हुप्सेकोट ३ वेलहानीका ३१ वर्षीय रजालीको सफलता, छोराको कर्ममा ८९ वर्षीय वुवाको खुशी

0

डोलराज रानाभाट, ११ बैशाख, हुप्सेकोट । आज लोकतन्त्र दिवस । तर यो दिवस जनताको लागि कागलाई वेल पाक्यो हर्ष न विष्मात भनेजस्तै हुन पुगेको छ । १४ औँ लोकतन्त्र दिवसमा आउँदा जनतामा आशा र उत्साह भन्दा निराशा धेरै छ । तर आज म आशा र भविष्यतर्फ तपाईलाई लैजादै छु यो स्टोरी मार्फत ।

नवलपुरमा रहेको आठ स्थानीय तहमध्ये हुप्सेकोटको माटोमा सुन फल्छ भन्दा जो कसैले विश्वास गर्दैन । यो स्टोरीमा सुन भनेर पहेँलो रङको २२ वा २४ क्यारेटको कुरा नभई सुन भन्दा वढि महत्व भएको कृषिमा पाएको सफलतालाई दर्साउन खोजिएको हो । जसलाई हुप्सेकोट गाउँपालिका ३ वेलहानी चौरङ्गी चोक रजाली टोलका ३१ वर्षीय थमन रजाली मगर ले प्रमाणीत गर्नुभएको छ ।


रजाली यो समय कोरोना संक्रमितको सख्या, यसबाट भएको मृत्यु, विभिन्न शक्ति राष्ट्रवीचको घोचपेच, नेपाल सरकार देखि पार्टीमा देखिएका अनेकन तिकडदम अनि लकडाउनले पारेको असरवारे समाचार लेखिरहेको वा समाचार भनिरहेको अवस्थामा भेटिनुहुन्थ्यो । किनकी आजभन्दा आठ वर्ष पहिला उहाँ मास कम्युनिकेसनमा प्लस टु सकाएर व्याचलर्समा अध्ययन गर्दै चितवनको संचारमाध्यममा काम गर्नुहुन्थ्यो ।
पत्रकारिता अध्ययन गरेको युवा कृषिमा ? एकछिन प्रश्न उब्जन्छ तर रजालीले पाएको सफलताले तपाईलाई थप प्रेरणासँगै हौसल वढाउने छ भने संघर्ष पनि सिकाउनेछ ।

दुइ वटा आमा । आठ जना परिवार । खुशी र सुखी परिवारमा रमाउदै पत्रकारिता अध्ययन र अभ्यासमा मस्त रजाली कहिलेकाही घर जाँदा पनि न त कुटो छुनुभयो  न कोदालो नै । घरको कान्छो छोरा । सवैको मीठो माया । पढाई पत्रकारिता । काम रेडियोमा । धेरैले राम्रो मान्नुहुन्थ्यो भने घरायसी र कृषि कर्ममा कसैले लगाउन पनि चाहेनन् । अध्ययन र कर्मलाइ अघि वढाउन सवैले सहयोग गरिरहनुभयो । तर जव दाईहरु विहेपछि अलग वस्न थाल्नुभयो । अनि वुढ्यौलीले ढाक्दै गएका वुवा आमाको चिन्ता भयो उहाँलाई र घरवाट पनि विहेको दबाद आउन थाल्यो । उमेर पुगेको छोरा तर आम्दानीको भरपर्दो माध्यम केही थिएन । संचारमाध्यमबाट हुने कमाई भनिरहन नपर्ला नै । तर पनि रजाली विहे गर्न राजी हुनुभयो र देवुचली नगरपालिकाको सीजी कम्पनी नजिक नै घर रहेको ठाउँमा केटि हेर्न जानुभयो । केटी मन पर्यो । विहे भयो ।

एक्लो जीवन हुँदा सम्म त ठिकै चलिरहेको थियो तर जव परिवार सँगै वुवा आमालाई पनि हेर्नुपर्ने जिम्मेवारी थपियो तव रजालीलाई संचारमाध्यमको पेशाले भविष्य सुनिश्चित वनाउला भन्ने लागेन । कहाँसम्म भने विहेपछिको पहिलो पटक ससुराली जाँदा साथमा जम्मा ५ रुपैया पकेटमा थियो । यो सुनाउदा उहाँको मन भारी भएर आयो । ससुराली , साथमा ५ रुपैया ! उहाँलाई मास कम्युनिकेसनको अध्ययनले अंगालेको कर्मप्रति यही वेला आत्मग्लानी भयो । ससुराली गएको ज्वाई भई रमाउनुपर्नेमा घण्टौँ आँशु खसालेर फर्कनुपर्र्यो । तर त्यो अवस्था आउँदा पनि ससुराली र श्रीमतीबाट उहाँलाई ठेस लाग्ने बचन कहिल्यै आएन । झन् थप प्रेरणा र अंगाल्नुपर्ने पेशाको सुझाव आउन थाल्यो । त्यसपछि रजालीलाई वल्ला वुवाले जेनतेन गर्दै आउनुभएको कृषि पेशाको याद आयो ।

तर गर्ने कसरी । न कहिल्यै कुटो न कोदालो चलाएको वानी । तर हिम्मत जुटाउनु भयो र सुरु भयो आर्थिक स्रोत जुटाउने काम । पैसा नहुदा आफ्नै ले गर्ने व्यवहार वीचको फरक बारेमा यही वेला थाहा पाउनुभयो । विदेश भनेपछि जानै नरुचाउने । जापान जाने केही योजना पनि थियो तर जानुभएन कारण आर्थिक सहित अन्य थिए । त्यसपछि विहेमा किनिदिएको श्रीमतीको गहना विक्रि गर्नुभयो । अव भने कामले काम सिकायो । केही नजानेर कृषिमा श्रीमतीको गहना विक्रि गरेर विस २०६९ सालमा हामफालेको युवा विस २०७६ को विदाई हुँदासम्म ५० कठ्ठामा विभिन्न प्रकारका तरकारी लहलह फलाउनुभएको छ ।

उहाँलाई अभावले व्यवहारिक वनाइदियो । कोदालो खन्न श्रीमतीले सिकाउनुभयो । जोडले खनेपछि छिटो सकिन्छ भन्ने वुझेका रजाली श्रीमतीले सिकाएपछि हल्का तरिकाले कोदालो खेलाउदा मेलो चाँडै सर्दो रहेछ भन्ने ज्ञान भयो । केही छिनमै थाक्ने रजाली श्रीमतीको आइडियापछि राम्रै मेहनत गर्न सक्ने हुनुभयो । हातमा फोहोरा त कति कति । श्रीमतीको गहना वेचेर आएको १७ हजार र वाँकी ऋण खोजेर कुल ४७ हजारको लगानीमा पहिलो पटक विस २०६९ सालमा १३ कठ्ठामा काँक्रो  खेतीबाट कृषिमा प्रवेश गर्नुभयो । भाग्यले साथ दियो । यही आएर वल्ला रजाली भाग्यमा विश्वास गर्न थाल्नुभयो ।

यति सम्म अन्जान थिए रजाली  की, आएका खेतालालाई कसरी र कुन काम गराउने भन्ने सम्म थाहा थिएन । कति दिन त खाजा खाने पैसा नभएर पेट वाँधेर पानीको भरमा काम गर्नुभयो । विवाहित छोरा वुवाआमासँग पैसा माग्न पनि लाज । आफ्नो कमाई छैन । तर यही काँक्रोले उहाँलाई पहिलो पटक ७ लाख आम्दानी दिलायो । ७ लाखको ‘विटो’ देखेको उहाँले त्यो नै पहिलो थियो । पहिलो पटक देखेको ‘विटो’ ले उहालाई गौरव, घमण्ड, उत्साह र जोश सवै एकैपटक दियो ।

अनि उहाँलाई ज्ञान पनि दियो । पैसा यही कर्ममा रहेछ र अझै धेरै तर निरन्तरता दिनुपर्ने रहेछ भन्ने महत्वपूर्ण ज्ञान दिलायो । त्यही आम्दानीले विहे गर्दा लागेको ऋण तिर्नुभयो । पैसाले जोश दियो । सुरुमा विषादी प्रयोग गरी खेती गर्नुभयो । भेटनरीमा विषादी लिन जाँदा तरकारीमा कती छर्कने त्यसको मात्रा थाहा हुन्न भन्ठानी पसलेहरुले  मागेको भन्दाआधा मात्रै विक्रि गर्नुहुन्थ्यो रे त्यो समय । अहिले उहाँ आफैले विना विषादी कसरी अर्गानिक तरकारी उत्पादन गर्ने भनी प्रशिक्षण दिँदै हिड्नुहुन्छ । भेटेनरी जाँदा खेतीमा आएको समस्या सोधेर हैरानै पार्नुहुन्थ्यो रे उहाँले । रजाली पसल जान वाटोमै देखिपछि यसले फेरि के सोध्ने हो भनी भेटनरीका पसलेहरु वाहिर हिड्ने गर्नुहुन्थ्यो रे । अहिले भने रजालीले उहाँलाई धन्यवाद दिनुहुन्छ र भन्नुहुन्छ,” त्यसरी सोधेको थिएँ उहाँहरुले समाधान गर्नुभयो र अहिले यो ठाउँमा छु ।”  त्यति मात्रै होइन उहाँलाई सरकारी कर्मचारीले पनि नमिठो बचन लगाए । सुरुवाती चरण, भर्खरको युवा सायद कृषिमा रमाउछ भन्ने विश्वास नभएर होला सरकारी कर्मचारीले पनि उहाँलाई भुल्नै नसक्ने व्यवहार गरे ।

नवलपरासीमा कृषि कार्यालय हुँदाको समय हो । थमन त्यहाँ पुग्नुभयो । किसानका लागि कृषिका कार्यक्रम के के छन् सर भनी प्रश्न गर्दा उहाँलाई ढोकाबाट फर्काइयो । तपाई अल्लारे मान्छेले कहाँ कृषि काम गर्नुहुन्छ ? हावा कुरा नगर्नुहोस जानुस भनेपछि देउरालीदेखि मनभित्रै पाकिरहेको सपना त्यही पोखियो । परासी जादाको त्यो पीडा अझै भुल्न सक्नुभएको  छैन उहाँले । त्यो वेला युवा स्वरोजगार कार्यक्रम थियो र देउराली गाविसबाट ४ जनाले फर्म भर्नुभएको थियो । खेती गर्न ६० हजार अनुदान पाउन सकिने कार्यक्रम रहेकाले उहाँमा छुट्टै विश्वास र आशा  थियो । तर नतिजा आउँदा त २ जना व्यवसाय नगर्नेले पो पाए तर उहाँले पाउनुभएन । अनी उहाँ त्यसैमा रोकिनु भएन र सोध्नुभयो की व्यवसाय नगर्ने ले कसरी पायो ! हामी दु:ख गर्ने चाहिँ कसरी अयोग्य त ? त्यसपछि तत्कालित योजना अधिकृतले दिएको गालीमा प्रयोग भएका शब्द उहाँले उच्चारण गर्न नसक्ने थिए । अल्लारे कहाँ कृषि गर्छन विदेश जानुपर्छ सम्म भने । त्यसपछि त्यहाँको ढोकाबाट फर्किएर आउनुभयो । त्यो पनि उहाँलाई अर्को प्रेरणा वन्यो र मनमनै ढोकाबाट फर्कदै गर्दा उहाँले संकल्प गनुृभयो कि “२०८० सम्ममा म तपाई सँग आउने होइन की तपाईले मेरो वारे अरुलाई सफल कृषकको उदाहरण पेश गर्नुहुनेछ ।”

बजारमा काँक्रो लैजाने तीन पटकको पालोमा उहाँको वुधवार पर्दथ्यो । उहाँले लैजादा अन्य दिनभन्दा वढि मुल्यमा विक्रि हुन्थ्यो । त्यसैले उहाँ भाग्यलाई जोड दिनुहुन्छ । अरुको पालो परेको दिन रेट खस्कदै आउथ्यो भने उहाँको पालोमा वढ्ने गर्दथ्यो । भाग्यसँगै यहाँ उहालाई औपचारिक शिक्षाले पनि सहयोग गर्यो । किनकी उहाँले त्यहाँका व्यापारीलाई फोन गरी कुन समय ल्याउँदा भाउ धेरै पाइन्छ भनी परामर्श गर्नुहुन्थ्यो । बजार चितवनै हुन्थ्यो । यसरी पहिलो पटकको मेहनतले सुनको वदला सुन नै लिन सफल रजाली विहेको ऋण मात्रै होइन श्रीमतीलाई गहन पनि जोड्न सक्नुभयो । लाखौँ आम्दानी पछि १३ कठ्ठामा मात्रै सीमित गर्न मन मानेन उहाँमा । आम्दानीले दिएको उर्जालाई आधुनिक विधिहरु सिक्न खर्चनुभयो र तरकारीका प्रकारहरु वढाउनुभयो । अहिले भक्तपुरे काँग्रो उहाँको मुख्य खेती हो । त्यसपछि टमाटर,करेला र बोडी नै उहाँलाई सुन दिने तरकारी हो ।

अहिले टमाटरको उत्पादन सकिएको छ भने अव करेला र वोडि तयार हुदै छ । व्यापारीहरु घरमानै गाडि लगेर उत्पादीत वस्तुको खरिद गर्दछन् भने कोहीलाई उही पुर्याइदिनुपर्ने हुन्छ । उहाँको सवैलाई सन्देश यो छ की बजारमा के विक्रि भइरहेको छ त्यसको अध्ययन गरेर त्यसको उत्पादन कम लागतमा कसरी गर्न सकिन्छ त्यसको अध्ययन गर्ने । अध्ययनमा यो प्राथमिकतामा राख्ने की बजारमा विक्रि हुने वस्तु तपाईसँग भएको माटोमा फल्छ की फल्दैन अनि वल्ला खेती गर्न सुरु गर्ने । यति तीन तरिका अर्थात् बजारमा के विक्रि भाछ ? विक्रि भएको वस्तु उपलब्ध मोटोमा हुन्छ की हुदैन ? त्यो लगाउने परीश्रम आफूसँग छ की छैन ? यति गर्न सके अपर्झटको विपती वाहेक कृषिमा कहिल्यै घाटा व्यहोर्न नपर्ने उहाँको भोगाइले बताउँछ । यही तरिकाबाट उहाँले कृषिबाट पैसा फलाइ रहनु भएको हो । उहाँ भन्नुहुन्छ, “डिमाण्ड हाइ हुँदा रेट हाइ हुन्छ , त्यही भएर डिमाण्ड कम हुँदा रेट कम हुन्छ र सोही समय खेती गर्न देखि पशुपालन गर्नमा अग्रसर हुनुपर्छ अनि वल्ला नाफा हुन्छ ।”

तर नेपालमा जव डिमाण्ड हाइ हुन्छ त्यहि समय खरिद गरी व्यवसाय सुरु गर्छौँ जवकी त्यसको उत्पादन विक्रि हुने समयसम्म मूल्यले अर्कै बाटो लिइसकेको हुन्छ । अनि घाटा लाग्छ र निराश वनाउछ । उहाँलाइ मास कम्युनिकेशनको औपचारिक ज्ञानले अहिले बजार सिकाएको छ । अर्थशास्त्र सिकाएकोछ । जेटिए सिकाएको छ । भेटनरी सिकाएको छ । अहिले उहाँ नै अलराउण्डर हुनुहुन्छ यद्यपी विज्ञसँग छलफल लिने र परामर्श गर्ने त उहाँको दैनिकी नै हो । अहिले आफैले कावासोतीमा पसल संचालन गरी कृषिका आधुनिक उपकरणको बजारीकरण देखि त्यसको प्रयोगमा निशुल्क तालिम दिने गर्नुहुन्छ । अहिले सवैजना फेसवुकमा आएका भिडियो र स्टाटस हेर्न कमेन्ट गर्न व्यस्त हुँदा उहाँ भने कृषि सँग सम्वन्धित विशेषज्ञहरुलाई समेटर तयार पारेको मेसेन्जर ग्रुपमा भएका समस्या र कृषिका आगामी सम्भावनाका विषयमा छलफल गर्नुहुन्छ । त्यतिमात्रै होइन कृषि विज्ञानका विद्यार्थीहरुसँग पनि मेसेन्जर ग्रुपमै छलफल हुन्छ । समस्या ग्रस्तको फोटो खिचेर पठाउने र त्यसको परामर्श सहित समस्या समाधान गर्ने मुख्य आधार नै फेसवुकको मेसेन्जर भएको छ । अहिले लकडाउनमा पनि उहाँ यसैमा व्यस्त हुँदै ५० कठ्ठाको खेतीको रेखदेखमा दिनहरु कटिरहेको छ । अव उहाँलाई चिन्ता बजारको छ । कतै उत्पादन लिने समय भएका करेला र वोडिले बजार त पाउदैन ? तर उहाँ आत्मविश्वासका साथ हुनुहुन्छ र भन्नुहुन्छ अहिले जनप्रतिनिधिले पनि वुझ्न थाल्नुभएको छ की रोड वनाएर विकास होइन की व्यवसायिक कृषिमा जनतालाई लगाएर विकास हुने रहेछ । जसको उदाहरण रजाली वन्नुभएको छ । अहिलेको यो सफलता परासीमा त्यतिवेला लिएको संकल्प पनि अर्को कारक हो ।

आफ्नो छिमेक, टोल, गाउँ, स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रसम्मैका कृषि विज्ञहरुले सरकारी कार्यक्रम हुँदा होस वा कोही कृषि सम्वन्धी जान्न र व्यवहारिक जान्न खोज्छ रजालीको कृषि व्यवसायलाई रेफर गर्ने गर्नुहुन्छ । परिवार पनि खुशी सहित यही पेशामा रमाएको रजाली परिवारले अन्य धेरैलाई व्यवसायिक कृषक बनाउदै हुप्सेकोटमा आम्दानी भित्राइरहेको छ ।
जो आउँछ उसलाई आफूले गरेको सफलता राम्रोसँग वुझाउने र आफ्नो फर्म घुमाउने गर्नुहुन्छ । त्यसो गर्नुमा पनि उहाँको एउटा घटना जोडिएको छ । कृषिमा प्रविधिको प्रयोग वढाउन जोड दिँदै लागत घटाउनुपर्छ भन्ने मुल मन्त्र रजालीको हो । यही कारण वाँसको थाक्रो भन्दा अन्य विकल्प खोज्न उहाँ भौतारिनुभयो । तर उहाँलाई यसवारे जानकारी दिने को ही भएनन् । थाक्रो हाल्ने प्रविधि सिक्न गएको ठाउँ चितवन थियो जो नजिकको चिनजानकै साथी हुनुहुन्थ्यो तर सवै साथी सहयोगी नहुने भने जस्तै उहाँलाई पनि त्यो साथीले सहयोग गर्नुभएन । थाक्रोको उचाई कति हाइट रहेछ भन्ने नाप सम्म लिन फिता लिएर वारीमा पस्दा साथीले नाप्नै दिनुभएन । एकदम मिल्ने साथी तर सिक्नै नदिएपछि टाढै बाट आफ्नो हाइट सँग तुलना गर्नुभयो र फर्कनुभयो । त्यसपछि उहाँले फलामको थाक्रा बनाउनुभयो । नमस्ते आकार हटाउनुभयो र वाँस पनि । त्यपछि फलामको थाक्रा बनाएर अहिले झिक्रोको काम त्यसैले गरेको छ जुन दिर्घकालिन छ र खर्च पनि कम । वर्षेनी वाँस काटेर झिक्रो बनाउनुपर्ने वाध्यता उहाँलाई छैन । प्रदेश सरकारको ६ लाख र आफ्नो १० लाखको लगानीमा उहाँले फलामको थाक्रा हाल्नुभयो ।

यही घटनाका कारण उहाँले जो कोहीलाई सिकाउने र कृषिमा लाग्न प्रेरणा गर्नुहुन्छ । ६५ देखि ६६ जिल्लाका किसानहरु भ्रमण गर्न आइरहनुहुन्छ । आफूले प्रयोग गरेका कृषि प्रविधिको सफल प्रयोग भएपछि उहाँले नयाँ प्रविधि विक्रि वितरण गर्ने गरीे कावासोतीमा थमन एग्री सोलुसन खोल्नुभएको छ । थमन अर्गानीक एग्री फर्म नाम दिएर सफलता प्राप्त गर्नुभएको उहाँले अहिले ५० कठ्ठामा तरकारी जन्य वस्तुहरु लगाइरहनुभएको छ । उहाँको योजना यतिमै सीमित छैन । एउटा कृषि क्रान्तिकै उदाहरण दिने गरी योजना बनाउनुभएको छ । अव इस्पेसल गेष्ट आउँदा वसेर अवलोकन गर्न मिल्ने छुट्टै स्थान, विएससी अध्ययन गर्ने विद्यार्थीलाई अलग्गै अध्ययन गर्न मिल्ने व्यवस्था गर्ने उहाँको योजना छ तर अहिले लकडाउनले यसलाई असर गर्यो । त्यसरी ठाउँ तोकेपछि फार्मको काममा पनि डिस्टर्व नहुने र घुम्न वुझ्न आउनेलाई पनि सहजै वुझाउन सकिने उहाँको विश्वास छ । लकडाउन पछि यसले पूर्णता पाउने उहाँको भनाई छ । थोपा सिँचाइबाट कृषि गर्दै आउनुभएको उहाँले छिट्टै वोरिङबाट सिँचाई गर्दै हुनुहुन्छ । उहाँको मेहनतको भकारी हेरेपछि कृषिका क्षत्रीय निर्देशकले गाडी अवाश्यक रहेछ भन्सार छुट हुन्छ अनुदान पनि भन्दा उहाँले मलाई पानी दिएहुन्छ अरु चाहिँदैन भन्नुभयो । अहिले सम्म सवै थोपा सिँचाई हो । बोरिङ्गको सवै तयारी पुरा भयो लकडाउनले पानी संचालन गर्न कठिनाई भएको छ । माघ फागनु सम्म कुलाबाटै पानी प्रसस्त पाईने भएपनि जेठ सम्म कठिन हुने कारण वोरिङ्गको माग गर्नुभयो । निर्माण सम्पन्न भएको छ संचालन हुन वाँकी छ । वोरिङ्ग उहाँ आफैलाई मात्रै होइन उहाँ नजिक अन्य १० वढि घरपरिवारलाई सँगै कृषिमा आवद्ध गराउदै हुनुहुन्छ । अहिले उहाँले सरकारी अधिकारीहरुलाई समेत विश्वास दिलाउन सक्नुभएको छ । त्यसैले सरकारी कर्मचारी भन्नुहुन्छ रे, “तपाई दिएपछि कुनै पनि कार्यक्रम फेल हुँदैन ।”

आफ्नो संघर्ष सुनाइरहदा उहाँले आमालाई सम्झनुभयो । विस २०७५ मा आमा वित्नुभयो । तर पनि उहाँ यस पेसाबाट विचलित हुनुभएन । कुनै वर्ष दुई रुपैया किलो समम काक्रो बेच्नु पर्यो तर पनि आत्तिनु भएन । अहिले वार्षिक २० लाख सम्म आम्दानी गरेको अनुभव छ उहाँमा । तर साधारण तय १० देखि १२ लाख कहि जादैन । ५ लाख जति खर्च हुन्छ अरु नाफा हो । ज्यामीमा हो खर्च । यसको कटौती मेशीनबाट गरे खर्च कम हुन्छ । तरकारी जन्य चिजमा अरु खर्च छैन । नेपालमा एउटै मात्र पेशा छ जहाँ कम भन्दा कम लगानीमा धेरै प्रतिशतमा नाफा गरे राज्यले सम्मान गर्छ तर अन्य व्यापार व्यवसायमा त्यसरी नाफा गरे कर तिर्नुपर्छ तर कृषिमा त्यो छैन यही नै राज्यको सवैभन्दा ठूलो सहयोग हो उहाँ भन्नुहुन्छ ।

त्यसो त यो पेशामा चुनौति नभएको होइन । उसो भए के हो त चुनौति ?

नेपाली बजारमा प्रत्यक्ष असर गर्ने भारतीय उत्पादन ले हो । भारतमा कृषिलाई अध्याधिक सहुलियत छ सरकारबाट । त्यसले उतपादन लागत घट्छ र धेरै उत्पादन सहित मूल्य पनि कम हुन्छ जसले नेपाली वजारमा वढि प्राथमिकता पाउँछन् किनकी नेपालमा सस्तो र विषादी प्रयोग भएपछि देखिने राम्रो तरकारी खोज्ने वानी छ । तर त्यसमा विषादी के छ वुझ्ने उपभोक्ता कमै छन् । तर नेपालमा अझै पनि लागत केही वढि नै हुन्छ त्यसले मूल्य केही वढि हुन्छ र मूल्य धेरै पर्न जान्छ तर उपभोक्ताले अझै के वुझनुभाछैन भने भारतबाट आउने उत्पादनमा रासायनिक अत्यधिक हुन्छ जसले धेरै उत्पादन दिन्छ र मूल्य सस्तो हुन्छ तर नेपालमा अरु धेरै मलाई थहा भएन मेरो उत्पादन विल्कुल अर्गानीक हो । तर अहिले त नेपालले पनि किसानलाई लगानी वढाएको छ । प्रविधि भयो । जनचेतनामा पनि कमी छ । जो व्यक्तिले ठूला ठूला सभा समारोहमा विष हालेको तरकारी खानु हुन्न विदेशबाट आएको उत्पादन घटाउनु पर्छ भन्ने गर्छन् उनीहरु नै सस्तो मूल्यमा तरकारी खोज्दै हिँड्छन् यही नै मुख्य समस्या हो नेपालमा ।

विषादी वढि प्रयोग भएको तरकारी हेर्दा पनि राम्रो देखिन्छ । अर्गानीक महगो होइन तर अगार्ननिक उत्पादन वढाउन सरकारले कम विषादीमै राम्रो उत्पादन दिने वीउको वितरण र अध्ययन अनुसन्धान गर्न आवश्यक छ । प्रत्येक सात वटा प्रदेशमा कृषि मेशीनहरु खरिद गरिरहेका छन् ती सवै वाहिर बाट आयात हुछ खोइत त नेपालमै त्यसको उद्योग । चीन भारतबाट ल्याइरहेका छन् । यदि यही हालत रह्यो भने नेपाल कृषि सामाग्रीको डम्पिङ साइड वन्छ । यसतर्फ सरकार सचेत हुन जरुरी छ ।

रजालीले आफूसँग सोध्न आउने लाइ मात्रै होइन गाउँमा कोही युवा यत्तिकै वसेको छ भने वोलाएर आफूले गरेको कृषि वारे बताउनुहुन्छ भने व्यवसायीक खेती गर्न सल्लाहसँगै सहयोग गर्नुहुन्छ । अहिले उहाँसंग सम्पर्कमा आएका धेरै युवाहरु व्यवसायीक कृषिमा व्यस्त देखिन्छन् भने विदेशबाट फर्कनेलाई पनि कृषिमा लाग्न सुझाउनुहुन्छ ।


उहाँको ८९ वर्षीय वुवा फर्मभित्रै उत्पादीत वस्तुसँग रमाउनुहुन्छ भने श्रीमतीले पूर्ण साथ दिनुहुन्छ । जताततै भौतिक दूरी कायम राख्न भनिएको छ । तर ८९ वर्षीय रजालीलाई भने न यसको अर्थ वुझ्न जरुरी छ न यसलाई पछ्याउन । किनकी उहाँको फर्ममा न कुनै कोरोना संक्रमित करेला छन् न कुनै वोडि । ८९ वर्षीय वुवा पाल्पाबाट हुप्सेकोट झर्नुभएको हो । राजनीतिमा चासो राख्ने उहाँकै पहलमा त्यहाँ वस्ति वसेको थियो । व्यवसायीक खेती नगरेपनि उहाँले पहिल्यैबाट तरकारी उत्पादन गर्दै आउनुभएको बताउनुभयो । अहिले छोराले गरेको व्यवसायी खेती सँगै छोराले देशभर पाएको माया र सफलताले खुशी दिएको बताउनुभयो ।

८ वर्षको अनुभवी रजालीले आफ्नो सफलताको अनुभव साट्न सुरु गर्नुभएको धेरै भाछैन । जवको उहाँको परिश्रमलाई राज्यले सम्मान गर्यो अर्थात् पटक पटक राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानीत भएपछि उहाँ खुलेरै समाजमा देशमा चिनीनुभयो । पहिला गरेर देखाउने अनि वल्ला सिकाउने उहाँको अर्को मन्त्र हो । पहिला आफूले गरेर भोगेपछि वल्ला अरुलाइ सिकाउन सकिन्छ भन्ने उहाँको सिद्धान्त नै हो यो । वावाले बचाइदिनु भएको जमिन थियो र अहिले यो माटोमा सुन फलाउन पाछु उहाँले भन्नुभयो ,“ एग्री मात्रै सिकेर हुन्न कल्चर पनि सिक्नुपर्छ । ”


अहिले एक विघामा चाइनिज ३२४ र अर्को थाइल्याण्डको च्योताई कम्पनी बाट ल्याएको चन्द्रसुना ४१ वोडि छ भने अन्यमा खुर्सानी, करेला, काँक्रो छ । कार्तिक २३ बाट लगाउन सुरु गर्नुभएको टमाटर चैत्रको अन्तिम सम्म विक्रि गरेर सकाउनुभयो । ५ कठ्ठामा भएको टमाटरबाट २५ देखि ३० सम्मको रेटका दरले १ लाख ७० हजार कमाई गर्नुभयो । अव करेला र वोडी विक्रि गर्ने समय सुरु हुन लागेको छ । तर पानी समयमै नपुग्दा फल वढ्न ढिला भएको छ भने लकडाउनले असर गर्ने होकी भन्ने चिन्ता पनि छ । आठौँ वर्षमा आइपुग्दा हालसम्म गाउँका २० देखि २५ जना युवालाई कृषिका विभिन्न विधामा व्यस्त गराउन सफल उहाँले किरा मार्न विषादी नभई एल्लो स्टीक राख्नुहुन्छ भने कान्छी किरालाई ट्यापमा पारेर अर्गानिकमा जोड दिनुहुन्छ । सवै कुरा समयमा पुगे माघको पहिलो हप्ता लगाउनुभएको करेला भदौ सम्म टिप्न फल लिइरहन सकिने उहाँले बताउनुभयो । ८० देखि ८५ दिनमा हार्भेस्ट सुरु हुने गर्दछ ।

लकडाउनले उहाँलाई अहिलेसम्म प्रत्यक्ष असर नगरेपनि अव फेरि पनि लम्वियो भने समस्या पर्ने बताउनुहुन्छ । कृषकको लागि निश्चित नियम बनाएर काम गर्न पाउने वातावरण वनाउन उहाँको सुझाव छ । अन्यथा भोकमरीको अवस्था नआउला भन्न सकिन्न । कृषी उत्पादनलाई बजारी करणको मात्रै व्यवस्था स्थानीय देखि सवै तहक सरकारले गरिदिए देशलाई आत्मनिर्भर गराउन सक्ने गरी काम गर्न नेपालका किसान तयार छन् । तर समयमै मल वीउ सिँचाई तालिम र बजारीकरणको प्रवन्ध सरकारले गरिदिनुपर्छ । अहिले पनि गण्डकी प्रदेशलाई पुग्ने तरकारी हुप्सेकोटमा जाने उहाँको दावी छ । अहिले नीति निर्माण तहमा वस्नेले पनि खानाको लागि त तरकारी चाहिँदो रहेछ भन्ने वुझ्नुभएको भन्दै रजालीले सरकारले राम्रो लय समातेको बताउनुहुन्छ ।

सडक बनाएर विकास भयो भन्ने जनप्रतिनिधि अहिले भने कृषिको विकार समृद्धितर्फ पनि सोच्न सुरु गरेको भन्दै आफ्नै माटोमा कर्म गर्न जोड दिनुहुन्छ र भन्नुहुन्छ, २०६९ सालमा काँक्रो बेच्न चितवन जाँदा एउटा आमाले भन्नुभएको थियो, “ वावु मान्छेले पैसा कमाउन कि ढाँट्न सक्नुपर्छ कि आँट्न सक्नुपर्छ । ढाँट्न सकिन मैले चाहिँ आँटे । म पूर्ण सफल त होइन अझै धेरै गर्नुछ । तर खुशी धेरै छु । ”

Share.

Leave A Reply