नगरपालिकाद्धारा गैडाकोटका बजार अनुगमन, कालोबजारी गरेको पाइएन, म्याद नाघेका सामान भने बग्रेल्ती

0

डोलराज रानाभाट, गैडाकोट,६ चैत्र । कोरोनाको सन्त्रासले अभाव र कालोबजारी रहेको भनिरहदा गैडाकोटको अवस्था भने सामान्य रहेको छ । गैडाकोट नगरपालिकाकी उप प्रमुख विष्णु कुमारी कडेलको नेतृत्वमा आज भएको बजार अनुगमनका क्रममा कुनै पनि व्यापारीले कालोबजारी नगरेको पाइएको हो ।

अनुगमन भएका सवै पसलका व्यवसायीहरुले दैनिक जस्तै उपभोग्य सामाग्री, खाद्य,ग्यास आदि विक्रि गरिरहेको पाइएको छ भने खरिद गर्नेहरुले पनि स्टक राख्नैका लगि सामान नकिनेको व्यवसायीहरुको भनाई थियो । स्थानीय सरकार संचालन ऐन २०७४ ले बजार अनुगमन निरीक्षणको अधिकार दिएको लामो समयसम्म काम गर्न नसकेको अनुगमन समिति अव भने सक्रिय वनेको उप प्रमुख कडेलको भनाई छ । नगरपालिकामा उपभोक्ता हित संरक्षण समिति गठन भएको र अव वाट अनुगमनलाई तिव्रता पार्दै उपभोक्ता र व्यवसायीहरुलाई सचेत गराउँदै जाने उहाँले बताउनुभयो ।

पटक पटकको सचेतलाई उल्लघंन गरे आवश्यक कानुनी कारवाही गर्ने उहाँले बताउनुभयो । आज पुलचोक, शिलन्यास चोक, मौलाकालिकाको फेदी,भृकुटी चोक, कालिगण्डी चोक र काँग्रेस चोकमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा एक दुई वाहेक सवै व्यवसायीले कानुन विपरीत व्यवसाय संचालन गरेको पाइएको छ। धेरैले म्याद गुज्रेको पेय पदार्थ विक्रिका लागि राखेको पाइएको थियो भने गैडाकोट नगरपालिकामा दर्ता नै नगरी व्यवसाय संचालन गरेको पनि भेटिएको थियो । निरीक्षण टोलीका संयोजक एवम नगरपालिकाका प्रशासन प्रमुख पुष्पराज शर्माले यो पटक सचेत गराउने कार्यलाई जोड दिइएको र म्याज गुज्रेका पेय पदार्थ नष्ट गरी विना दर्ता संचालन रहेका व्यवसायीहरुलाई चाँडै नगरपालिका आई व्यवसाय दर्ता गर्न सुझाव दिएको बताउनुभयो ।

अव निरन्तर अनुगमन गरिने र यो पटक दिएका सुझाव कार्यान्वयन नगरे अर्को पटक कारवाही गरि छाड्ने उहाँको भनाई छ । स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले फार्मेसीहरुले मास्क, सेनिटाइजर जस्ता वस्तुहरुको कृत्रिम अभाव नगरेको बताउँदै कपडाको मास्क धेरै पाइएको बताउनुभयो । कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले गैडाकोट २ को एउटा मासु पसलबाट ३५ केजि कुखुराको मासु नष्ट गरिएको र त्यो वाहेक धेरै ठाउँमा सन्तोष जनक पाइएको बताउनुभयो ।

फुड टेक्नोलोजीका प्रतिनिधि नागरिक कलेज गैडाकोटका प्राध्यापक ज्योति आचार्यले अनुगमनमा उपभोक्ता हित संरक्षण अधिकारले दिएको व्यवस्था अनुसार नभएपनि नगरपालिकाले थालेको काम राम्रो भएको तर यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बजारमा प्लाष्टीकको चामल आएको भन्ने हल्ला निराधार रहेको र प्लाष्टीकबाट चामल वन्नै नसक्ने बताउनुभयो । अहिले गैडाकोटमा केन्द्रीत रहेको अनुगमन टोली चाँडै नगरपालिकाका अन्य ठाउँहरुमा पनि अनुगमन गर्ने कार्यपालिका सदस्य एवम समितिका सदस्य रमेश भट्टचनले बताउनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण समितिका सदस्य ज्ञान प्रसाद खनाल,हरिलाल सापकोटा, कृषि शाखा प्रमुख प्रमोद कुमार पौडेल, जिल्ला प्रशासनका प्रतिनिधि लोकनाथ सिग्देल,इलाका प्रहरी कार्यालय गैडाकोटका लेखनाथ सिग्देल , पत्रकार लगायतको सहभागीतामा किराना,होटल,मासु, फलफूल,मद्यीरा,फार्मेशी आदिमा अनुगमन गरिएको हो ।

Share.

Leave A Reply