अपरान्ह ४ बजेपछि किराना पसल खुल्ला गर्ने ३ व्यापारी गैडाकोट प्रहरीको नियन्त्रणमा

0

डोलराज रानाभाट, गैडाकोट, २६ चैत्र । इलाका प्रहरी कार्यालय गैडाकोटले लकडाउनको कार्यतालिका उल्लघंन गरी पसल संचालन गर्ने ३ जना व्यापारीलाई आज नियन्त्रणमा लिएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउन अवधिमा भीड वढेसँगै यस अघि अपरान्ह ४ बजेपछि पसल खुल्न नपाउने गरी सूचना जारी गर्दा पनि अटेर गर्ने ३ जना किराना पसल संचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

जनताको स्वास्थ्यका लागि गरिएको लकडाउनमा पनि यस अघि साँझपख पसलहरुमा भीड वढेका कारण अपरान्ह ४ बजेपछि औषधि पसल वाहेक सवै वन्द गर्ने निर्णय गरिएको थियो ।

आफूलाई आवश्यक परेको दैनिक उपभोग्य सामान विहान र दिउसो खरिद गर्न आग्रह सहित पसलहरु पनि त्यही समय अनुसार संचालन गर्न गरिएको आग्रह अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको थापाले बताउनुभयो । अहिले उक्त निर्णयको उल्लंघन गर्दै किराना पसल संचालन गर्ने गैडाकोट २ र ४ बाट प्रहरीले ती व्यापारीलाई नियन्त्रणमा लिएको हो ।

गैडाकोट २ मा २ जना र गैडाकोट ४ का एक जना व्यापारीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले फेरि पनि लकडाउन अवधिभर यसको पालना गरी अत्यावश्यक काम वाहेक वाहिर नहिँड्न र सावुन पानीले पटक पटक हात धुँदै सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ ।

Share.

Leave A Reply