नवलपुरमा ४९२ र्यापिड कीट प्राप्त, कोरोना परीक्षणको लागि आजै स्थानीय तहहरुमा पठाउने काम जारी

0

डोलराज रानाभाट, २९ चैत्र । विदेशबाट आउने व्यक्तिहरुमा कोरोना भाइरस भए नभएको परीक्षण गर्न प्रयोग गरिने र्यापिट डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट नवलपुरमा आइपुगेको छ ।

प्रदेश सरकारले हिजो पठाएका कीटहरु जिल्लामा आएको र अहिले सवै स्थानीय तहहरुमा पठाउने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले बताउनुभयो । अहिले १४ दिन पुरा भई २१ दिन भन्दा वढि नपुगेका जो विदेशबाट आएका छन् उनीहरुमा यो कीट बाट परीक्षण गर्ने चापागाईले बताउनुभयो ।

८ वटा स्थानीय तह रहेको जिल्लामा कुल ४९२ वटा कीट आएको छ । अहिले

देवचुली, कावासोती,मध्यविन्दु र हुप्सेकोटलाई ६० वटाका दरले कीट पठाइएको छ भने गैडाकोट, विनयी त्रिवेणी, बुलिङटार र वौदीकालिमा ४० वटाको दरले उक्त कीट पठाइएको प्रमुख चापागाईले जानकारी दिनुभयो ।

नपुग भए पुन जिल्लामा रहने स्टकलाई वितरण गर्ने गरी व्यवस्थापन मिलाइएको छ । धेरै चैत्र ६, ७ गते तिर विदेशबाट आएकाहरु रहेको र यसले ४०० देखि ४५० सम्मको परीक्षण गर्नुपर्ने देखिएको चापागाईको भनाई छ । विदेशबाट आएकाहरुको औँलामा कोपेर रगत निकालिने र किटमा राख्ने, कीटमा रोखको १५ मिनेटमा रिजल्ट आउने चापागाईले बताउनुभयो ।

यसबाट कोरोना भाइरस रहे नरहेको कन्फर्म नभएपनि कोरोनाको शंकाष्पद व्यक्ति हो की होइन भन्ने एकीन गर्न सकिने र यदी त्यो एकीन भए तत्काल उनीहरुको घाँटी बाट स्वाब लिएर परीक्षणका लागि कोरोना विशेष अस्थायी अस्पताल पठाउने गरी व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

चापागाईले भन्नुभयो,“कोही विदेशबाट आएको हुनुहुन्छ र १४ दिन पुरा भई २१ दिन भित्रको हुनुहुन्छ भने उहाँलाई नजिकको स्वास्थ्य चौकीमा सम्पर्क राखी कीटबाट आफूलाई जचाएर ढुक्क रहन आग्रह गर्दछु ।”

Share.

Leave A Reply