लकडाउनमा पनि बुटवल नारायणगढ सडकको काम गर्ने तयारी, ठेकेदार पक्ष सहमत

0

डोलराज रानाभाट, गैडाकोट, २ बैशाख । चीनको वुहान सहरमा कोरोना भाइरस देखिएसँगै नारायणगढ वुटवल सडक खण्ड विस्तारमा असर परेको थियो । आयोजना प्रमुख सुजन अधिकारीका अनुसार ठेगेदार कामदार देखि प्राविधिक समेत चीन देशको भएका कारण त्यतिवेला देखि असर परेपनि विस्तार कार्य भने जारी नै थियो ।

तर चैत्र ११ देखि कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण भने अहिले काम ठप्प रहेको छ । यही वीचमा आयोजनाको कामलाई निरन्तरता दिने गरी छलफल अघि वढेको आयोजना प्रमुख अधिकारीको भनाई छ ।

अहिलेको अवस्थाले तोकिएको मितिमा सडक विस्तारको कार्य सकिनेमा शंका उत्पन्न भएको तर पनि विस्तारमा पुल क्रिटीकल पक्ष मानीने भएकाले त्यसको कार्य गर्न सके विस्तार अवधि धेरै नलम्विने उहाँको भनाई छ । २०७५ पुस ४ गते ठेक्का सम्झौता भएको सडक विस्तारको काम २०८० साउन २२ गतेसम्ममा सक्ने लक्ष्य छ ।


अहिले पुल निर्माणको कार्यलाई अघि वढाउन सकिने सम्भावना रहेको र त्यही अनुसार आफूले योजना वनाई छलफल गरेको अधिकारीले बताउनुभयो । ठेकेदार पक्षसँग छलफल सम्पन्न भएको र काम अघि वढाउन सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर क्षेत्रमा पर्ने ९ ठूला पुलमध्ये ३ वटाको काम तत्कालै अघि बढाइने उहाँको भनाई छ । त्यसका लागि कामदार, प्राविधिक तथा सामग्री जुटाउन थालिएको र ठेकेदार पक्ष सहमत देखिएपनि निर्माण सामाग्री र कामदारको विषयमा थप छलफल भइरहेको बताउनुभयो ।

यदि निर्माण सामाग्री र कामदार ले माने कावासोती पूर्व र पश्चिममा एक÷एक वटा र लोकाहा खोलामा पुल निर्माण सुरु गर्ने उहाँको भनाई छ । सडकको पश्चिम खण्ड दाउन्नेदेखि बुटवलको राजमार्ग चौराहासम्मको ४८.५ किलोमिटर खण्डको काम पनि ठप्प रहेको छ ।

गैडाकोट देखि बुटवलसम्मको एक सय १३ किलोमिटर सडक फराकिलो बनाउन २०७५ पुसमा ठेक्का सम्झौता भएर चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यायस गर्नुभएको थियो । सडक विस्तार गर्न एसियाली विकास बैंकले १६ अर्ब ९९ करोड ५२ लाख ऋण सहयोग गरेको छ । दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply