६८ प्रतिशत जनता भन्छन् “स्थिति सामान्य नभएसम्म लकडाउन गर”

0

सर्वेक्षणमा सहभागी एक हजार ११० जनामध्ये दुई तिहाई भन्दा बढीले ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्ने’ सुझाएका छन्।

काठमाडौं। ११ चैतदेखि शुरूमा एक सातालाई घोषणा गरिएको लकडाउन दुईपटक बढाएर ३ वैशाखसम्म पुर्‍याइएको छ। त्यसपछि पनि लकडाउनको अवधि थपिनसक्ने सम्भावना छ।

व्यक्ति-व्यक्तिबीचको दूरी घाटाउनु नै कोभिड-१९ को विस्तार रोक्ने प्रमुख तरिका मानिएको छ।

त्यसैले लकडाउनले अर्थतन्त्रलगायत धेरै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भए पनि अहिलेलाई कोभिड-१९ विरूद्धको लडाईंमा अचुक उपाय मानिएको छ। शेयरकाष्ट ईनिशियटिभ नेपालले २२-२४ चैतमा गरेको सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले लकडाउनलाई स्थिति सामान्य नभएसम्म बढाउनुपर्ने धारणा राखेका छन्।

ईनिशियटिभले माघ-फागुन २०७६ मा गरेको मिडिया सर्वेक्षणमा सहभागी चार हजार ८३० उत्तरदातामध्ये र्‍यान्डम छनोट विधिबाट एक हजार ५०० जना उत्तरदाता छानेको थियो। तीमध्ये एक हजार ११० जनाले कोभिड-१९ सँग सम्बन्धित विषयमा उनीहरूका धारणा, बुझाई र अभ्यासबारेमा जानकारी दिएका थिए।

उनीहरूलाई सोधिएका विभिन्न १३ प्रश्नहरूमध्ये एउटा प्रश्न ‘तपाईंको विचारमा यो लकडाउन कहिलेसम्म गरिनुपर्छ भन्ने लाग्छ ?’ थियो। यो प्रश्नमा सर्वाधिक ६८.२ प्रतिशतले ‘स्थिति सामान्य नहुञ्जेलसम्म लकडाउन गरेकै राम्रो’ भन्ने जवाफ दिएका छन्। ११.३ प्रतिशतले थाहा छैन/भन्न चाहन्न भन्ने जवाफ दिएका थिए। बाँकीमध्ये करीब १५ प्रतिशतले पनि लकडाउन अझै बढाउनुपर्ने धारणा राखेका थिए।

तर कति बढाउने भन्नेबारेमा भने उनीहरूको फरक-फरक धारणा थियो। ५.९ प्रतिशतले एक हप्ता, ५.५ प्रतिशतले दुई हप्ता, १.७ प्रतिशतले तीन हप्ता र १.६ प्रतिशतले अझै चार हप्ता बढाउनुपर्ने धारणा राखेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ५.२ प्रतिशतले मात्रै लकडाउन गर्न नहुने बताएका छन्। उनीहरू ब्यापक रूपमा स्वास्थ्य परीक्षण र उपचारमा जोड दिनुपर्ने धारण राख्छन्।

उनै उत्तरदाताहरूमध्ये धेरैले आफ्नो घर वरिपरी लकडाउनको पालना भएको बताएका छन्। ५९ प्रतिशतले पूर्ण रूपले पालना भएको बताएका छन् भने ३८.८ प्रतिशतले आंशिकरूपमा पालना भएको छ भनेका छन्। कत्ति पनि पालना नभएको बताउने १.८ प्रतिशत छन् भने ०.४ प्रतिशतले ‘थाहा छैन/भन्न चाहन्न’ भनेका छन्।

लकडाउनको पालना नगरी सवारी चलाउने व्यक्तिहरूलाई प्रहरीले दैनिक रूपमा नियन्त्रणमा लिँदै आएको छ। साथै शहर-बजारका भित्रि बाटाहरूमा मानिसहरू जम्मा भइरहेका, तरकारी र किराना पसलमा साँझको समयमा उस्तै भीडभाड भइरहेको रिपोर्टहरू विभिन्न मिडियाले सार्वजनिक गरिरहेका छन्। यस्ता दृश्यहरू देखेकैले आंशिक रूपमा लकडाउनको पालना भएको एक तिहाई भन्दा बढी उत्तरदाताले जवाफ दिएका हुनसक्छन्।

‘लकडाउन शुरू हुन भन्दा अघि तपाईले आफ्नो तथा घरपरिवारका लागि आवश्यक के-के सामग्रीहरू खरिद गर्नुभएको थियो ?’ भन्ने प्रश्नमा भने उत्तरदाताले रोचक जवाफ दिएका छन्। सबैभन्दा बढी ५३ प्रतिशतले खाद्यान्न तथा तरकारी किनेको जवाफ दिएका छन्। १६.९ प्रतिशतले एलपी ग्यास खरिद गरेको बताएका छन्। ४३.६ प्रतिशतले खासै केही तयारी नगरेको बताएकोमा १७ प्रतिशतले मास्क खरिद गरेको बताएका छन्। प्राथमिक औषधि (७.६), स्यानिटाइजर (७.१) र पञ्जा (१ प्रतिशत) किन्नेहरूलाई एकैठाउँमा राख्ने हो भने पनि त्यो भन्दा बढी २३.५ प्रतिशतले साबुन किनेको बताएका छन्। सहभागीमध्ये करीब एक चौथाईले लकडाउन अघि साबुन खरिद गरेको जवाफ कोरोना भाइरसबाट बच्न साबुन पानीले नियमित हात धुनुपर्छ भन्ने जानकारीसँग सम्बन्धित छ। महामारीबाट कसरी बच्ने भन्ने अर्को प्रश्नमा ९० प्रतिशतले बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने जवाफ दिएका छन्।

सर्वेक्षणअनुसार अधिकांश नेपालीलाई कोरोना भाइरसको संक्रमण कसरी हुन्छ र यसबाट कसरी जोगिने भन्ने थाहा भएको देखिन्छ। ९८.६ प्रतिशतले आफूलाई यस्तो जानकारी भएको बताएका छन्। अधिकांशलाई कोरोना भाइरसको लक्षणका बारेमा पनि थाहा भएको देखिन्छ। उनीहरूलाई यसबारे धेरै भ्रम नभएको तथ्यांकले देखाउँछ। तर, करीब दुई तिहाईलाई आफू वा परिवारको सदस्यलाई संक्रमण होला कि भन्ने डर रहेको देखिन्छ। ६४.४ प्रतिशतले त्यस्तो डर रहेको बताएका छन्। सबैभन्दा बढी २८.१ प्रतिशतले खुला सीमाना भएका कारण त्यस्तो डर रहेको बताएका छन् भने झन्डै त्यति नै संख्याले (२८ प्रतिशत) विदेशबाट फर्किएकामा कोभिड-१९ को परीक्षण नभएकाले त्यसरी डराएको उल्लेख गरेका छन्।

त्यस्तै कोरोना भाइरसको संक्रमण फैलिनबाट नियन्त्रण तथा रोकथामका लागि सरकारले गरिरहेका प्रयासबाट पनि धेरै संख्याका उत्तरदाता सन्तुष्ट रहेको सर्वेक्षणको नतिजाले देखाउँछ। सर्वेक्षणमा सहभागीमध्ये ६२.८ प्रतिशतले सन्तुष्ट रहेको बताएका छन्। एकदमै सन्तुष्ट रहनेमा अर्को ८.६ प्रतिशत छ। ९.४ प्रतिशत असन्तुष्ट रहेको तथा २.९ प्रतिशतले एकदमै असन्तुष्ट छु भनेका छन्। न सन्तुष्ट न असन्तुष्ट भन्ने तटस्थ व्यक्तिहरू १४.२ प्रतिशत देखिन्छन् भने २.१ प्रतिशतले ‘थाहा छैन/भन्न चाहन्न’ भन्ने जवाफ दिएका छन्।

Copied From  https://dekhapadhi.com/

Share.

Leave A Reply