गैँडाकोट नगरपालिकामा बोलिने भाषाहरूको परिचय

0

पीताम्बर सापकोटा

१. पृष्ठभूमि
‘भाषा’ शब्द संस्कृतको ‘भाष्’ धातुमा ‘अङ्’ (अ) र स्त्रीत्वबोधक ‘टाप्’ (आ) प्रत्यय लागेर बनेको शब्द हो । यसको अर्थ बोल्नु वा भन्नु भन्ने हुन्छ । मान्छेले दैनन्दिन सामाजिक र व्यावहारिक जीवनयापनका क्रममा आना विचार व्यक्त गर्न जे बोल्छ त्यही नै भाषा हो । मानवीय सम्पत्तिका रूपमा रहेको भाषालाई विचार विनिमयको सशक्त माध्यम मान्ने गरिन्छ ।
भाषा के हो ? भन्ने बारेमा विभिन्न विद्वान्हरूले विषयगत आधारमा भिन्नाभिन्नै विचारहरू प्रस्तुत गरेका छन् । मानवशास्त्रीहरूले भाषालाई मानवसंस्कृतिको संवाहकको माध्यमका रूपमा अथ्र्याएको छन् भने भूगोलशास्त्रीहरू भाषालाई भूप्रकृतिको सङ्केत मान्दछन् । समाजशास्त्रीहरू भाषालाई समाजका सदस्यहरूबीचको अन्तक्र्रिया मान्दछन् भने साहित्यशास्त्रीहरू भाषालाई विचार अभिव्यक्तिको कलात्मक माध्यम मान्दछन् । यसैगरी मनोवैज्ञानिकहरू भाषालाई मनोबिम्बको मूर्त रूपमा लिने गर्दछन् भने दर्शनशास्त्रीहरूले भाषालाई विचार व्यक्त गर्ने ध्वनिमाध्यमका रूपमा चिनाएको पाइन्छ । सबै विद्वान्हरूले सारभूत रूपमा भाषालाई अभिव्यक्तिका रूपमा परिभाषित गरेका छन् । उच्चरित ध्वनिहरूका माध्यमबाट हुने भावसञ्चार वा व्यवस्थित सङ्केत व्यवस्थाका माध्यमबाट हुने भावसञ्चारलाई नै भाषा भनिन्छ (गौतम र अन्य २०६७ ः १) भन्ने लक्षणासूत्रले पनि भाषालाई भावसम्प्रेषणको साधनकै रूपमा चिनाएको छ ।
२. गैंडाकोटमा बोलिने भाषाहरूको परिचय
नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो । विविधामय भौगोलिक बनावटले भरिपूर्ण नेपाल तीनतिरबाट भारत र उत्तरतिरबाट चीनले घेरेको भूपरिवेष्टित देश भएकाले यसको राजनीतिक भौगोलिक सीमा जेजस्ता देशहरूसँग जोडिएको छ, भाषा, जाति र संस्कृति पनि त्यस्तै अनुकूल बनेको छ । विश्वमा बोलिने भाषा र तिनका परिवारसम्बन्धी अहिलेसम्म भएका भाषाशास्त्रीय अध्ययनहरूले संसारका १० वटा भाषापरिवारमध्ये नेपालमा ४ वटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । ती हुन् ः १. भारोपेली भाषापरिवार, २. चिनियाँ–तिब्बती भाषापरिवार, ३. द्रविडेली भाषापरिवार र ४. आग्नेली भाषापरिवार ।
आग्नेली भाषापरिवारको एउटा मात्र भाषा नेपालमा बोलिन्छ । नेपालमा बोलिने यस परिवारको भाषाको नाम सतार वा सन्थाल हो । यो भाषा पूर्वी नेपालको झापा र मोरङ जिल्लामा बोलिन्छ ।
द्रविड जातिका मानिसहरूले बोल्ने भएकाले यस भाषा परिवारको नाम द्रविड राखिएको हो । नेपाल र भारतमा आग्नेली र मङ्गोलभन्दापछि र आर्यभन्दा अघि द्रविड जातिका मानिसहरूको प्रवेश भएको थियो । आर्यहरूको आगमन पूर्व भारतमा यिनीहरू रैथाने भएर बसोवास गरेका थिए । आर्यको आगमनसँगै यिनीहरू कतिपय दक्षिण भारतमा लागे भने केही आर्यसमूहमै मिल्न पुगे । भारतमा प्रचलनमा रहेका तामिल, तेलगु, कन्नक र मलयालम यसै परिवारका भाषा हुन् (पूर्ववत् ः ४०५) । नेपालमा बोलिने यस परिवारको भाषा झाँगड हो र यसका वक्ताहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषा जिल्लामा बसोवास गर्दछन् ।
नेपालमा बोलिने १२३ प्रकारका भाषाहरूमध्ये उपर्युक्त भाषाबाहेक प्रायः सबै भाषाहरू भारापेली र चिनियाँ–तिब्बती भाषापरिवारअन्तर्गतका भाषाहरू नै हुन् । मध्य नेपालमा रहेको गैंडाकोट नगरपालिकाको भूखण्डभित्र भारोपेली र चिनियाँ तिब्बती भाषापरिवारका विभिन्न भाषाहरू मात्रै बोलिन्छन् । बसोवासको हिसाबले बाहुन, क्षेत्री, थारु, मगर, गुरुङ, दराई, कुमाल, बोटेलगायतका जातजातिहरूको मौलिक भाषा, परम्परा तथा संस्कृतिको जीवन्त उपस्थिति यहाँ रहेको छ (आचार्य, २०७६ ः ९) । गैंडाकोट नगरपालिकाभित्र बोलिने भाषाहरूको सङ्क्षिप्त परिचयलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
२.१ नेपाली भाषा
नेपाली भाषा भारोपेली भाषापरिवारअन्तर्गतको भाषा हो । नेपाली भाषा नेपालको राष्ट्र भाषा, सम्पर्क भाषा, प्रशासनिक भाषा, अध्ययन अध्यापनको भाषा तथा धेरै वक्ता र नेपालभित्र र नेपालबाहिरको ठूलो भौगोलिक क्षेत्रमा विस्तारित भएको भाषा पनि हो । यो भाषा नेपालमा बोलिने सबै भाषाहरूमध्ये व्याकरण, कोश, साहित्य र वाङ्मय रचनाका दृष्टिले सर्वाधिक सम्पन्न देखिन्छ । अधिकांश नेपालीहरूले बोल्ने र बुझ्न सक्ने नेपाली भाषा सम्पूर्ण नेपालीहरूको साझा भाषा हो ।
नेपाली भाषाको उत्पत्तिको सम्बन्धमा भाषाविद्हरूबीच मतैक्य दृष्टिकोण भेटिँदैन । नेपाली भाषाको अध्ययन गर्ने परम्पराको सुरुवात सर्वप्रथम विदेशी विद्वान्हरूबाट भयो भने त्यसपछि मात्र नेपाली विद्वान्हरूले नेपाली भाषाको अध्ययन गर्न थालेको पाइन्छ । यस सन्दर्भमा कतिपय विद्वान्ले शौरसेनी प्राकृत र त्यसैको अपभ्रंशबाट नेपाली भाषाको उत्पत्ति भएको उल्लेख गरे तापनि सार्वप्रमाणिक र आधिकारिक मत भने प्रसिद्ध नेपाली भाषाशास्त्री चूडामणि बन्धु (रेग्मी) को रहेको छ । उनले आधुनिक आर्यभाषालाई ऐतिहासिकता र भौगोलिकताका आधारमा गढवाली, कुमाउनी र नेपालीको रूपतŒव र ध्वनितझ्वको तुलनात्मक अध्ययन गरी हिमाली वर्गअन्तर्गत खसवर्गबाट विकसित खस अपभ्रंशबाट नेपाली भाषाको उत्पत्ति भएको (ढकाल, २०६६ ः ३४१) बताएका छन् र अधिकांश भाषाशास्त्रीहरूको सहमति रहेकाले पनि नेपाली भाषा भारोपेली भाषापरिवारको शतम् वर्गको आर्य–इरानेली शाखाको संस्कृत भाषाबाट उत्पन्न खस प्राकृतको खस अपभ्रंशबाट विक्रमको एघारौँ शताब्दीमा विकसित भएको नव्य आर्यभाषा हो भन्न सकिन्छ ।
गैंडाकोट नगरपालिकाका अधिकांश जनताहरू नेपाली भाषाको प्रयोग गर्ने गर्दछन् । खासगरी हिन्दु वर्णाश्रम व्यवस्थाअन्तर्गतका बाहुन, क्षत्री, ठकुरी, हमाल, कार्की, केसी, खत्री, विश्वकर्मा, परियार र सुनार जातिका मानिसहरूले नेपाली भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्ने गरेका छन् । नेपाली भाषाको उत्तरोत्तर स्तरीकरण र मानवीकरणका लागि त्रिवेणी साहित्य परिषद्, गैंडाकोट स्रष्टा समाज, सिर्जन साहित्य प्रतिष्ठान, आदर्श साहित्य प्रतिष्ठान, कालिका संस्कृत छात्र परिषद्लगायतका साहित्यिक संघसंस्थाहरू, शिक्षणसंस्थाहरू, पत्रपत्रिकाहरू, एफ.एम. रेडियो र टेलिभिजनहरूले उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।
२.२ मगर÷मगराती भाषा
मगर जातिका मानिसहरूले बोल्ने भाषालाई मगर वा मगराती भाषा भनिन्छ । यो चिनियाँ तिब्बती भाषापरिवारभित्रको भाषा हो । कर्णाली र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरू मूल थलो भएका मगर जातिहरू समयकालसँगै देशैभरि छरिएर रहेका छन् । गैंडाकोट नगरपालिकाका सबै वडाहरूमा मगरभाषीहरू रहेका छन् तापनि ३, १४ र १८ नं. वडामा भने मगर जातिहरूको बाहुल्य रहेको देखिन्छ । गैंडाकोटका बसेनी, डोडे, रतनपुर, दमार, आहाले, हात्तीसाल, भागर, नगरटाँडी, भेलनटाँडी, भोक्रोफाँट, सिन्दुरे डाँडा, भतेरी, गडम्दी, लेतेटाँडी, मुलिटार, टोलटोले, करङ्घारी, तातरीबास, सालघारी, पितौजी, खयरटाँडी र रानीताल क्षेत्रमा यस जातिको मुख्य बसोवास रहेको छ । परिवार र आनो समुदायका सदस्यका बीचमा मगराती भाषा बोल्ने यो जातिले हिन्दु संस्कारलाई अवलम्बन गर्दछन् । मारुनी र कौडा नाच नाच्ने मगर जातिहरूले छोरीको ९ र छोराको ११ दिनका दिन नामकरण संस्कार गर्ने र पार्थिव शरीरलाई दाहसंस्कार गर्ने परम्परा गरेको कुरा बताउँछन् १८ नं. का वडाध्यक्ष तिलबहादुर चितौरे । मगर भाषा र संस्कृतिको उत्थान गर्ने अभिप्रायले सामुदायिक रेडियो विजय एफ.एम.ले प्रत्येक बुधबार साँझ ५ः३० देखि ६ बजेसम्म मगर भाषाको ‘मेल्लो इ मेल्लो आर्वा मिक डि’नामक कार्यक्रम प्रसारण गरेको देखिन्छ ।
२.३ गुरुङ भाषा
गुरुङ जातिका मानिसहरूले मातृभाषाका रूपमा बोल्ने भाषालाई गुरुङ भाषा भनिन्छ । यसलाई अचेल तमू भाषा पनि भन्ने गरिन्छ । गण्डकी र धवलागिरि अञ्चलका जिल्लाहरू मूल थलो भएको गुरुङ भाषाका वक्ताहरू बसाइँसराइका कारणले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विस्तारित देखिन्छन् ।
गैंडाकोट नगरपालिका प्रायः सबै वडाहरूमा बसोवास रहेका गुरुङ जातिहरू विशेषतः वडा नं. ५ को विकास र कुसुमनगर टोल, वडा नं. ४ को खयरटाँडी र रानीताल टोल, वडा नं. ७ को सफल, खालेचौर र पिपलटार टोल, वडा नं. ९ को जैनटार र थुम्सी बजार टोल, वडा नं. १५ का मेजी पोखरी र मुक्तिनाथ टोलमा भेटिन्छन् । स्वदेशी विदेशी सैनिक सेवा, कृषि, पशुपालन र व्यापार पेसा अँगाल्ने, कछाड, घलेक, गुन्यु चोली, पटुकी भेषभूषा लगाउने, घाटु, सोरठी नाच नाच्ने, हिन्दु, सनातनी, बौद्ध र इसाई धर्मका अनुयायी गुरुङ जातिले आनो भाषाको प्रयोग परिवार र समुदायकै बीचमा गरेको पाइन्छ । लोकसंस्कृतिको विकासका दृष्टिले समृद्ध रहेको यस भाषामा भाषा, व्याकरण, शब्दकोश, पत्रपत्रिका, समाचार र चलचित्र निर्माणका कामहरू भएका पाइन्छन् ।
२.४ थारु भाषा
थारु जातिले बोल्ने भाषा थारु भाषा हो । नेपालका जनजातिको इतिहासमा तराईको औलोलाई सदियौँदेखि प्रतिकार गर्दै जीवनयापन गरिआएको आदिवासीलाई थारु भनिन्छ । (अधिकारी, २०७६ ः १६९) नेपालमा यस भाषाका भाषिक वक्ताहरूको बसोवास मेची महाकालीका तराई र भित्री मधेसका जिल्लाहरू कञ्चनपुर, कैलाली, बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, चितवन, उदयपुर, सिरहा, रौतहट, मोरङ र सर्लाही जिल्लाहरूमा रहेको छ ।
गैंडाकोट नगरीका हकमा उल्लेख गर्दा वडा नं. १० को भेडाबारी, कुमारवर्ती, मुन्ना र छपटाँडी टोल, वडा नं. १२ को मालपुर, मटीकुरी टोल, वडा नं. १३ को बेल्डिहा र सिख्रौली टोल र वडा नं. १५ को शीतल टोल विकासका क्षेत्रहरूमा थारुभाषी वक्ताहरूको मुख्य वासस्थल रहेको देखिन्छ । लोकसंस्कृतिका दृष्टिले थारु भाषा विकसित देखिन्छ । माघे सङ्क्रान्तिलाई नववर्षारम्भका रूपमा माघी पर्व मनाउनु, खिचरी महोत्सव मनाउनु, घरको भित्तालाई माटोले पोत्नु, झिँगटीले छानो राख्नु, केही अंशमा सनातन संस्कृतिअनुरूपका काजक्रिया गर्नु, शरीरमा टाटु खोप्नु, छोटो कछाड, चाँदीका आभूषण लगाएर सजधज हुनु थारु जातिका विशेषता हुन् । होमस्टे र लठ्ठीनाचका कारण सांस्कृतिक जागरण हुन थालेको छ तापनि अरू भाषाहरूसँगको मिश्रणका कारण मौलिकता हराउँदै गएको र मातृभाषाका कक्षाहरू सञ्चालन गर्नसके भाषिक विकासमा टेवा पुग्ने विचार गर्छन् थारु जातिका अगुवा कार्यकर्ता थीरबहादुर थनेत । गैंडाकोट २ निवासी प्रा.डा. गणेशप्रसाद खरालले थारु भाषाको अध्ययनमा विद्यावारिधि गरेका छन् भने विजय एफ.एम.ले भाषिक उत्थानका लागि प्रत्येक शुक्रबार थारु भाषाको ‘सङ्हाती सन्देश’ कार्यक्रम सञ्चालन गर्दै आएको पाइन्छ ।
२.५ कुमाल भाषा
प्राचीन समयमा माटाका भाँडाकुडा बनाउने पेसा अपनाउने जातिलाई कुमाल (कुम्भकार) र तिनीहरूको भाषालाई कुमाल भाषा भनिन्छ । कुमाल भाषा कथ्य स्तरमा सीमित छ र ठाउँअनुसार नेपाली, बोटे, माझी र दरैबाट प्रभावित छ (पोखरेल, २०५९ ः २०२) । पाल्पा, तनहुँ र स्याङजा मूल थलो भएको यो जाति देशभर छरिएर रहेको पाइन्छ ।
गैंडाकोट नगरपालिकाको वडा नं. १ को धारापानी ८ को बेल्टाँडी, ५ को कुसुमनगर, ६ को स्वावलम्बन र सिर्जनशील टोल, ७ को सफल टोल, ९ को बाँधखोला, जयश्री र जैनटार टोल, १५ को शीतल टोलमा कुमाल जातिको बसोवास रहेको पाइन्छ । गैंडाकोटका कुमाल जातिले नेपाली भाषालाई नै मातृभाषाका रूपमा बोल्छन्् । हिन्दु संस्कारअनुसारको कर्म गर्ने कुमाल जातिहरूले हरिबोधनी एकादशी र माघे संक्रान्तिका दिन विशेष नाचगान र रमाइलो गर्ने परम्परा रहेको पाइन्छ । कुमाल भाषाको विस्तृत अध्ययन, सोधखोज र प्रयोग हुन नसक्ता यो भाषा लोपोन्मुख अवस्थामा रहेकामा चिन्ता व्यक्त गर्छन् साविक पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका सेवानिवृत्त क्षेत्रीय निर्देशक श्री खड्कबहादुर कमाल ।
२.६ दराई भाषा
नेपालका दरै जातिहरूले मातृभाषाका रूपमा बोल्दै आएको भाषालाई दरै÷दराई भाषा भनिन्छ । नेपालका अल्पसङ्ख्यक जातिमा पर्ने दराई जातिको बसोवास क्षेत्र धादिङ, तनहुँ, चितवनका भीरपाखा र वनजङ्गल क्षेत्रमा रहेका पाइन्छ (अधिकारी ः १७६) ।
दराई जातिहरूको बसोवास यस नगरपालिकामा पनि उत्तिकै रहेको देखिन्छ । दराई जातिहरू गैंडाकोट वडा नं. ७ को सफल, खालेचौर र पिपलटार टोल, वडा नं. ९ को बाँधखोला टोल, वडा नं. १५ को शीतल टोलमा र छिटपुट रूपमा अन्य वडाहरूमा पनि रहेका छन् । यहाँका दराई जातिले नेपाली भाषालाई नै मातृभाषाका रूपमा ग्रहण गरेको पाइन्छ । प्राचीन समयमा माछा मार्ने, घोगी टिप्ने, डुङ्गा तार्ने, खेतीपातीको काम गर्ने भए तापनि हाल जागिर, व्यापार, व्यवसाय र बहुविध विषयलाई जीविकाको आधार बनाएका छन् । पुरुषले कछाड र महिलाले कालो गुन्यु चोलो लगाउने दराई जातिहरू हिन्दुधर्मालम्बी नै हुन् । दराई भाषाको उत्थानका लागि विजय एफ.एम.ले प्रत्येक बुधबार साँझ ५ः३० देखि ६ बजेसम्म आधा घण्टाका लागि ‘हाम्र मझघर’ कार्यक्रम प्रसारण गर्ने गरेको छ । दरै भाषा र संस्कृतिको उत्थानमा दरै समाज गैंडाकोटले विशेष पहल गर्नुपर्ने बताउँछन् समाजसेवी सुकबहादुर दरै ।
२.७ नेवारी भाषा
नेवार जातिका मानिसले बोल्ने भाषा नै नेवारी भाषा हो । काठमाडौ उपत्यका मूल थलो भएका नेवार जातिहरू यस नगरपालिकाको वडा नं. २ को शिलान्यास, श्रीनगर र नारायणी टोल, वडा नं. १० को रत्नराज्य टोलमा र फाटफुट रूपमा प्रायः सबै वडामा बसोवास गरेका छन् । नेवारी भाषाको प्रयोग घर परिवार, आनो समुदाय र जातीय पर्व तथा उत्सवहरूमा बोल्ने गरेको पाइन्छ । भाषा, साहित्य, अध्ययन र अनुसन्धानका दृष्टिले नेवारी भाषा अत्यन्त सम्पन्न देखिन्छ । विभिन्न थर भएका गैंडाकोटवासी नेवारी भाषीहरूले नववर्ष (भिन्तुना) का उपलक्ष्यमा आनो जातीय भेषभूषामा सजिएर ¥याली निकाल्ने र लाखे नाच नाच्ने गरेको पाइन्छ ।
२.८ तामाङी भाषा
तामाङ भाषा तामाङ जातिले बोल्ने भाषा हो । चिनियाँ तिब्बती परिवार अन्तर्गतको यो भाषा बोल्ने जातिहरूको मुख्य थलो बाग्मती प्रदेश र त्यसअन्तर्गतका विभिन्न जिल्लाहरू हुन् । रसुवा र मकवानपुरमा तामाङ भाषाको स्थान पहिलो रहेको र देवनागरी लिपिमा यो भाषा लेखिन्छ । (गौतम र अन्य ः ३९९) यस नगरपालिकाअन्तर्गतका वडा नं. ४, ६, ७, ८, ११, १३, १४, १५ र १७ नं. वडाको झराही खोला, प्रतिमा टोलमा यस जातिको बसोवास देखिन्छ । बुद्धधर्मका अनुयायी तामाङ जातिहरू साउन, चैत र वैशाख पूर्णिमा र ल्होछार पर्व मनाउँछन् । भाषिक प्रयोगका दृष्टिले यस क्षेत्रका तामाङहरू आफ्नो समुदायमा मात्रै सीमित देखिन्छन् । राष्ट्रियस्तरमा भने तामाङ भाषा र संस्कृति उन्नतस्तर देखिन्छ ।
२.९ बोटे भाषा
बोटे जातिले बोल्ने भाषालाई बोटे भाषाको नाम दिइएको हो । नारायणी, गण्डकी र कोशीजस्ता नदी किनारमा बस्ने र डुङ्गाबाट नदीपार गराउनु यिनको मुख्य पेसा हो । गैंडाकोटमा बोटे जातिहरू वडा नं. १ को नारायणी टोल, ५ को कुसुमनगर, ६ को स्वावलम्बन, सिर्जनशील र भाग्योदय टोल, १० को आदर्श टोल (बोटे टोल), १२ को नव आदर्श टोल (सेन चोकको पेरीफेरी) १३ को सिख्रौली र अन्नपूर्ण टोल, १७ को त्रिपुरेश्वर टोलमा बसेको पाइन्छ । यस क्षेत्रका बोटे जातिहरूले बोल्ने भाषामा नेपाली भाषाको प्रभावका कारण भाषिक वक्ताहरू शून्यप्रायः नै देखिन्छन् । वडा नं. २ का बोटे जातिहरूको उत्थानका लागि आवासीय कार्यक्रमअन्तर्गत नमुना बस्ती निर्माण गर्ने सोच रहेको कुरा बताउनुहुन्छ यस क्षेत्रका अगुवा सामाजिक कार्यकर्ता धु्रवराम पौडेल ।
२.१० चेपाङ÷ चेपाङी भाषा
चेपाङहरूको भाषालाई चेपाङी भाषा भनिन्छ । चेपाङ जातिलाई प्रजा जाति पनि भनिन्छ र यिनीहरूले प्रजा थर लेखेको पनि पाइन्छ । (आचार्य, २०६४ ः ४३७) धादिङ, चितवन र मकवानपुर जिल्लामा प्रशस्त मात्रामा रहेको चेपाङ जातिको बसोवास गैंडाकोट नगरपालिकामा भने वडा नं. १४ को जलदेवी टोल र वडा नं. १८ मा प्रजा जातिका रूपमा बसोवास गरेको भेटिन्छ । चेपाङ भाषा पनि कथ्यस्तरमा नै सीमित रहेको छ ।
२.११ संस्कृत भाषा
संस्कृत भाषा भारापेली भाषा परिवारभित्रका ग्रिक, ल्याटिन भाषाजस्तै सर्वप्राचीन भाषा हो । यसलाई देवभाषा र आर्यभाषा पनि भन्ने गरिन्छ । यसका वैदिक संस्कृत र लौकिक संस्कृत गरी २ भेद छन् । वेद, उपनिषद्, आरण्यक, ब्राÞमण ग्रन्थहरू वैदिक संस्कृतमा रचिएका छन् भने पुराण, वेदाड्डहरू (व्याकरण, शिक्षा, कल्प, निरुक्त, छन्द, ज्योतिष) र आर्युवेदका निघण्टु, चरकसंहिता, सुश्रुतसंहिता आदि ग्रन्थहरू लौकिक संस्कृतमा रचना भएका छन् । संसारकै सर्वप्राचीन र समृद्ध भाषाका साथै आधुनिक भारतीय आर्यभाषाहरूको जननी भाषाका रूपमा रहेको संस्कृत भाषाको आधिकारिक पठनपाठन र बोलीचाली गैंडाकोट नगरपालिकाको वडा नं. १ आदर्श टोल (दिव्यधाम क्षेत्र)अन्तर्गत निम्बार्क संस्कृत गुरुकुल र श्रीमद्रामानुज वेदविद्याश्रम तथा वडा नं. ६ मा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको आड्डिक क्याम्पस र नवलपरासी जिल्लाकै एक मात्र सरकारी क्याम्पस कालिका संस्कृत विद्यापीठमा हुने गर्दछ । यसका अतिरिक्त हिन्दु वर्णाश्रम व्यवस्थाअनुसारका १६ संस्कारहरू, देवोपासना, सत्सड्ड, पूजादिकर्महरू विभिन्न मठमन्दिर र आश्रमहरूमा संस्कृत भाषाकै माध्यमबाट हुने गरेका छन् ।
गैंडाकोट नगरपालिका वडा नं. ३ को पहाडी इलाकामा भुजेल जातिको बसोवास रहेको छ । भुजेल जातिको नामका आधारमा भुजेल गाउँ नामकरणसमेत भएको पाइन्छ । मगरको कोटिमा रहेको भुजेल जातिले नेपाली भाषालाई नै अभिव्यक्तिको माध्यम बनाएका छन् ।
जीवनका सुखदुःखात्मक घटनाहरूलाई गीतिलय र सारङ्गीको धुनमा भाका हालेर गीत गाई जीविका चलाउने कास्की जिल्ला मूल थलो भएका गन्धर्व (गाइने) जातिहरूको बसोवास गैंडाकोट नगरपालिकाको वडा नं. ९ अन्तर्गत थुम्सी बजार टोलमा रहेको छ । गन्धर्व जातिहरू पनि नेपालीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने भाषिक वक्ताहरू नै हुन् । हाल यिनीहरू आनो पुख्र्याैली पेसालाई छाडेर अन्य विभिन्न पेसामा संलग्न भएका देखिन्छन् ।
३. उपसंहार
यसरी सामाजिक र आनुवंशिक परम्पराबाट आर्जित भाषा विचार वा अनुभूति साटासाट गर्ने सशक्त माध्यमका रूपमा रहेको हुन्छ । नेपालमा बोलिने ४ भाषापरिवारका भाषाहरूमध्ये भारोपेली र चिनियाँ तिब्बती भाषापरिवारका जम्माजम्मी ११ वटा भाषाहरू गैंडाकोट नगरपालिकाको भूपरिधिभित्र बोलिन्छन् । नेपाली भाषा यस क्षेत्रको धेरै भूभाग र धेरै भाषिक वक्ता भएको भाषा हो भने त्यसपछि क्रमशः मगर, गुरुङ, थारु, नेवार र तामाङ, दरै, कुमाल, चेपाङ भाषाहरू अस्तित्वमा रहेका देखिन्छन् । नेपाली भाषा बाहेकका अन्य भाषाहरू कथ्यस्तरमा सीमित छन् तिनको लेख्यस्तरमा जीवन्त उपस्थिति पाइँदैन । बहुजातीय र बहुभाषिक नेपालको ठ्याक्कै झल्को दिने गैंडाकोट नगरपालिकाको मिश्रित समाजमा दर्ज भएका सबै भाषाहरूको संरक्षणका लागि थारु कल्याणकारिणी समाज, दरै उत्थान समाज, नेवा समाज, तमु समाज र नगरपालिकाकै तहबाट समुचित कार्यक्रम र योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । मानक नेपालीका केही शब्दहरू र तिनलाई बुझाउने अन्य भाषाका शब्दहरूको अध्ययनका सिलसिलामा सङ्कलन गरिएको भएतापनि सीमित शब्दसङ्ख्यामा लेख तयार गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण समावेश गरिएको छैन । गैंडाकोटका जातजाति र भाषाभाषीहरूको तथ्याड्ढ र भाषिक सूचकहरू सङ्कलन गर्ने क्रममा तथ्याड्ढ उपलब्ध गराई सहयोग गर्नुहुने १–१८ वडाका अध्यक्षज्यूहरू, जातीय संस्कृति र रीतिरिवाजसँग सम्बद्ध कुराहरूलाई मौखिक प्रश्नावलीमा आधारित भई आवश्यक जानकारी दिनुहुने सबै अगुवा सामाजिक कार्यकर्ता र जातीय चालचलनका जानिफकार महानुभावहरूप्रति हार्दिक साधुवाद प्रकट गर्दछु ।
(लेखक सापकोटा, गैंडाकोटस्थित कालिका संस्कृत विद्यापीठमा नेपाली विषयको उपप्राध्यापक पदमा सेवारत छन् ।)

Share.

Leave A Reply