कक्षामा वार्षिक परीक्षा ः चौरमा भोज   

0

  धनवीर महतो ,गौशाला, ३० फागुन  ।  विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो । कक्षामा वार्षिक परीक्षा भइरहँदा बाहिर विद्यालय परिसरमै बिहेको भोजको आयोजना गरिएको थियो । त्यो पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नेतृत्वमा ।

महोत्तरीको औरही नगरपालिकाका –८ स्थित सोनामाई आधारभूत विद्यालय टिम्कियाका कक्षा १ देखि ५ सम्मका विद्यार्थीले शुक्रबार दिउँसो कक्षाकोठाभित्र पहिलो दिनको परीक्षा दिइरहेको समयमा बाहिर विद्यालयको चौरमा बिहेको भोजको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम यादवले आफ्नो छोराको बिहे भोज गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको स्थानीय रामआश्रय यादवले बताउनुभयो ।

“विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई निजीकरण गरेको जस्तो देखिएको छ, यसमा सुधारको खाँचो छ”, उहाँले भन्नुभयो, “वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएकाले विद्यालयमा भोजभात गरेको हुनसक्छ तर वार्षिक परीक्षा सञ्चालन भइरहेको समयमा विद्यालय परिसरमै भोज भतेर गर्नु उपयुक्त होइन् ।”

स्थानीय युवा धर्वेन्द्रकुमार यादवले आफूले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफूमाथि चर्को दबाब दिएको उल्लेख गर्दैसमाजमा गलत कामको विरोध आफू विभिन्न प्रकार दबाब झेल्नुपरेको बताउनुभयो ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समितिका संयोजक धनबहादुर राईले यससम्बन्धी जानकारी भएपछि तत्कालै भोजभतेर बन्द गर्न लगाएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापक सरिताकुमारी यादवलाई विद्यालय सञ्चालन भइरहेको बेलामा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको पनि बताउनुभयो ।

“यस सम्बन्धमा जानकारी आउने बित्तिकै सो विद्यालयका प्रधानाध्यापक यादवसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको छु”, उहाँले भन्नुभयो, “आइतबारसम्म चित्तबुझ्दो जवाफ नआए प्रधानाध्यापक यादवमाथि कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।”

जिल्ला समन्वय एकाइ कार्यालय महोत्तरीका प्रमुख शत्रुध्नप्रसाद यादवले विद्यालयभित्र परीक्षा सञ्चालन भइरहेको समयमा बाहिर भोजभतेर गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताउनुभयो । समुदायको सम्पत्ति भएकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि स्थानीयवासीले नै उचित भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । विद्यालयले के कस्तो र कुन रुपमा अनुमति दिएको हो, यस सम्बन्धमा आफूले बुझ्ने प्रयासमा रहेको प्रमुख यादवको भनाइ छ ।

सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि चैत ५ गतेभित्र परीक्षा सक्न दिएको निर्देशनानुसार महोत्तरीमा आजबाट विद्यालयस्तरीय वार्षिक परीक्षा शुरु भएको हो । – रासस

Share.

Leave A Reply