तालिका हेरफेरसँगै गैडाकोटमा भीड कम, साँझ ४ बजेदेखि औषधि पसल मात्रै खुल्ने

0

लकडाउनको पहिलो दिन गत चैत्र ११ गते चेकजाँच गर्दै इलाका प्रहरी कार्यालय गैडाकोट

डोलराज रानाभाट, गैडाकोट, २४ चैत्र । लकडाउनको समयमा पनि परिवार सहित हुलका हुल वाहिर निस्कने, समुदाय चहार्ने, सामाजिक दुरी कायम नगरी पसलहरुमा भीड वढेपछि गैडाकोटमा तालिका हेरफेर गरियो । तालिका हेरफेरसँगै मानिसहरुको भीड कम भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्र वहादुर थापाले जानकारी दिनुभयो । तालिका अनुसार हरेक दिन अपरान्ह ४ बजेदेखि फार्मेशी वाहेक कुनै पनि पसल खुल्न दिइएको छैन । विहान देखि अपरान्ह ४ बजेसम्म भने सदाका दिनझैँ नेपाल सरकारले तोकेका अत्यावश्यकीय सामाग्रीको खरिद विक्रि गर्ने पसलहरु संचालमा रहनेछन् । जसमा तरकारी,खाद्यन्न,किराना, दुग्ध, माछा मासु पसल छन् । सदाका दिनझैँ सामान्य अवस्थामा खुल्न दिँदा साँझपख भीड कम नै नभएपछि वाद्य भएर तालिका हेरफेर गर्न परेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । “जनतालाई सामान नै नकिन्नु, पसल नै नखोल्नु भनेको होइन तर सामाजिक दुरी कायम राख्नुपर्ने नियमलाइ अटेर गरेपछि साँझ ४ बजेदेखि औषधि जन्य वाहेक कुनैपनि पसल खुल्न नदिने निर्णय गरेका हौँ ।”
यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इक्सपेक्टर चन्द्रवहादुर थापाले पनि नगरवासीको चाहाना र आवश्यकतालाई ध्यानमा दिएरै पसल संचालन गर्न दिइरहेको बताउँदै “तर परिवारका ३, ४ जना मोटरसाइकलमा हाल्ने चलाउने, पसलमा पनि दैनिक खरिद गर्न जाने गरेपछि यो निर्णय गरेका हौँ । अहिले भीड धेरै घटेको छ । साँझ ४ बजेपछि औषधि जन्य पसल मात्रै खुल्न दिएका छौँ । ”
हुन पनि पछिल्लो सयम आफूलाई दैनिक आवश्यक खाद्यवस्तु तरकारी लगायतका वस्तुहरु केही दिनलाई पुग्ने गरी खरिद गर्नुको सट्टा हरेक साँझ घुम्न निस्कने र सामान खरिद गर्न पसल गई भीड गर्नेहरु वढेको देखिन्छ । जसले कोभिड १९ को संक्रमण जोखिम वढाएको थियो भने लकडाउनको मर्मलाई नै नमानेको देखिन्थ्यो । हालसम्म औषधि पत्ता नलागेको कोरोना भाइरसबाट बच्ने उपाय नै मानिस वीचको दुरी वढाउनु हो । यस्तो वेलामा जनतानै अटेरी भएको पाइएको छ । छिमेकी जिल्लामा समेत तरकारी पसलहरु वन्द भइसकेका छन् तर गैडाकोट नगरपालिका र प्रहरी प्रशासनले भने केही सहजता प्रदान गरेको छ । तर विहान दिउसो संचालन भएको पसलमा पनि भीड वढाए पुरै वन्द गर्नुपर्ने अवस्था आउने प्रहरी प्रशासनको भनाई छ । विहान दिउसो आफूलाई आवश्य सामाग्री खरिद गर्न सकिने र त्यसमा पनि दुरी कायम राख्नुपर्ने नगरपालिकाको भनाई छ ।

Share.

Leave A Reply