मानव मलमुत्रिय फोहर व्यवस्थापनका लागि गैंडाकोटमा ट्याङ्की निर्माण गरिने

0


प्रेम क्षेत्री
चैत्र ४, गैंडाकोट । गैंडाकोट नगरपालिकामा मानव मलमुत्रिय फोहर व्यवस्थापनका लागि पार्क सहितको ट्याङ्की निर्माण गरिने भएको छ । गैंडाकोट वडा नम्बर १० मा रहेको मुकुन्दसेन सामुदायिक वनको भित्री भागमा मानव मलमुत्रिय फोहर व्यवस्थापन गर्न लागिएको हो । पूर्व पश्चिम राजमार्गदेखी ७ सय मिटर भित्र उत्तरतर्फ मानव मलमुत्रिय फोहर व्यवस्थापनका लागि पार्क सहितको ट्याङ्की निर्माण गरिने भएको हो । १०९ मिटर चौडाई र ११८ मिटरको लम्बाई जग्गा ओगट्ने गरि करिब २ बिगहा क्षेत्रफलमा सञ्चालन हुनेगरि सो आयोजना सञ्चालन गर्ने प्रक्रिया अघि वढाईएको छ ।
२५ घन मिटर क्षमताको दैनिक ५ ट्याङकर मानव मलमुत्र अट्नेगरी सो ट्याङ्की बनाउन लागिएको हो । नगर क्षेत्रका हरेक वडाका घरघरमा पुगी ट्याङ्कर मार्फत मानव मलमुत्र संकलन गरिने जनाईएको छ । यो आयोजनाले गैंडाकोट ३ र १८ लाई भने नछुने जनाईएको छ । अनुमानित १० करोडको लागतमा ८५ प्रतिशत नेपाल सरकार र १५ प्रतिशत नगरपालिकाको सह लागानीमा सो आयोजना अघि बढाउन लागिएको हो ।
गैंडाकोट नगरपालिकाको भुगोल, जनसङ्ख्याका आधारमा सबैलाई उपयुक्त र सहज वातावरणमा बन्नेगरि यो आयोजना सञ्चालन गर्ने तयारीमा रहेको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।
डिपिआरका लागि सम्भाव्यता अध्ययन गर्न आएको टोलीले गैंडाकोट नगरपालिकाका सरोकारवालाहरुसँग यस विषयमा छलफल समेत गरेका छन् । कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले आयोजनाबारे जिज्ञाशा राखेका थिए । उनिहरुले सबैलाई उपयुक्त, सहज हुने र दिर्घकालिनरुपमा हुनेगरि सञ्चालनमा सहमती जनाएका थिए ।


खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत नेपाल सरकार र यसियाली विकास बैंकको संयुक्त आयोजनामा सञ्चालित तेस्रो साना सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाद्वारा मानव मलमुत्रिय फोहर व्यवस्थापनको लागि १० वटा नगर आयोजनाहरुमा सम्भाव्यता अध्ययन गरिएको थियो । सम्भाव्यता अध्ययन गरिएका १० वटा नगर आयोजनाहरुमध्ये विभिन्न आधारमा गैंडाकोट नगरपालिका विस्तृत अध्ययनका लागि छनोट भएको खानेपानी तथा ढल व्यवस्थापन विभाग, तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक विद्यानाथ भट्टराईले जानकारी दिनुभयो । सो आयोजनाका लागि मुकुन्दपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहजिकरण गरिरहेको संस्थाका अध्यक्ष शेषकान्त देवकोटाले जानकारी दिनुभयो ।
दुर्घन्ध नआउने गरि यो आयोजना सञ्चालन हुने डिजाईन परामर्श टोली नेता केशवराज विष्टले जानकारी दिनुभयो ।
परामर्श टोलीमा अर्थविज्ञ रामबाबु अधिकारी, वातावरण विज्ञ योगेश शाक्य, समाजविकास विज्ञ राजेन्द्रकुमार पण्डित, सिभिल ईन्जिनियर पंकज आचार्य, स्ट्रक्चर ईन्जिनियर प्रकाशराज सिवाकोटी रहनुभएको छ ।

Share.

Leave A Reply