आउँदो फागुनमा गैँडाकोट १८ मा बिजुली बल्छ ः यादव

0


नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख मधुसुदन यादव

बिजुलीका पोल झारेर गैँडाकोट १८ मा विद्युतीकरणका लागि तीव्र रुपमा काम भइरहे पनि वडावासीहरुले झट्ट विश्वास गर्न सक्दैनन् । यसअघि पटक पटकको आश्वासन र कामले पूर्णता नपाएपछि आजित बनेकाहरु छिटो बिजुली आए जीवनयापन सहज हुने बताउछन् । यसै सन्दर्भमा हामीले नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख मधुसुदन यादवसँग गैँडाकोट १८ लाई उज्यालो वडा बनाउन भइरहेका पहल र कामका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
गैँडाकोट १८ मा विद्युतीकरणको काम कसरी अघि बढिरहेको छ ?
गैँडाकोट १८ मा विद्युतीकरणको काम टेन्डरको काम भदौदेखि नै सुरु गरेको हो । टेन्डर प्रक्रियामा केही समस्या आएपछि दुई पटकसम्म पुनः टेन्डरको प्रक्रियामा गएको थियो । अहिले भने त्यस टेन्डर प्रक्रियालाई पूर्णता दिई सम्झौता भइसकेको छ । सबै कन्ट्रयाक्टरहरुले स्थलगत अवलोकन गरिसकेका छन् । उनीहरुले पोल गाड्ने काम गरिरहेका छन् । यसपछि हार्डवेयरका सामान जान्छ । त्यस हिसाबले काम भइरहेको छ र बिजुली नबल्दासम्म नियमित काम हुन्छ ।
अहिले विद्युतीकरणका लागि आवश्यक कस्ता कस्ता सामग्री आइसकेका छन् ?
अहिले पोलहरू आइसकेका छन् । हेटौंडाबाट इन्सुलेटर पनि मगाइसकिएको छ । अझै आउने क्रम जारी छ । प्राविधिक कार्यालयबाट तारको टेन्डर पनि भइसकेको छ । पोल गाडेर सक्ने बेलासम्म तार पनि आइपुग्छ ।
फिल्डमा हुनुपर्ने कति काम सम्पन्न भएको छ ?
पोल गइसकेका छन् । फिल्डको कामका लागि वडाअध्यक्षलगायत जनप्रतिनिधीहरुसँग समन्वय गरेर अघि बढिरहेका छौं । फिल्डमा आउनसक्ने बाधाका लागि सहज वातावरण गराइदिनुहोला भनेका छौं । जनमानसमा केही भ्रम हुनसक्छ भनेर हो तर त्यस्तो समस्या आएको छैन । पोल गाड्ने र खाल्डो खन्ने कन्ट्रयाक्टरहरुले काम गरिरहनुभएको छ ।
जनमानसमा भएको भ्रम के हो ?
जनमानसमा घर अगाडि पोल प¥यो, तार प¥यो भन्ने खालको गुनासाहरु आउने गर्छन् । आखिर त्यो कसैको घर अगाडिवाट नै जाने हो । घरभित्र बिजुली पुगिरहेकै हुन्छ । त्यस खालको भ्रम हटाउनुपर्छ । ११ हजारको लाइन जाँदा हामी क्लियरेन्स हुन्छौँ । त्यस हिसाबले अठ्यारो हुन सक्छ कि भनेर हामी सचेत छौँ । अहिले केही असहज स्थिति छैन । मलाई लाग्छ स्थानीय पनि यसमा सचेत हुनुहुन्छ ।
तत्काल कुन–कुन क्षेत्रमा बिजुली बल्छ ?
बिजुलीको तार एस पी र एल टी छन् । एल टी लाइन जुन घर घरमा जान्छ यो ठूलै आकारमा हुनेछ । एस पी लाइन ६ किलोमिटरको हुनेछ । ठाउँठाउँमा ट्रान्समिटरहरू बस्नेछन् । त्यस स्थानबाट घर घरमा पु¥याइने तार हेर्दा यसले वडाका धेरै स्थानमा पुग्नेछ । यो ठूलो आकारको हुनेछ ।
स्थानीयले कहिलेसम्म बिजुली बाल्न पाउँछन् ?
बिजुली बाल्नका लागि एसपी लाइन बन्ने बित्तिकै ट्रान्समिटर जडान गरेपछि बिजुली बल्छ तर कन्ट्रयाक्टरलाई दिइएको काम हो । यसका लागि एउटा प्रक्रिया छ । त्यसका लागि समयसीमा तोकिएको छ । त्यसका लागि एक वर्षको समयसीमा तोकिएको छ । आउँदो फागुनसम्ममा सबै काम सम्पन्न हुने गरी सम्झौता भएको छ । सम्भवतः २०७७ फागुनसम्ममा बिजुली बल्छ ।

Share.

Leave A Reply