विदेशबाट फर्किएका लागि घरकै क्वारेण्टाइनमा बस्न गैँडाकोट स्वास्थ्य शाखाको अनुरोध

0


गैँडाकोट । गैँडाकोट नगरपालिकाले विदेशबाट फर्किएका नेपालीहरुलाई घरकै सेल्फ क्वारेण्टाइनमा बस्ने रणनीति अपनाएको देखिन्छ । पितौँजीघाट स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक यामबहादुर क्षेत्रीले पितौँजीघाटमा रहेको अस्थायि क्वारेण्टाइनमा भारतबाट फर्किएका नेपालीहरुको सोधपुछका लागि आउने गरेको बताउनुभएको छ । उनिहरुको सामान्य चेकजाँच पश्चात घरकै क्वारेण्टाइनमा बस्न पठाइएको बताउनुभयो । आजसम्म ८–९ जना भारत र अन्यदेशबाट फर्किएकाहरु सोधपुछका लागि आउनुभएको र सामान्य चेकजाँच गरि आवश्यक परामर्श गरि घरमै सुरक्षित तरिकाले क्वारेण्टाइनमा बस्न आग्रह गर्दै पठाइएको बताउनुभयो । विदेशबाट फर्किएकाहरुलाई छुट्टै क्वारेण्टाइनमा १४ दिन जति राख्न सके सबैभन्दा राम्रो हुने भएपनि अहिलेलाई घरमै पठाइएको क्षेत्रीको भनाइ रहेको छ ।
जनस्वास्थ्य निरिक्षक क्षेत्रीले नगरपालिकाभित्र एउटै सुविधा सहित क्वारेण्टाइन स्थापना गर्न सकिने र सहजलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । क्षेत्रीका अनुसार बर्थिङ सेण्टर पनि परिसरमै रहेको हुँदा जोखिम रहेको छ, यसमा ध्यान दिन जनस्वास्थ्य निरिक्षक क्षेत्रीको आग्रह रहेको छ ।
जनस्वास्थ्य निरिक्षक क्षेत्रीले स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका दृष्टिकोणले पनि नगरपालिका बेलैमा सचेत हुन आग्रह गर्नुभएको छ । अहिलेको परिस्थितिमा स्वास्थ्य सुरक्षा जोखिममा रहेको छ ।
गैँडाकोट नगरपालिका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले सामन्य अवस्थामा रहेकाहरुलाई घरकै क्वारेण्टाइनमा बस्न आग्रह गर्नुभएको छ । घरमा बस्न नमिल्ने बातावरण भएको खण्डमा पितौँजीघाट स्वास्थ्य चौकीमा रहेको तीन शैयाको क्वारेण्टाइन र सहज अस्पतालमा रहेको २५ शैयाको क्वारेण्टाइन राखिएको बताउनुभएको छ । दुबै क्वारेण्टानमा लक्षण नदेखिएका तर विदेशबाट फर्किएकाका लागि आवश्यक परेको खण्डमा राख्ने गरि व्यवस्था मिलाइएको छ ।

Share.

Leave A Reply