खानेपानीको धारा हुर्जिलका दैलोमा, दुःख घट्यो तर सुख आएन

0

प्रेम क्षेत्री
गैँडाकोट । लििटङ प्रविधिमार्फत घर नजिकै खानेपानीको धारा आएपछि गैँडाकोट १८ का हुर्जिलवासी खुसी छन् । टोलका ४५ घर परिवारले सोलारबाट खोलाको पानी लििटङ गरी पानी पिउँदै आएका छन् । मगर सामुदायको मात्रै बसोवास रहेको यस स्थलमा २४७ जनसङ्ख्या रहेको छ ।स्थानीयको सहयोग, श्रमदान, नेपाल सरकार, गैँडाकोट नगरपालिका र फिनल्यान्ड सरकारको सहयोगबाट साढे १८ लाखमा आयोजना सम्पन्न भएको हो ।
आयोजनाले पूर्णता पाएसँगै गैँडाकोट १८ हुर्जिलका स्थानीयलाई खानेपानी लिन कुवा धाउनुपर्ने बाध्यता हटेको छ । कुवाको दूषित पानी पिएकै कारण वर्षेनी झाडापखाला, हैजा र ज्वरोबाट ग्रसित यहाँका स्थानीयलाई यसले केही राहत मिलेको छ । गैँडाकोट १८ को हुर्जिलमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइपरियोजनाले खानेपानी योजना सञ्चालन गरेपछि खानेपानीका लागि पहिले जस्तो दुःख झेल्नुपरेको छ्रैन । विगतलाई सम्झँदै स्थानीय चन्द्रबहादुर सिंजाली भन्नुहुन्छ–“पहिलेभन्दा धेरै सहज भएको छ, पहिले रोगी बढी भेटिन्थे अहिले त्यो कम भएको छ ।”
अहिले खानेपानी मात्रै भएपनि स्वच्छ पिउन पाउनुमा नै उनीहरु खुसी छन् । स्थानीय दलबहादुर चुन्नीले भन्नुभयो – “कुवाको फोहर पानी खानुपर्ने बाध्यता हटेको छ, त्योसँगै अहिले रोग पनि हट्यो ।”
पुरानो हुर्जिल र नयाँ हुर्जिलमा मान्दे चाप कुसुन्डी स्रोतको यस आयोजनामार्फत पानी पिउनलाई मात्र पुगेको छ । वस्तुभाउलाई खुवाउन र लुगाधुन कुवा धाउनुपर्ने बाध्यता भने हटेको छैन । गाउँमा बिजुली आए केही सहज हुन्छ कि भन्ने आसमा स्थानीय बसेका छन् ।
स्थानीय दिलमाया बयम्बु घर परिवार, बच्चा, अत्यावश्यक काम छाडेर भएपनि पानी लिन कुवा पुग्नुपर्ने अवस्था केही कम भएको बताउनुहुन्छ । “झिसमिसे बिहानीमा होस् या अँध्यारोमा जानुपथ्र्यो तर अहिले त्यो डर हटेको छ ।” – बयम्बुले भन्नुभयो । कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता हटेसँगै दुःखघटेको उहाँको भनाइ छ । आजभोलि नजिक बिहान धाराबाट पानी भर्न पाउँदा सहज भएको उहाँले बताउनुभयो । खुसी हुँदै उहाँले भन्नुभयो – “दुःख हट्यो ।”
गाउँका विभिन्न स्थानमा घर नजिक पायक पर्ने स्थानमा धारा जडान गरिएको छ । ४ देखि५ घरकाबीचमा पायक पर्ने स्थानमा जडान गरिएको धाराले अहिले खानेपानीका लागि सहज भएको स्थानीय मनबहादुर बयम्बु बताउनुहुन्छ तर कहिलेकाहीँ त्यो समस्या निम्तिने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ –“सोलार चल्दा सहज छ, घाम लागेन भने फेरि उस्तै हुन्छ बिजुली आए सजिलो हुन्थ्यो ।”
खानेपानीका लागि परियोजनाले केही सहज बनाए पनि स्थानीयले पूर्णरुपमा सहजता महसुस भने गर्न सकेका छैनन् । उनीहरु लुगा धुन, नुहाउन अनि गाईवस्तुका लागि पानी लिन भने कुवामा नै धाउँछन् । सोलारबाट लििटङ गरिएकाले घाम नलाग्दा उत्तिकै असहज हुने गरेको उनीहरुको भनाइ छ । विद्युतीकरणका लागि प्रक्रिया अघि बढेको गैँडाकोट १८ मा विद्युत् सुविधा पुगेसँगै पानीको पनि सहज सुविधा हुनेमा स्थानीय आशा गर्दै बसेका छन् । अहिले वडामा विद्युतीकरणको कार्य चलिरहेको जनाउँदै गैँडाकोट १८ का वडाअध्यक्ष तिलबहादुर चितौरेले बिजुली आएसँगै वडावासीको जीवनयापनमा सहज हुने बताउनुभएको छ ।

Share.

Leave A Reply