घुस लिएको अभियोगमा पक्राउ   

0

काठमाडौँ, ३० फागुन (रासस) ः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुस लिएको अभियोगमा जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत विश्वनाथ कुर्मीलाई पक्राउ गरेको छ ।

करारमा कार्यरत कुर्मीले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु दुई लाख घुस मागिरहेकै अवस्थामा आयोगको बुटवल कार्यायलबाट गएको टोलीले पक्राउ गरेको हो । आयोगले कुर्मीलाई कपिलवस्तु नगरपालिका–१ महामाया गौढीचोकबाट बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले डिभिजन वन कार्यालय दोलखामा कार्यरत सव डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई स्रोत नखुलेको रु दुई लाख तीन हजार ५०० सहित पक्राउ गरेको छ । काठ व्यापार गर्ने व्यापारीसँग घुस लिइ सरकारी सवारी साधनमा दोलखाबाट काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो । श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो ।

यस्तै आयोगले सव डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर रामआशिष यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । घरायसी चिरान काठ लैजान सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको आरोप यादव माथि लागेको छ ।

यसैगरी आयोगले साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीका तत्कालीन इञ्जिनीयर श्रीकृष्ण खनाल र तत्कालीन सव इञ्जिनीयर प्रमोदकुमार उप्रेती विरुद्ध आज विशेष अदातमा मुद्दा दायर गरेको छ । धवलागिरि गाँउपालिका–३ मा रहेको सूर्य ज्योति आधारभूत विद्यालयको भवन निर्माणको क्रममा अनूचित तरिकाले उनीहरुले रु ७० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।

Share.

Leave A Reply