नगरप्रमुख र उप-प्रमुखको आआफ्नो योजनाले गैँडाकोटमा प्राप्त हुने ५० लाखको टुगो लागेन

0

डोलराज रानाभाट, गैँडाकोट, ३ चैत्र । गैडाकोट नगरपालिकाका नगर प्रमुख र उप प्रमुखले आआफ्नो योजना पेश गरेपछि जिल्ला समन्व समिति नवलपुरबाट प्राप्त हुने ५० लाख बजेट को टुगो अझै लागेको छैन । नवलपरासी जिल्ला नटुक्रिदै तत्कालिन जिल्ला विकास समितिमा रहेको १२ करोड बजेट जिल्ला टुक्रिएपछि वाँडिएको थियो ।

उक्त वाँडिएको बजेटबाट गैडाकोट नगरपालिकालाई ५० लाख प्राप्त हुने भएपनि योजनामा सहमती नहुँदा समस्या भएको जिल्ला समन्वय समितिका कर्मचारीले बताउनुभएको छ । योजना सम्झौता गरेर काम गरेपछि मात्रै बजेट निकासा हुने भएपनि जिल्लाका ८ स्थानीय तहमध्ये गैडाकोटले मात्रै सम्झौता गर्न सकेको छैन ।

अरु सवै स्थानीय तहले योजना सम्झौता गरेर काम थालिसकेको भएपनि गैडाकोटमा नगर प्रमुखको छुट्टै र उप प्रमुखले छुट्टै योजना पेश गरेपछि विवाद सृजना भएको छ । दुवै जनाले आआफ्नो योजना पेश गरेपछि समन्वय प्रमुख चेसराम आलेले पुन छलफल गरेर सहमतिमा योजना पेश गर्न आग्रह गरिएको तर हाल सम्म पनि सम्झौता नभएको बताउनुभयो ।

यता नगरप्रमुख छत्रराज पौडेलले भने उपप्रमुखले कार्यक्षेत्र नाघेर योजना पेश गरेकोले आफूले दिएको योजना लागु हुनुपर्नेमा जोड दिनुभयो । आफूले जिल्ला समन्वय समिति प्रमुखलाई पत्र लेखेर पठाइसकेको बताउनुभएको छ । तर उप प्रमुख विष्णु कुमारी कडेँलले भने नगरप्रमुखले बजेट परिरहेकै योजनालाई फेरि बजेटका लागि योजना पेश गर्नुभएको तर आफूले हालसम्म बजेट नै नपरेको योजना लैजाऔँ भन्दा नमानेका कारण सम्झौता हुन ढिलाई भइरहेको बताउनुभयो । जिल्ला समन्वय समितिका कर्मचारीका अनुसार उक्त बजेट फ्रिज भने नहुने तर बजेट उपलब्ध हुँदा सहमतिको योजना सम्झौता गरेर कार्यान्वन गरे चाँडै विकास देखिने बताउनुभयो ।

Share.

Leave A Reply