नवलपुरमा सामान्य, परासीमा ५४ वटा सवारी साधन नियन्त्रणमा, १६ जना क्वारेन्टाईनमा 

0


प्रेम क्षेत्री
चैत १३, गैंडाकोट । लकडाउनको तेस्रो दिन नवलपुरमा दिनभरको अवस्था सामान्य रहेको छ । हिजो र अस्तिको तुलनामा दिनभर अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । खाद्यान्नका लागि केही व्यक्ति बाहिर निस्कीए पनि अवज्ञा नै गर्ने काम भने नभएको उहाँको भनाई छ । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लंघन गरेकाले पक्राउ गरिएको उहाँको भनाई छ । सरकारको निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने उहाँले बताउनुभयो ।

पश्चिम नवलपरासीमा लकडाउन उल्लंघन गरेर घरबाहिर निस्केका ५४ वटा सवारीसाधन सहित चालकलाई पक्राउ गरिएको छ । लकडाउन उल्लंघन गरेर घरबाहिर निस्केका मोटरसाईकल, कार, ट्रक र ट्रयाक्टर नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो । उनिहरुलाई आवश्यक कारवाही गरिने उहाँले जानकारी दिनुभयो । साथै उहाँले सिमाबाट जिल्लामा प्रवेश गरेका १६ जनालाई जिल्लाका विभिन्न स्थनमा क्वारेन्टाईनमा राखिएको जानकारी दिनुभयो । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको भन्दै उहाँले निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने पनि बताउनुभएको छ । जिल्लाका हरेक क्षेत्रमा मातहतका प्रहरी कार्यालय माफर्त माईकिङ पनि गरिरहेको उहाँले बताउनुभयो । नागरिकमा केही असहज भए सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply