सामाजिक दुरी बढाएर चाइना युद्ध जित्दै, हामी पनि सोही मार्गमा हिडौँ

0


विश्वका १९२ वटा देशमा फैलिएको नोबल कोरोना भाइरसका कारण ४ लाख २२ हजार ९ सय ५९ जना संक्रमित भएका छन् । यस संक्रमणबाट १८ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ । यसबाट निको हुनेको संख्या पनि बढीरहेको छ । विश्वमा यस भाइरसको संक्रमण पश्चात १ लाख ९ हजार १ सय ४४ जना ठीक भएर घर फर्किएका छन् । जसमध्ये ७३ हजार ६ सय ५० चाइनाका रहेका छन् । चाइनामा कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा सरकार सफल बन्दै गएको छ । तथ्यांक हेर्दा युरोपियन र अमेरिकन देशलाई कोरोना भाइरसको नियन्त्रण चुनौतीको विषय बनेको छ । चाइनाले सामाजिक दुरी कायम गर्न सफल भइ नियन्त्रणका लागि ठूलो सफलता हासिल गरिरहेको छ । चाइनाले अपनाएको सुत्र लाई नै अहिले बाँकी विश्वले अनुसरण गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले जोखिमको क्षेत्रको रुपमा हेरेको भारतमा पनि मोदी सरकारले हिजोदेखि २१ दिनको लकडाउन गरेको छ । भारतमा गरिएको लकडाउनले नेपाललाई पनि संक्रमणको जोखिमबाट बचाउन ठूलो मद्दत मिल्ने धेरैले विश्वास लिएका छन् ।
नेपालमा बेलैमा लकडाउन गरि सरकारले सकरात्मक कदम चालेको छ । यस कदमलाई नागरिकले आफ्नो ठाउँबाट सहयोग गर्नु अहिलेको परिवेशमा राष्टभक्ति हो । लामो समय लकडाउन हुँदा यसले अर्थतन्त्रमा पर्ने असर त छँदै छ । तर मानिसको स्वास्थ्यको सुरक्षा समेत राज्यको दायित्व हो ।
चितवन नवलपुरका स्थानीय तहहरुले यस विषयमा चनाखो भूमिका निर्वाह गर्न जरुरी छ । केन्द्र सरकारले लकडाउन गरिरहेको सन्दर्भमा स्थानीय सरकार जोखिम मोल्दै बृद्धभत्ता बाँड्ने कामलाई समेत निरन्तरता दिनु जरुरी होइन  । स्थानीय सरकारले आफ्ना वडाहरुमा विदेशबाट आएका नेपाली नागरिकहरुको अवस्थालाई पनि मध्य नजर लगाउनु जरुरी छ । संक्रमित देशहरुबाट आएका कतिपय नागरिकहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सचेत गराउन सकियो भने सबैको हित र भलो हुनेछ । अति जरुरी बाहेक अन्य संघसंस्थाका कामहरु स्थागित गरि सरकारको कदमको साथ दिनु जरुरी छ ।

Share.

Leave A Reply