नवलपुरका प्रमुख पर्यटकीय क्षेत्रहरू (महत्त्व सहित हेर्नुहोस् पुरा विवरण)

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा खास गरी पर्यावरणीय पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटन, शैक्षिक पर्यटन, साहसिक पर्यटन तथा होमस्टेका प्रशस्त स्थानहरू रहेका छन् ।

संघ, प्रदेश र स्थानीय तहबाट आआफ्नै तवरबाट पर्यटकीय स्थलको पहिचान र कार्यक्रम अघि बढेका छन् । यसबाहेक पर्यटकीय सम्भावना बोकेका केही गन्तव्य स्थलहरूसमेत रहेका छन् । जिल्लामा पर्यटकलाई भित्र्याउने केही यस्ता स्थलहरु छन् जसको प्रचार प्रसार हुन सके ती स्थलहरुका एकपटक पर्यटक अवश्य पुग्नेछन् ।

 

त्रिवेणी धाम


त्रिवेणी धाम जिल्लाको दक्षिण भाग विनयी त्रिवेणी गाउँपालिकामा पर्दछ । यो बर्दघाटबाट २५.५ कि.मी. तथा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सदरमुकाम परासीबाट ३४ कि.मि. दक्षिण–पूर्वमा अवस्थित छ । सोना, तमसा, सप्तगण्डकी नदीहरूको समिश्रण नै त्रिवेणी हो जुन भारतको प्रयाग जतिकै श्रद्धा र आस्थाको केन्द्रका रुपमा रहेको छ । राधाकृष्ण, हनुमान्, शिव–पार्वती, दुर्गा भवानी, गजग्राह, लक्ष्मीनारायण आदि सयौं मन्दिरहरू छन् । यहाँ माघे औँसीमा पवित्र नदीमा स्नान गर्न नेपाल तथा भारतवाट लाखौंको सङ्ख्यामा तीर्थयात्रीहरू आउने गर्दछन् । सो अवसरमा यहाँ ३ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
दाउन्ने देवी


विनयी त्रिवेणी गाउँपालिकामा पर्ने यो स्थानमा यातायातको सुगमताका कारण प्रसिद्ध र दर्शनीय रहेको छ । राणाकालिन प्रधानमन्त्री जंगबहादुरको सौजन्यवाट उक्त मूर्ति प्राप्त भई यहाँ स्थापना गरिएको मानिन्छ । मन्दिर रहेको स्थान समुद्र सतहदेखि १०३३ मिटर उचाइमा हुँदा प्रायः वर्षैभरि यहाँ ठन्डा रहन्छ । फाल्गुनदेखि आश्विनको मसान्तसम्म नै यहाँ वनभोज खान जानेको घुइँचो लाग्ने गर्दछ । १०३३ मिटर उचाइमा महेन्द्र राजमार्गको छेउमा, दाउन्ने पहाडको काखमा रहेको यो मन्दिर र देवीको प्रतिष्ठापन वि.सं. १८८० मा प्रभाकरले गरेको बताइन्छ ।
मौलाकालिका मन्दिर


गैँडाकोट नगरपालिकाको पूर्व–पश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्पm करिब ४ कि.मि. टाडा समुद्र सतहदेखि ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ । पन्ध्रौं शताब्दीको अन्त्य तथा सोह्रौं शताब्दीको सुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी, कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको भन्ने किंवदन्ती रहेको पाइन्छ । २०३२ सालमा काशीनाथ पौडेल र कुमानसिंह गुरुङबाट बनेको मन्दिरले क्रमशः व्यापकता र प्रसिद्धि पाउन थाल्यो । २०३७ सालमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट भन्ने औपचारिक नामकरण गरी एक समिति स्थापना भयो । यसको प्रमुख उद्देश्य वैधानिक परिपाटीभित्र रहेर हिन्दु नेपाली नागरिकहरूको मानसिक विकास र समय अवस्था सुहाउँदा धार्मिक कार्यहरू गर्दै सांकृतिक सार्वजनिक सम्पदाको संरक्षण एवं सदुपयोग गर्ने, पूजापाठ, जीर्णोद्धार, वातावरण संरक्षण, धार्मिक स्वच्छता कायम गर्न रहेअनुसार सो बमोजिम काम भएको छ । समितिको सक्रियता, जनसहयोग, सेना र मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरको सहयोगमा ३ तले प्यागोडा शैलीमा हालको मन्दिर तयार भएको हो । मन्दिरमा जाने मार्गको निर्माण गरिएको छ भने बाघखोरदेखि मन्दिरसम्म छपनी ढुङ्गाहरूबाट सिँढी मार्ग (ट्र्याक रोड) निर्माण गरिएको छ ।
शाश्वत धाम


नवलपरासीको देवचुलीमा रहेको धार्मिक पर्यटनको केन्द्रका रुपमा विकसित शाश्वत धामले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको छ । सिजी टेम्पलको नामले पनि परिचित चौधरी फाउन्डेसनले निर्माण गरेको यस मन्दिर २०७३ मा फागुनमा उद्घाटनपछि धार्मिक पर्यटकका लागि नयाँ गन्तव्य भएको छ । करिब सात बिघामा फैलिएको शाश्वत धाममा खजुराहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर प्रमुख आकर्षण हो । मन्दिरलाई चारैतिरबाट सरोवर (कुण्ड)ले घेरेको छ । धाम परिसरमा गुरुकुल विद्याश्रम, अखण्ड अग्निकुण्ड, हनुमान् मन्दिर, धार्मिक प्रदर्शनीस्थल, धार्मिक संग्रहालय, शक्तिघाट, धर्मशाला र यज्ञकुण्ड रहेका छन् । यसरी नै डिजिटल पुस्तकालय, गौशाला, अर्गानिक खेती, योग तथा ध्यान केन्द्र, भोजनालय र वैदिक सनातन हिन्दू धर्मसँग सम्बन्धित अन्य महŒवपूर्ण वस्तु पनि छन् । धाम परिसरभित्र हिन्दु मन्दिरका साथै बुद्धको मूर्ति र स्तुपा पनि रहेका छन् । मुख्य द्वारबाट प्रवेश गर्नासाथ आकर्षक शैलीमा बनेको दशद्वारले जोकोहीलाई प्रफुल्लित बनाउँछ ।
रुद्रपुर गढी


हुप्सेकोट गाउँपालिकामा रहेको बाइसी चौबिसी राज्यकालमा रुद्रसेन नामक राजाको बसोवास भएकाले यस गढीको नाम रुद्रपुर गढी रहन गएको हो । साबिकका धौबादी र जौबारी गाविसको सिमानामा पर्ने यस गढीमा अहिले पनि दरबारको भग्नावशेष देख्न सकिन्छ । बाह्रै महिना चिसो हावा बग्ने यस गढीबाट चारैतिर मनोरम प्राकृतिक दृश्यहरूले भरपुर आनन्द लिन सकिन्छ ।
कैलाश आश्रम


गैँडाकोट नगरपालिकामा अवस्थित कैलाश सन्न्यास आश्रम पूर्व–पश्चिम राजमार्गको बेल्डिहा चोकदेखि दक्षिण मनोरम नारायणी नदीको तट तथा विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको सम्मुखमा सिख्रौली ग्राममा अवस्थित छ । पौराणिक कथनअनुसार भगवान् विष्णुले त्रिवेणी धामका गजराजलाई ग्रहबाट मुक्त गराउन हतारमा वेगका साथ आउँदा विष्णुको शिरको मुकुट यस स्थानमा गिरेकाले यस स्थानको नाम शिरमौली रहन गएको र कालान्तरमा अपभ्रंस हुँदै जाँदा सिख्रौली भएको कथन छ । सिरमौली ग्रामको विषयमा हिन्दु धार्मिक ग्रन्थ हरिवंश पुराणमा समेत व्याख्या गरिएको पाइन्छ । धर्मानुरागीहरूको कथन अनुसार यहाँ कुदिएका मुर्तिहरू द्वापर युगका हुन् । पाँच पाण्डव वनवास जाँदा यस स्थानमा वास बसेको र यहाँका पाँच जनाले समेत उचाल्न नसक्ने ढुङ्गा भीमसेनले कुँदेर बोकेका हुन् भन्ने कथन छ तथापि कुनै ठोस प्रमाण भने प्राप्त छैन । यहाँको भग्नावशेष मन्दिर करिब वि.सं. ६५२ सालमा निर्माण भएको र करिब वि.सं. १३६२ मा मुसलमान र हिन्दु युद्धमा हिन्दुस्तानका मुसलमान बादशाह गया सुद्धिन अवलक तुलक भन्ने बादशाहले नेतृत्व गरेको फौजले भत्काएको भनी स्व. योगी नरहरीनाथको भनाइ रहेको स्थानीयवासीहरूमाझ सुनिए तापनि यसको समेत कुनै लिखित प्रमाण भने छैन । अर्कातर्फ इतिहासविद्हरूको कथनअनुसार पाल्पाली राजा मुकुन्दसेनको दरबार यसै स्थानमा थियो । यी ढुङ्गाहरू तिनै राजाको दरबार निर्माणमा प्रयोग भएका हुन् र भग्नावेशष भवनसमेत राजाको दरबार भएको भन्ने गरिन्छ । यस कुरालाई आधार मान्न सकिने सम्भावनामा बुटवलको फुलवारीमा रहेको मुकुन्दसेनको दरबारको भग्नावशेष र यहाँ रहेको भग्नावशेष समान हुनाका साथै यसै आश्रमको उत्तरतर्फ चुरे पहाडमा रहेको मणिमुकुन्द सेनको दरबारको भग्नावशेषसँग मिले तापनि यसको कुनै ठोस प्रमाण जुटाउने कार्य हुन सकेको छैन । अहिले पुरातŒव विभागले यसको उत्खनन गरिरहेको छ ।
लक्ष्मी नृसिंह दिव्यधाम


दिव्य नृसिंहधाम गैँडाकोट नगरपालिका गंगानगरमा अवस्थित एक धार्मिक स्थल हो । स्वामी सन्तनारायणीजीले वि.सं. २०३८ सालमा जमिन खरिद गरी २०४० सालमा मन्दिर, धर्मशाला र त्यसको प्राङ्गण विस्तार गर्नुभएको हो । नृसिंह भगवान्को कृपा सम्पूर्ण भक्तहरूमा हुने विश्वास यस क्षेत्रका जनतामा छ । यो स्थानमा व्यवस्थित रुपमा मन्दिर बनाउने, वरिपरि, धर्मशाला, अतिथिगृह आदि निर्माण गर्ने स्वामीजीको सोच र दाताहरूको दान तथा त्यस कार्यमा स्थानीय व्यक्तिहरूको सहयोगसमेतका कारण मन्दिर निर्माण गरिएको हो । अहिले मन्दिर, धर्मशाला र अतिथि निवास र काम गर्नेहरूका लागि आवाससमेत तयार भइसकेको छ । भगवान्का मुर्तिहरूको प्रतिष्ठापना, पाश्र्ववर्ती विभूतिहरूको मूर्ति स्थापनासमेत बडो कलात्मक ढंगले गरिएको छ । मन्दिर र त्यसको परिसर अति मनमोहक देखिएको छ । यहाँ भजनकीर्तन तथा धार्मिक पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दछ ।
देवचुली


देवचुली यस जिल्लामा पर्ने महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च चुली हो यसको उचाइ १९३६ मिटर रहेको छ । यहाँबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फ तराईका समथर मनोरम भूमि दृश्यालोकन गर्न सकिन्छ । यस चुलीको करिब १८०० मिटरको उचाइमा ३० मिटर लम्बाइ रहेको प्राकृतिक गुफा रहेको छ जसमा प्रवेशका लागि करिब ११ फिट लम्बाइको भ¥याङको मद्दत लिनु पर्दछ । यस गुफामा द्वापर युगमा पाँच पाण्डव द्रौपदी सहित केही सयम गुप्तवास बसेको किंवदन्तीसमेत रहेको पाइन्छ । यहाँ प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमाका दिन धुमधाम साथ तीनकन्या माईको नाममा पूजा गरिन्छ । तीनकन्या माईको भक्तिभाव पूर्वक पूजाआजा गर्नाले सुख सम्पत्ति प्राप्त हुने जनविश्वास रहेको छ । यस क्षेत्रमा विभिन्न वनस्पति, जिवजन्तु तथा चराचुरुङ्गी एवं लोपोन्मुख अवस्थामा रहेका जडीबुटीहरू पाइन्छन् ।
अकलादेवी डेडगाउ“


यस जिल्लाको बौदीकाली गाउँपालिकाको डेढगाउमा अकलादेवी भगवतिको मन्दिर अवस्थित छ । यो स्थान दलदले बजारदेखि करिब ४० कि.मी. उत्तरमा पर्दछ । पुरानो किंवदन्तीअनुसार उहिले नदीको किनारामा बस्ने दरै जातिहरू माछा मारेर, डुङ्ंगा तारेर, बाँसका सामग्रीहरू तयार गरेर जीविकोपाजर्न गर्थे । लामो समयसम्म पानी नपरेर आकुल व्याकुल हुँदा कालिगण्डकी नदीको तिरैतिर पानी माग्दै देवीको आराधना गरी भौँतारिएर यही ठाउँमा वास बस्न पुगेछन् । यसैको नजिक नुनजरो भन्ने ठाउँमा कुवा भएकाले खाना खाएर विश्राम गर्न हाल देवी रहेको स्थानमा गएछन् र राति एकजना दराईलाई सपनामा देवीले पानी पार्ने तर उक्त ठाउँमा ढुङ्ंगो (शिला) स्थापना गरी देवीको पूजाअर्जना गर्ने सर्त राखेको हुनाले सोही समयदेखि अकलादेवीको स्थापना गरी पूजाआजा गर्न थालिएको हो भन्ने गरिन्छ । देवीस्थानको नामले चिनिएको यो मन्दिरप्रति यस क्षेत्रका मानिसहरूको ज्यादै ठूलो जनविश्वास रहेको छ ।
कामधेनु स्थान (घुमाउरीघाट)


नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको उत्तर महाभारत पर्वत शृङ्खलाको काखमा बुलिङटार गाउँपालिकामा कामधेनु स्थान घुमाउरीघाट अवस्थित छ । यो स्थान दलदले बजारबाट करिब ३६ कि.मी. उत्तरमा पर्दछ । घुमाउरीघाटको भूबनावट प्राकृतिक हिसाबले ज्यादै आश्चर्यजनक र रमणीय रहेको छ । कृष्णगण्डकी नदीले घेरिएर बनेको यो भूभागमा करिब १५० एकड जमिनको यो भूदृश्य पर्यटकीय रमणीय स्थलका रुपमा विकास गर्न सकिन्छ । यस भूभागको दृश्य कुनै मानव निर्मित संरचना नभई प्रकृतिको अनुपम वरदान हो । यसको बनावटका सन्दर्भमा प्राचीन किंवदन्ती पनि छ । आदिम कालमा कालिगण्डकी नदीको उत्पत्तिको समयमा पश्चिमबाट नदी बग्दै आउँदा बाटोमा एउटा कामधेनु गाई भर्खर ब्याएर बाच्छोसहित बसेकी रहिछन् । नदी बग्ने बाटोमा परेकोले सो माउ बाच्छालाई बगाउन नसकी उक्त बाटो छोडी घुमेर पर पुगी हालको घुमाउरी घाटलाई घेरी गाई र बाच्छालाई जोगाउन र उनीहरूलाई चरनको निमित त्यो घुमाउरी जमिनको कम्पाउन्ड छोडेर गएकाले यो भूबनावट तयार भएको हो भन्ने पुरानो किंवदन्ती छ । बीचको गल्छी १५० मिटरभन्दा गहिरो छ । घुमाउरो प्रकृतिकै कारण यस ठाउँको नाम घुमाउरी घाट रहेको हो । यो घाटको प्राकृतिक बनावट हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आउन सक्ने सम्भावना रहेकाले एउटा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने देखिन्छ ।

Share.

Leave A Reply