दिगो विकासका सन्दर्भमा नवलपुरका स्थानीय तह

0

माया कंडेल
गैँडाकोट । नवलपुरमा रहेका ८ वटा स्थानीय तहले दिगो विकास लक्ष्यलाई पछ्याउँदै अगाडि बढने कोसिस गरिरहेका छन् । नवलपुरका स्थानीय तहका प्रमुख एवम् उपप्रमुखले बजेटको अभाव, संघ र प्रदेशसँगको समन्वय हुन नसक्दा दिगो विकासका लक्ष्यलाई सहजै पछ्याउन नसकेको बताएका छन् । भौगोलिक दृष्टिकोणले पहाड र भित्री मधेसको संगमबाट बनेकाले नवलपुरलाई विविधताले भरिपूर्ण जिल्लाका रुपमा लिन सकिन्छ । यस जिल्लाको पूर्वी–दक्षिणी भाग र पश्चिम–दक्षिणी भागमा भित्री मधेस, उत्तर, उत्तरपूर्व र उत्तर–पश्चिममा पहाडी भेग अवस्थित छ । यसले गर्दा पनि सबै स्थानमा समानरुपमा विकास हुन नसकेको देखिन्छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकासको लहर आउने विश्वास गरेका जनता विद्युतीकरण, खानेपानी, सडक सञ्जाल, पूर्वाधारलगायतका विकास सोचेअनुरुप विकास हुन नसक्दा निराश छन् । सरकारको दिगो विकास लक्ष्यलाई आत्मसात् गर्दै अगाडि बढ्ने अपेक्षा गरेका जनप्रतिनिधिले दिगो विकास र योजनाका लागि आवश्यक बजेट नपाएको गुनासो गर्छन् ।

दिगो विकासको लक्ष्य पूरा गर्न वातावरण मैत्री विकास अर्थात् दीर्घकालीन, टिकाउ हुने खालका विकासको आवश्यक छ । संयुक्त राष्ट्रसंघको ७० औँ महासभाबाट १९३ राष्ट्रले अनुमोदन गरेपश्चात् नेपालले पनि सन् २०१६ जनवरी १ देखि सन् २०३० सम्मका लागि लागु गरेको हो ।

जीवित प्राणी र प्रकृतिबीचको अन्तर्सम्बन्ध दिगो बनाउँदै पछिल्लो पुस्ताले पनि प्राकृतिक स्रोत–साधनको प्रयोग गर्न पाउन र वातावरणमैत्री विकास होस् भन्ने लक्ष्य दिगो विकासको छ । सन् २०१६ बाट सुरू गरिएको यस दिगो विकास लक्ष्यमा १७ लक्ष्य रहेका छन् । नेपाल सरकारले पनि सोही लक्ष्यलाई पछ्याउँदै सन् २०३० सम्म सबै प्रकारका गरिबीको अन्त्य गर्ने, भोकमरी अन्त्य, खाद्य सुरक्षाको प्राप्ति र पोषणको सुनिश्चितता, सबै उमेर समूहका लागि स्वस्थ जीवनको सुनिश्चितता, सबैलाई समावेशी, समतामूलक गुणस्तरीय शिक्षाको लक्ष्य लिएर अघि बढिरहेको छ । त्यसैगरी लैङ्गिक समानता र महिला तथा बालबालिकाको सशक्तीकरण, सबैका लागि सुरक्षित खानेपानी र सरसफाइमा दिगो व्यवस्थापन, पहुँचयोग्य, भरपर्दो, र दिगो आधुनिक ऊर्जा, समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनमूलक रोजगार प्रवद्र्धनको लक्ष्य लिएको छ ।
त्यस्तै देशभित्र तथा बाहिरको असमानताको अन्त्य, समावेशी, सुरक्षित दिगो सहरीकरण र मानववस्तीको विकास, दिगो उपयोग र उत्पादनको सुनिश्चितता, जलवायु परिवर्तन र यसका प्रभाव न्यूनीकरण, सामूहिक स्रोतको दिगो उत्पादन र संरक्षण, पर्यावरणीय प्रणालीको संरक्षण, शान्त समावेशी समाजको सुनिश्चितता, दिगो उत्तरदायी संस्थाको विकास, कार्यान्वयनका उपायको सुदृढीकरण र दिगो विकासका लागि विश्व साझेदारीको लक्ष्य लिएर अगाडि बढिरहँदा स्थानीय तवरबाट पनि सहयोगको जरुरी छ । नवलपुरमा दिगो विकास लक्ष्य हासिल गर्न स्थानिय तबरबाट भइरहेका कामबारे ८ वटै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुसँगको कुराकानीको सम्पादित अंश

छत्रराज पौडेल
प्रमुख
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिकाले बाटो निर्माण गर्दा विकास निर्माणका कार्यलाई एकद्वार नीतिबाट कार्य गरिरहेको छ । स्थानीय तहमा आइसकेपछि सडक निर्माण गर्दा खानेपानी र विद्युत् कार्यालयसँग सहकार्य गरेर एकीकृत रुपमा विकास निर्माण गरे दिगो विकास हुन्छ भनेर कार्य गरिरहेका र्छौं । वडा नम्बर ४ र १२ मा आज बाटो निर्माण गर्ने भोलि भत्काउने नहोस् र दीर्घकालीन होस् भन्ने सोचअनुसार नै बाटो निर्माण गरेका छौँ । भूमिगत सिँचाइको विकास गरिरहेका छौँ र यसका लागि पनि कार्य गर्दैछौँ ।
गैँडाकोट ३ र १८ मा बाख्रापालन पकेट क्षेत्र घोषणा गरेर अगाडि बढेका छौँ । त्यसका लागि चरन क्षेत्रको विकास र वन जंगलको संरक्षणमा पनि नगरपालिका अगाडि बढेको छ । दिगो योजना बनाउँदा विकास सम्भव छ । देशमा अहिले लोडसेडिङ हटेको छ । त्यस्तै नीति कार्यविधि र योजना बनाएर गैँडाकोट नगरपालिका अगाडि बढ्नेछ । हामीले अहिले पनि त्यसरी नै कार्य गरिरहेका छौँ । हरेक क्षेत्रमा आत्मनिर्भर हुने गरेर दीर्घकालीन योजना बनाएर अगाडि बढेका छौँ । वनजंगलको संरक्षण गर्दै चरन क्षेत्रको विकासका लागि सामुदायिक वनसँगको सहकार्य जारी पनि छ । गैँडाकोट नगरपालिकामा अब २० वर्षको अन्तरालमा अहिलेको दोब्बर जनसङ्ख्या हुनेछ । त्यसलाई मध्यजर राख्दै अहिले नै ८ मिटरभन्दा कमका सडक बन्नका लागि अनुमति दिएका छैनौँ ।
अहिले गैँडाकोट नगरपालिकामा नै जनप्रतिनिधि आइसकेपछि करिब ७३ वटा बोरिङ राखेका छौँ । यसले पछि जमिनमुनिको पानी सुक्न सक्छ त्यसका लागि हामीले वनजंगलको संरक्षण एक सामुदायिक वन एक जलाधार क्षेत्र बनाउने नीतिका साथ अगाडि बढेका छौँ । जसले गर्दा जमिनमुनिको पानी दीर्घकालीन हुनेछ । हामीले साना योजना नभई दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने सके सबैलाई सहभागी बनाउन सकिने र सफल पनि बनिन्छ । योजना त बनाउछौँ नै, योजनामात्र नभई त्यसलाई कार्यान्वयनमा लैजाने काम पनि गर्छौं ।
विद्यालय प्रतिस्पर्धात्मक हुनेछ । विद्यालय पोसाक नगरभित्रका विद्यालयमा एउटै बनाएका छाँै । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने लक्ष्य लिएर अगाडि बढेका छौँ । हरेक वडामा २–३ वटा उद्यान क्षेत्र निर्माण गरी वातावरणमैत्री वडा बनाउने सोच छ । हरियाली र स्वच्छ वातावरण नै हाम्रो प्राथमिकता हुनेछ ।


पूर्णकुमार श्रेष्ठ
प्रमुख
देवचुली नगरपालिका
देवचुली नगरपालिकाले शिक्षा स्वास्थ्य विकासका कामलाई प्राथमिकता दिएर अगाडि बढेको छ । सामाजिक शिक्षा नेपालीमा पढाउने, नागरिक शिक्षालगायतलाई जोड दिएर शिक्षा ऐन पनि पारित गरेका छौँ । शिक्षाको विकासले नै समग्र विकासमा टेवा पु¥याउँछ भन्ने हाम्रो सोच छ । नगरसभाबाट नै विभिन्न ऐन, नियम बनाएर अगाडि बढेका छौँ । १७ वटा वडामा नै वडा कार्यालय बनाउने गरी कार्य गरिरहेका छौँ । नगरविकासका लागि सर्वसम्मत तरिकाले काम गरिरहेका छौँ । कार्यपालिका बैठकमा नै सहमति र समन्वय गरेर छलफलबाट नै अगाडि बढिरहेका छौँ ।
फोहोरमैला व्यवस्थापनलाई स्रोत केन्द्रको व्यवस्थापन गरिरहेका छौँ । नारायणी तटमा व्यवस्थित घाट बनाउने, नगरभरि नै खानेपानीको व्यवस्था गर्ने गरी कार्य गरिरहेका छौ । आन्तरिक स्रोतको अभावले खेलकुदमा चाहे जति विकास गर्न नसकिएको हो तर नगर रंगशाला बनाउन पृथ्वीनगर खेलमैदानमा सिफारिस गरेर पठाएका छौँ । २० लाखभन्दा बढी लगानीका सडकलाई सडक ई टेन्डरबाट ठेक्का गराउने गरेर अगाडि बढेका छौँ । जसमा ढल र भलको निकासको व्यवस्था हुनेछ । नगर प्रोफाइल तयार गरेका छौँ । नगरको विकासका नक्साङ्कनको काम भइरहेको छ । नगर यातायात गुरुयोजना र नगर योजना बनाएर अगाडि बढेका छौँ । यो काम विज्ञहरुलाई जिम्मा दिएका छौँ । जसले नगरको हरेक व्यवस्थापनमा सहयोग गर्नेछ । जसले पछिसम्म पनि राम्रो र काम गर्न सहज हुनेछ । खोलाहरुको तटबन्धनका लागि डिपिआर गरेर अगाडि बढेका छौँ । आर्थिक स्रोतका लागि संघ र केन्द्रको भर परिरहेका छौँ । अन्य नगरपालिकाजस्तो त्यही स्रोतलाई प्रयोग गरेर अर्थोपार्जन गर्ने अवस्था हाम्रो छैन ।
बजार व्यवस्थापनको काम गर्दैछौँ । उज्यालो नगर कसरी बनाउने भनेर गुरुयोजना बनाएर अगाडि बढ्नेछौँ । नगरपालिकामा रोजगारीको वातावरण सिर्जना गर्न विभिन्न कार्यक्रम अगाडि बढाएका छौँ । नगरभित्रको ३० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम स्थापना गर्ने सोच पनि नगरपालिकाको छ । त्यसका लागि प्रस्ताव प्रक्रिया अगाडि बढाइएको छ । विकास निर्माण र अन्य काम छिटो होस् भन्ने चाहना छ । स्थानीय नगरवासीसँगै पछि आउने जनप्रतिनिधिलाई पनि सहज होस् भनेर अहिलेदेखि नै कार्य अघि बढाएका छौँ ।
बजेट कम छ । सोचे जसरी नै काम गर्न सकेका छैनौँ । बजेटका लागि संघ र प्रदेशको आर्थिक भर पर्नुपर्ने अवस्था रहेकाले जति गर्नुपर्ने त्यति गर्न नसकिएको चाहि हो । प्राकृतिक स्रोतको पछिका पुस्ताले पनि प्रयोग गर्न पाउनुपर्छ भन्नेमा पछिका पुस्ताले पनि प्रयोग गर्न पाउनुपर्छ भन्नेमा हामी सचेत छौँ ।
कृषि र पशुपालन क्षेत्रको विकासका लागि अब असारमा हुने नगरसभामा आवश्यक बजेट विनियोजन गरेर अगाडि बढने सोचेका छौँ । देवचुलीलाई नमुना नगर बनाउनेतर्फ ध्यान केन्द्रित गरेका छौँ । पहिले र अहिले भएका कामलाई अगाडि बढाइरहेका छौँ ।


प्रेमशंकर मर्दनिया थारु
उपप्रमुख
कावासोती नगरपालिका
कावासोतीले दिगो विकासलाई मध्यनजर गर्दै काम गरिरहेको छ । कावासोती नगरपालिकामा रिङ रोडको काम सुरु भएको छ । नगरपालिका भित्र मध्यवर्ती क्षेत्र पनि पर्ने भएकाले मानव र बन्यजन्तु बिचको द्वन्द्व कम गर्नै पर्खाल निर्माण गरिरहेका छौँ । तारबार गर्दा सामान्य केही समयका लागि हुन्छ भनेर नै दिगो सोचले पर्खाल निर्माण भइरहेको छ । नगरवासीको दिगो जीविकोपार्जनका कार्यक्रम गर्दैछौँ । दिगो रुपमा जीविकोपार्जनका कार्यक्रममका लागि बजेट छुट्ट्याएका छौँ ।
आर्थिक रुपमा सबल बन्न पनि त उत्तिकै आवश्यक छ । बाटोको निर्माण कार्यलाई ध्यानमा राखेर काम गरेका छौँ । योजना पनि बनाएका छौ । सुरक्षित बस्ती र सहर होस् भनेर नै ८ मिटर वा १० मिटरका बाटोहरु बनाउने स्वीकृतिमात्रै दिने गरेका छौँ । मापदण्ड बनाएका छौँ । पहिले नै लक्ष्य बनाएको भए कहि २ मिटर कहि ४ मिटरका बाटा हुने थिएनन ।
भूकम्प प्रतिरोधी घर र संरचना निर्माण होस् भनेर घरधनीलाई अभिमुखीकरण, ठेकदार र इन्जिनियरलाई तालिम मात्र होइन त्यसका लागि कार्यविधि नै बनाएर बजेट छुट्ट्याएका छौँ । यहाँ निर्माण हुने भौतिक संरचना सुरक्षित र दिगो बनाउनेमा आफै जागरुक छौँ । दिगो विकासलाई ध्यानमा दिएर काम गरेका छौँ । कावासोतीले सुरक्षित बस्ती निर्माणमा जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढेका छौँ । पर्यटन पूर्वाधार विकास निर्माणका कार्य गरिरहेका छौँ । नमुना सदरमुकाम बनाउने भनेर नै गुरु योजना बनेको छ त्यसलाई मध्यनजर गर्दै काम भएको छ । फेहोरमैला व्यवस्थापनको कुरा भइरहेको छ । पछिसम्म हामीले कावासोतीमा ढल र भल निकासका लागि योजना बनाएका थियौँ तर बुटबल सडकखण्ड बनिरहँदा त्यस कार्यलाई थाती राख्यौँ । यो पनि त दिगो सोच नै हो । ती सबै कुरा भित्री सडकमा ख्याल गरेका छौँ ।
धार्मिक, सांस्कृतिक र पुराताŒविक सम्पदालाई संरक्षण गर्दै अगाडि बढेका छौँ । मध्यवर्ती क्षेत्र, सामुदायिक वन, दिगो जीविकोपार्जन गर्न र प्राकृतिक स्रोतको दोहन नहोस् भनेर योजना गरेर अगाडि बढेका छौँ । प्राकृतिक स्रोतसाधन जोगाउने र संरक्षण गर्ने हाम्रो दायित्व हो । त्यसलाई पनि संरक्षण गर्ने पाटोमा हामी सजग छौँ । घरवास कार्यक्रम छ । होमस्टेले जीविकोपार्जन र कला संस्कृतिको जर्गेनामा सहयोग गरेको छ । जे गर्छौं विकास निर्माणका कार्य दिगो र समन्वयात्मक रुपमा नै गर्दैछौँ ।


चन्द्रबहादुर राना
प्रमुख
मध्यबिन्दु नगरपालिका
मध्यबिन्दु नगरपालिकामा ५७ प्रतिशत वनजंगलले ओगटेको क्षेत्र छ । विशेष गरी नगरपालिकाले महिलालाई आर्थिक रुपमा सबल बनाउन विभिन्न योजना बनाएर अगाडि बढेका छौँ । महिलाका लागि शान्तिसुरक्षा र आय आर्जन गर्न दीर्घकालीन योजना बनाएर अगाडि बढेका छौँ । आना बालबालिकालाई विद्यालय पठाउन नसक्ने र उपचार गर्न नसक्नेका लागि आय आर्जन गर्न विकल्प खोजेका छौँ । त्यसका लागि विभिन्न सहकारीसँग समन्वय गरेर बजेट पनि छुट्ट्याएका छौँ । पहिलो वर्ष ४५ लाख र अहिले ४० लाख बजेट छुट्ट्याएका छौँ । उपप्रमुख ‘चेली बचाउ र चेली पढाउ’ अभियानअन्र्तगत विद्यालयमा विपन्न र सीमान्तकृतका लागि पुस्तक र पोसाकका लागि सहयोग गरेका छौँ । सँगसँगै जागिरका गर्ने महिलाका लागि पनि तालिम अन्य सुविधा दिएका छौँ ।
शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि पनि अरुङखोला, कोल्हुवा र चोरमारामा पनि प्राविधिक शिक्षा दिनका लागि त्यही किसिमको व्यवस्था गरेका छौँ । सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई एउटै ट्र्याकमा हिँडाउने गरी कार्य गरेका छौँ । नगरमा ३०–३२ वैज्ञानिक वन समूह छ । यसलाई सही सदुपयोग गर्दै आर्थिक रुपमा निर्भर बन्न सकिन्छ । वनजंगलको संरक्षणसँगै आर्थिक रुपमा सबल बन्ने योजना बनाएर अघि बढने छौँ । खानेपानी सरसफाइका लागि पनि मास्टर प्लान बनाएर अगाडि बढने छौँ । जबसम्म जिरो होम डेलिभरी बनाउने, आधारभूत कुरा तयार गर्दैनौ तबसम्म विकास हँुदैन । बाटाका लागि एम.टि.एम.टि. योजना बनाएर अगाडि बढेका छौँ । नगरपालिकामा कुन तहका बाटाको चौडाइ कति बनाउने, १० मिटरको बाटो अभियान र बिरुवा लगाउने मेयर नमुना सडक बनाउने, पछि विपद् आउँदा र जनसङ्ख्या वृद्धि हँुदा पनि सहज होस् र ट्राफिक व्यवस्थापनमा पनि सहजता आउँछ । हरेक क्षेत्रमा दिगो विकासलाई नै लक्षित गरेर अगाडि बढेका छौँ । योजना भनेको लाइट हो । लाइट बिना हिँड्दा अँध्यारोमा लडिन्छ । अल्पकालीन र मध्यकालीन योजना बनाएर अगाडि बढेका छौँ ।
योजनाले गन्तव्यमा पु¥याउँछ । दीर्घकालीन योजनामा अलिकति बजेट बढी लाग्ने भएकाले केन्द्र सरकार र संघसँग सहकार्य गरेर गर्नुपर्ने हामी आफैले गर्न नसकिने कुरा छ । नगरपालिकाको ७० प्रतिशत बढी बजेट दीर्घकालीन योजनामा विनियोजन गरेर अगाडि बढेका छौँ । विकास गर्दा प्राकृतिक स्रोतको आजका पुस्ताले प्रयोग गरेजस्तै भोलिका पुस्ताले पनि प्रयोग गर्न पाऊन् भन्नेमा सजग छौँ ।


डम्बरबहादुर जिसी
अध्यक्ष
विनयी त्रिवेणी गाउँपालिका
विनयी त्रिवेणीको विकास र यहाँ दिगो विकास गर्न विभिन्न योजना बनाएर अघि बढेका छौँ । योजना बनाउने र त्यही योजनाअनुसारका काम गर्दैछौ । त्रिवेणी दुम्कीवासको बाटो खुलाउन सङ्घर्ष गर्दै छौँ । अर्को प्रदेश भएर आएर काम गर्नुपर्ने बाध्यता स्थानीयलाई त्यही दुःख हटाउन पनि हामीले दिगो विकासलाई मध्यनजर गरेका छौँ । बाटो बनाउने काम गरेका छौँ । मोटरबाटाले नछोएको ठाउँमा बाटो बनाउने काम गरेका छौँ । गाउँपालिकाको विकास लागि योजना बनाएर अगाडि बढेका छौँ । कुन स्थानमा कुन चिजको आवश्यकता छ त्यसका लागि सरोकारवालासँग छलफल गरेका छौँ । विभिन्न समयमा गरिएका छलफललाई मध्यनजर गर्दै गुरुयोजना बनाएर अगाडि बढेका छौँ ।
अहिले के कस्तो छ र के हँुदैछ भन्ने कुरा विचार गरेका छौँ । त्यो मात्र नभएर २०÷२५ वर्षपछि हुने अवस्थालाई हेरेर पनि योजना बनाएका छौँ । अहिलेको बाटो कस्तो छ भन्ने मूल्याङ्कन गरेर २० वर्षमा जनसङ्ख्या कति हुन्छ, त्यसलाई मध्यनजर गर्दै काम गरेका छौँ । खानेपानीको सुविधा सबै ठाउँमा पु¥याउन काम गर्दैछौँ । सडक सञ्जाल, खानेपानी, पूर्वाधार विकास र प्राकृतिक स्रोतको यहाँ पर्यटकीय क्षेत्र पनि त्यतिकै छ । त्यसलाई संरक्षण गर्ने र प्राकृतिक स्रोतको पछिल्ला पुस्ताले प्रयोग गर्न पाउन भन्ने सोचले काम गरेका छौँ । गाउँपालिकाको वडा नम्बर ३ र ५ मा बिजुली पुगेको छैन । त्यसका लागि पनि काम गरिरहेका छौँ ।
गाउँपालिकामा कृृषिको सम्भावना धेरै छ । विशेष गरी कागती खेती र अमिलो जातको फलफूल खेती राम्रो हुन्छ । गाउँपालिकाकै आर्थिक विकासमा यसले टेवा पु¥याउँछ । त्यो मात्रै होईन बाख्रापालन भैंसीपालनको सम्भावना उत्तिकै छ । त्यसैले पनि गाउँपालिकाले कृषकलाई अनुदान घाँसको बीउ दिने र मल दिने गरेको छ ।
आज काम ग¥यो भोलि नहुने भन्दा दीर्घकालीन होस् भन्ने चाहना हाम्रो पनि छ । गर्न खोज्दाखोज्दै पनि कहिलेकाहीँ बजेट र समन्वयका समस्या त आउँछ नै तर हामीले गुरुयोजना नै बनाएर काम गर्नुपर्छ भन्ने सोचेर अगाडि बढेका छौँ । यहाँका स्थानीयलाई विकासको प्रत्याभूति होस् र जीविकोपार्जनको सहज वातावरण होस् भन्ने नै चाहना छ । हामी त्यसैका लागि काम गरिरहेका छौँ ।


दुर्गाबहादुर राना
अध्यक्ष
बौदीकाली गाउँपालिका
बौदीकालीमा यसवर्ष कुल २८ करोड ६७ लाख ३८ हजार बजेट विनियोजन भएको छ । यस्तै गाउँपालिकाले गाउँपालिकाको दिगो विकासमा सघाउ पु¥याउने गुरुयोजना निर्माणमा ३५ लाख छुट्ट्याएका छौँ । गुरुयोजना निर्माण सुरु भएको छ । जसले दिगो विकासलाई पनि मद्दत पु¥याउँछ । कृषि विकास, सडक निर्माण, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा योजना निर्माण गरेर काम भइरहेको छ । वनजंगलको संरक्षणमा गाउँपालिकाले धेरै चासो राखेर काम गरिरहेको छ । ६ मिटरभन्दा कमका बाटोलाई अनुमति दिएका छैनौँ । दिगो योजना निर्माणमा प्रदेश र संघले सहयोग गरेको छ । विभिन्न ठूला योजनाका लागि बजेट दिएर सडक सञ्जाल निर्माण र खानेपानीलगायतका सुविधा उपलब्ध गराउने काम भइरहेका छन् ।
नवलपुरलाई सुगम जिल्ला भन्छन् तर बौदीकाली भनेको पाल्पा र तनहुँको सीमा पर्छ । त्यसले गर्दा पनि हामीले अहिले मुख्यतः सडकलाई नै प्राथमिकता दिएर काम गरेका छौँ । गाउँबाट धेरै युवा विदेश पलायन भइरहेका छन् । त्यसलाई रोक्न र युवालाई कृषिमा प्रोत्साहन गर्न कृषि कार्यक्रमसँगै अन्य कार्यक्रम अगाडि बढाएका छौँ । कृषि क्षेत्रको विकास गर्न सके उत्पादन बढाउन सके कावासोती, चितवन, पोखरा, पाल्पा र तनहँुको बजारमा पनि लैजान सकिन्छ ।
बौदीकालीको विकासमा बजेटको अभाव भएको छ । जति हुपर्ने हो त्यति भएन । भौगोलिक हिसाबले पनि विकास निर्माणका कार्यमा कठिनाइ भएको छ । पर्यटकीय क्षेत्रको सम्भावना उत्तिकै छ । डाँडाकाँडा हावापानी राम्रो छ । लालीगुराँस फूल फुल्छ । अकलादेवीको मन्दिर पनि बौदीकालीमै छ । करिब १७ हजार जनसङ्ख्या छ ।
भौगोलिक हिसाबले बजेट दिनुपर्छ जसले विकासमा पनि सहयोग पु¥याउँछ । दिगो विकास गर्नुपर्छ भन्ने तर बजेटका लागि संघ र प्रदेशमै निर्भर गर्नुपर्ने बाध्यता छ । अदुवा लगाएर कृषि गरेर पनि गाउँपालिकाको विकास गर्न सकिन्छ । त्यसका लागि चाहे जति बजेट छुट्ट्याउन नसकेको हो । दिगो विकास गर्नुपर्छ र त्यसका लागि गाउँपालिकाको विकास गर्न योजना बनाउँदै छौँ । गाउँपालिकाको समृद्धि नै हाम्रो चाहना पनि छ र त्यसै अनुसार अगाडि बढेका छौँ ।


लक्ष्मी पाण्डे
अध्यक्ष
हुप्सेकोट गाउँपालिका
हुप्सेकोटमा पूर्वाधार विकासका निर्माण गर्दै अगाडि बढेका छौँ । पूर्वाधार निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र विकासका पूर्वाधार निर्माण गरेका छौँ । हामीले त्यसरी योजना बनाउने गरेका छौँ । शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरेका छौँ । हाम्रा सबै योजना हचुवाका भरमा गरेका छैनौ । योजना, गुरुयोजना निर्माण गरेर गरेका छौँ । हिजो यसरी दीर्घकालीन सोच नराख्दा धेरै संरचना भत्काउन परेको अवस्था छ । त्यसलाई मध्यनजर गरेर नै हामीले दीर्घकालीन सोचका साथ सबै निकायसँग समन्वयात्मक काम गरेका छौँ ।
सडक बनाउँदा विद्युत्का पोल बाटामा परेका थिए । पहिले नै फराकिलो बनाएको भए संरचना भत्काउनुपर्ने थिएन । सडक सञ्जाल विस्तार गर्दा पनि वनजंगलको विनाश कम होस् भन्ने सोच छ । पछिका पुस्ताले प्रयोग गर्न पाउन र तिनको संरक्षण गरेर अगाडि बढेका छौँ । अहिले निर्माण भएका संरचना पछि बस्ती विकास हँुदा असर नगरोस् भन्ने छ । जनघनत्वको वृद्धि हुँदा असर नगरोस् भनेर नक्साङ्कन गर्दा इन्जिनियरिङ गरेर नक्साङ्कन गरेका छौँ । जसले गर्दा ५० औँ वर्षमा पनि भत्काउन नपरोस् भन्ने हेतुले काम गरेका छौँ । यो हाम्रो सभाले पनि पास गरेको छ ।
अहिले सानो जोखिम मोलेर भोलिका लागि राम्रो हुन्छ भने किन नगर्ने भन्ने हाम्रो सोच छ । शिक्षा, स्वास्थ्य, जीविकोपार्जको व्यवस्था गर्न काम गरेका छौँ । दिगो विकास हुनुपर्छ । प्राकृतिक स्रोत साधनको संरक्षण हुनुपर्छ । गाउँपालिकालाई स्थानीय तहलाई दिने बजेट कम भएको हो । प्रदेशभन्दा पनि स्थानीय तहलाई प्राथमिकता दियो भने काम गर्न पनि सहज हुनेछ । काम गर्न त्यो अनुसारको बजेट छैन । स्थानीय तहको जनसङ्ख्या र भौगोलिक क्षेत्रअनुसार बजेट छुट्ट्याउन आवश्यक छ । हिजोका दिनमा भन्दा त आजको दिनमा धेरै राम्रो छ । जुन पर्याप्तता हो त्यो चाहि छैन तर जति छ त्यसलाई सही सदुपयोग गर्ने गरेर काम गरेका छौँ ।
अहिले किन डिपिआर बनाउन प¥यो किन धेरै बजेट सक्ने भन्ने कुरा पनि आउँछ तर पछिका पुस्ताले अल्पकालीन सोच भएका जनप्रतिनिधिले काम गरेछन् र हामीले दुःख पायौँ भन्ने वातावरण हुन नदिन हामीले काम गरेका छौँ । डिपिआर बनाउने व्यवसाय बनेजस्तै भन्ने गुनासो पनि आएको छ । गुरुयोजना योजना डिपिआर फेसन नभएर आवश्यकता हो । बजेट व्यवस्थापन र सही सदुपयोग गरेर काम गरे पक्कै विकास हुन्छ ।
आफ्नो क्षमताले भ्याएसम्म २०३० सम्ममा दिगो विकासका लक्ष्य पूरा गर्ने काम गर्नेछौँ । सरकारले संघीयता कार्यान्वयसँगै दिगो विकासका लक्ष्य पूरा गर्ने लक्ष्य त लिएको छ । सँगै रोक्ने किसिमको काम पनि गरेको छ । स्थानीय तहमा समन्वयात्मक रुपमा काम गरेको वातावरण सिंहदरबारले भत्काइदिएको छ । राम्रो काम गरेका व्यक्तिलाई काम गर्न नसक्ने वातावरण छ । संघीय सरकारले चाहेमा ३ महिनामा पनि कर्मचारी परिवर्तन हुन्छ । स्थानीय तहमा संघीय सरकारको हस्तक्षेपले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती थपेको छ । अर्को हामीले बनाएका योजना दिगो होस् भन्ने चाहना नै छ । स्थानीय तहले गरेका राम्रा कामलाई प्रोत्साहन पनि दिनुपर्छ ।
गरिबी निवारण, आयआर्जन र लैङ्गिक समताका कार्यक्रम अगाडि लैजाने हाम्रो योजना छ । कृषि क्षेत्रको सम्भावना बढी छ । प्रविधिसँग गाउँपालिकालाई जोड्ने गरी काम गरेका छौँ । विद्युतीकरणका लागि पनि काम गरिरहेका छौँ । विद्युत्का लागि पनि काम अगाडि बढेको छ । खानेपानीका लागि १ अर्ब बराबरको काम अघि बढेको छ । यस्ता विभिन्न काम गरेका छौँ ।


शशिकिरण बस्ताकोटी
अध्यक्ष
बुलिङटार गाउँपालिका
जनप्रतिनिधि भएर आइसकेपछि नै जनताका आकांक्षाअनुसार नै काम गरेका छौँ । विकास निर्माणका काम गर्दा दिगो विकासलाई प्राथमिकता दिएर काम गरेका छौँ । नगर प्रोफाइल तयार गरेका छौँ । बुलिङटारमा पर्यटकीय सम्भावना उत्तिकै छ । गाँउपालिकाको दीर्घकालीन सोच रहेको छ । गाउँपालिकामा रहेको विद्यमान गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास र असमानतालाई हटाउँदै दीर्घकालिन सोचले परिलक्षित गरेको आधुनिक सुन्दर सहरसहितको गाउँपालिका निर्माण गर्ने योजनाअनुरुप नै हामी अघि बढेका छौँ । कृषि, पशु, वन, वातावरण र पर्यटनको प्रवद्र्धन तथा विकासमा जोड दिएर अगाडि बढेका छौँ । दिगो विकास वातावरण सरंक्षण र विपद् व्यवस्थापनमा जोड दिएर योजना बनाएर अगाडि बढेका छौँ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा जोड दिएका छौ । आर्थिक विकास र गरिबी निवारण गर्नका लागि पनि काम गर्दैछौँ । शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास गरी जनचेतनासहित रोजगारीका अवसर बढाउन सकिने गरी योजना बनाउँदै छौँ । दिगो, भरपर्दो र गुणस्तरीय विकास गर्न जनताको सहभागिताबाट मात्र सम्भव छ । यसरी नै काम गर्ने सोच छ । गाउँपालिकाभित्र सूचना प्रविधिको उपयोग गरी सूचना प्रविधिको प्रयोग कम भएकाले पनि गाउँपालिकामा समस्या भएको छ । सोचेजति शिक्षा क्षेत्रको विकास पनि गर्न सकिएको छैन । खानेपानी स्वच्छ र स्वस्थ रुपमा उपलब्ध गराउन गाउँपालिकाले गाउँपालिकाको पूरै बजेट नै त्यसैमा विनियोजन गरेको थियो ।
बुलिङटार पर्यटकीय सम्भावना भएको क्षेत्र हो । पर्यटकीय क्षेत्रकै विकासका लागि डिपिआर बनाएका छौँ । गाउँपालिकाको विकासका लागि विभिन्न योजना र गुरु योजना निर्माण गरेर नै विकास निर्माणका कार्यलाई अघि बढाएका छौँ । विभिन्न योजना बनाएर प्रदेश पठाएका छौँ । गाउँपालिकाको सीमित बजेटले भेट्ने कुरा पनि भए हेरौँ प्रदेशको नै भर छ ।
गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने योजना छ । एसईई पास गरेपछि गाउँमा नै पढ्ने अवस्था छैन । त्यो व्यवस्था मिलाउन शिक्षाको विकास गर्न अन्य पूर्वाधार निर्माण गर्न विभिन्न कार्य गर्न आवश्यक छ । यहाँ कृषिको उत्तिकै सम्भावना छ । त्यही सम्भावनालाई मध्यनजर गर्दै अगाडि बढन आवश्यक पनि छ । कृषि र पर्यटन क्षेत्रको विकासले आर्थिक रुपमा सबल बन्न पनि सहयोग गर्छ ।

Share.

Leave A Reply