिले त स्थानीय नै सक्रिय भएको उहाँको भनाई छ । नयाँ व्यक्ति आउनासाथ स्थानीयले नै खवर गरी क्वारेनटाइनमा पुर्याउने गरेको श्रीवास्तवले बताउनुभयो । अझ कडा गर्न आवश्यक रहेको भन्दै आन्तरिक खुला गर्न सुझाव दिनुभयो । मजिस्द मदरसामा कार्यरत शिक्षक देखि सवैको तथ्याङ्क आएको भन्दै सामूहिक रोजा नगर्न र घरमा नै  वस्न आह्वान गरिएको बताउनुभयो ।

गाउँपालिका अघिको मस्जिद

Share.

Leave A Reply