स्थानीय प्रजातीका लोकल कुखुरा बन्यो फलिफाप

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैंडाकोट १८ आहालेकी ४२ वर्षिया टिकामाया शारुको दिनचर्या घरमा रहेको किराना पसलसँगै स्थानीय प्रजातीका लोकल कुखुराको रेखदेखमा नै बित्ने गरेको छ । अन्य कर्म गर्दा सोचेजस्तो उत्पादन र आम्दानी नहुने बताउने टिकामाया लोकल कुखुराको माग उच्च रहेको बताउनुहुन्छ । दिनभर बारीका कान्लामा रमाउने कुखुरालाई त्यति धेरै रेखदेख गर्न पनि पर्दैन । अहिले यीनै लोकल कुखुरा उहाँको राम्रो आम्दानीको स्रोत बनेका छन् । लोकल कुखुराको माग बढिरहेसँगै गाउँघरमा खेर गएको समयको सदुपयोग पनि हुने र आम्दानी पनि हुने भन्ने सोचका साथ शुरु गरेको लोकल कुखुरा पालनबाट घरखर्च चल्ने मात्र होईन खेतबारी जोड्ने, छोराहरुलाई विदेश पठाउनमा समेत सहयोगी बन्यो ।
पूर्व पश्चिम राजमागदेखी झण्डै ९ किलोमिटर उत्तरतर्फ उहाँको घर छ । विशेषतया गैंडाकोटको तल्लो भेग र विभिन्न क्षेत्रबाट लोकल कुखुराको मासु खान पहाडी क्षेत्रमा पर्ने गैंडाकोट १८ आहाले पुग्ने गरेका छन् । मान्छेको आवत जावत बढि हुने र कुखुराको माग पनि बढि रहेकाले उहाँले स्थानीय प्रजातीका लोकल कुखुरा पाल्नुभएको हो ।
टिकामायाका अनुसार ७ सय रुपैयाँ किलोका दरले कुखुरा गाँउमा नै बिक्रि हुने गरेको छ । जिविकोपार्जन भन्दा पनि व्यवसायीक रुपमा गर्ने सोचका साथ शुरु गर्नुभएका उहासँग केही समय अघि सम्म ३ सय वटा सम्म थिए । अहिले पनि उहाँसँग १०० वटा जती कुखुरा रहेका छन् । सामान्यतया ६ महिनादेखी कुखुरा बिक्रि हुने गरेको छ । १ वर्षमा यो सिजनमा मात्रै उहाँले साढे २ लाख वढिको लोकल कुखुरा बिक्रि गरेको बताउनुभयो ।


खासै दानापानीका लागि मेहनत गर्नु पनि नपर्ने खेतबारीमा डुली खाने भएकाले पनि दुःख त्यति छैन । उहाँले घरमा पसल समेत सञ्चालन गर्दै आउनुभएको छ । पसलको कामसँगै कुखुराको काम पनि भ्याउनुभएको छ । गाउँमा कुखुरको उच्च माग छ । त्यो पनि पु¥याउन नसकिएको उहाँको भनाई छ ।
लोकल कुखुरा बेचेर नै उहाँले २ छोराहरुलाई विदेश पठाउन लाग्ने खर्च जुटाउनुभयो । दुई छोरा विदेश जाँदा अरुसँग ऋण लिनु परेन । कुखुरा बेचेर आएको पैसाले सजिलो भयो ।
उहाँले कुखुरा बेचेर आएको पैसा विभिन्न ७ वटा संस्थामा मासिक बचत समेत गर्ने गर्नुभएको छ । सहकारी, गाउँकै अन्य समूह र संघसंस्थामा ५ सय रुपैयाँ देखी माथि ईच्छा अनुसार उहाँले बचत गर्ने गर्नुभएको छ ।
यस कार्यमा उहाँका श्रीमान टोपबहादुर शारुले पनि सहयोग गर्नुभएको छ । आत्तिनु हँुदैन भन्ने कुरामा विश्वास राख्ने टिकामाया शारुले सोही पैसाको सहयोगमा भेडाबारीमा जग्गा समेत जोड्नुभएको छ । यस्ले सजिलो भएको उहाँको ठम्याई छ ।
केही न केही ईलम गर्ने हो भने गाउँघरमा खेर गएको समयको सदुपयोग पनि हुने आम्दानी पनि हुने उहाँको बुझाई छ । ईच्छाशक्ती हुने हो भने पैसा कमाउन गाह्रो नहुने टिकामायाको विश्वास छ ।

Share.

Leave A Reply