मिलीजुली समूहको नाम जस्तै काम, दैनिकी सहज बनाउने प्रयास

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको पहाडी क्षेत्र गैंडाकोट १८ हुर्जिल मगर समुदायको मात्रै बसोबास रहेको गाउँ हो । साविक रतनपुर ९ को पुरानो हुर्जिलमा अहिले २० घर रहेका छन् । यहाँका युवाहरुको सक्रियतामा २०६३ सालमा स्थापना गरिएको श्री मिलीजुली सामुदायिक युवा क्लब (समूह) ले असहज दैनिकीलाई सहज बनाउने काम गरिरहेको छ । २०७२ साल चैत्र २ गते समूह दर्ता गरेसँगै समूहले गाउँमा सार्वजनिक शौचालय निर्माण गरेको छ । उनिहरु आफैंले निर्माण गरेको समूहको आफ्नै भवन रहेको छ । गाउँमा मर्दा पर्दा समूहले सबैलाई जुटाउने गरेको छ ।


गाउँका लागि आवश्यक नौमती बाजा, साउण्ड सिस्टम, विवाह व्रतबन्ध पूजाआजाका लागि आवश्यक भाँडाकुडा र टेन्ट समेत उपलब्ध गराउने गरेको समूहका कार्यबाहक अध्यक्ष बालकृष्ण खम्जाले बताउनुभयो । खम्जाका अनुसार समूहका केही युवाहरु वैदेशिक रोजगारीमा गएपछि उनिहरुले त्यहाँबाट गरेको सहयोग समेत मिलाई गाउँमा नमूना कार्यको थालनी भएको हो ।
युवाहरु एकजुट भएर तालिम लिएपछि बाजा बजाउने र आयआर्जनको बाटो रोजेका हुन् । नौमती बाजा, साउण्ड सिस्टम, भाँडाकुडा र टेन्टले केही भएपनि आम्दानी दिन्छ । एक दिन बाजा बजाए वापत उनिहरुले १५ देखी २० हजार सम्म लिने गरेका छन् । तर गाउँमा नै समूहका सदस्यहरुका लागि आवश्यक परेमा मात्र १ हजार रुपैयाँ लिन्छन् ।


समूहमा उनिहरुले बचत समेत गर्ने गरेका छन् । शुरुवाती अवस्थामा १० रुपैयाँ उठाएर बचत गर्दै समूह सञ्चालन गर्दै आएका युवाहरुले त्यसलाई बढाउँदै लगे । अहिले १०० रुपैयाँ देखी २० हजारसम्म बचत गर्ने गरेका छन् । पुर्व सचिव समेत रहेका क्लबका सदस्य चन्द्रबहादुर सिंजालीले सोही पैसा समूहका व्यक्तिलाई सहुलियत ब्याजदरमा लगानी गर्ने गरेको बताउनुहुन्छ ।


गाउँका अन्य गरि ९० जना यो समूहमा आवद्ध छन् । समूहमा करिब ५ लाख भन्दा वढि संकलन भएको छ । गाउँमा समस्या परे यहि पैसाले गर्जो टर्ने गरेको छ । विदेश जाँदा होस् या सानो तिनो लगानी गर्न किन नहोस् आयआर्जनका लागि लगानी यहि समूहले जुटाउने गरेको छ । टाढाको विद्यालय उनिहरुले खासै अध्ययन गरेनन् । तर गाउँको उन्नतीका लागि एकजुट भएका छन् ।
गाउँका विदेशिएका युवाहरुले पनि अनिवार्य रुपमा बचत गर्ने गरेका छन् । हरेक महिनाको पहिलो हप्ताको शनिबार समूहको बैठक बसी लगानी गर्ने र गाउँका समस्याका विषयमा छलफल गर्ने गरेका छन् । गाउँमा यस कार्यले आत्मियता समेत प्रदान गर्ने गरेको छ । उठेको रकम थोरै ब्याजमा लगानी हुने गरेको छ । समूह स्थापना भएपछि पहिले भन्दा निकै सहज भएको क्लबका सदस्य दलबहादुर चुन्नीको ठम्याई छ ।


एक महिनामा ६० देखी ६५ हजार लगानी हुने गरेको छ । यसले मात्रै विकास सम्भव छैन भन्ने उनिहरुको भनाई छ । गाउँमा विकासका पूर्वाधार छैन । बिजुली, सिंचाईको अभावमा गाउँको बसाई सहज छैन । भौगोलिक विकटताका कारण असहज भएको उनिहरुको बुझाई छ । वडा नगर तथा अन्य निकायको ध्यान पुग्न नसकेका कारण पछि परेको उनिहरुको तर्क छ । गाउँको विकासमा सक्रिय युवाहरु यस कार्यमा सहयोग जुटे अझै सजिलो हुने बताएका छन् ।

Share.

Leave A Reply