लघुवित्त संस्थाका सञ्चालक सङ्गठित – अध्यक्षमा जगत पोखरेल   

0

काठमाडौँ, ३० फागुन (रासस) ः
लघुवित्त संस्थाका सञ्चालक सङ्गठित भएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल लघुवित्त सङ्घ नेपाल गठन भएको जानकारी दिइयो ।

नवगठित संस्थाको अध्यक्षमा चौतारी लघुवित्त वित्तीय संस्थाका जगतबहादुर पोखरेल रहनुभएको छ । समितिको उपाध्यक्षद्वयमा ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी रहनुभएको छ । यस्तै, महासचिव जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा, सचिव सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्ष आँधिखोला लघुवित्तमा नरेश केसी रहनुभएको छ । यस्तै, बोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी सदस्य रहनुभएको छ ।

संस्थालाई लघुवित्त महासङ्घको रुपमा रुपान्तरण गर्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । हाल देशभर ९० वटा लघुवित्त संस्था सञ्चालनमा छन् । ती संस्थाले ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् । ती संस्थाको कूल तीन हजार ८६१ शाखा सञ्चालनमा छन् ।

कूल ४५ लाख ७९ हजार ८१५ जना सदस्य रहेको ती संस्थाहरुमार्फत २८ लाख पाँच हजार ८१५ जनाले ऋण लिएको जनाइएको छ । गत पुस मसान्तसम्म ९० वटा संस्थाको कूल पुँजीकोष रु ३२ अर्ब ५९ करोड, कूल कर्जा प्रवाह रु दुई खर्ब ५६ अर्ब ३१ करोड रहेको छ ।

Share.

Leave A Reply