विवाहमा रंगशाला निर्माणका लागि सहयोग

0


प्रेम क्षेत्री
फागुन २९, गैंडाकोट । गैंडाकोट १ प्रतिभाटोल निवासी, संविधान सभा सदस्य गुनाखर बस्यालले छोराको विवाहको अवसरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्नुभएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई एक लाख एक हजार १ सय ११ रुपैयाँका चेक हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र्धुमुसले यो अभियानमा सबैका सहयोगको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी कमिटि सदस्य एवम् प्रतिनिधी सभाका प्रमुख सचेतक देव गुरुङले सामाजिक सेवामा सबै लाग्नुपर्ने बताउँदै सो कार्य र रंगशाला निर्माण कार्यको प्रशंसा गर्नुभएको थियो । साथै उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबै जुटे सार्थकता पाउने बताउनुभयो । कार्यक्रमका अध्यक्षता गर्नुभएका संविधान सभा सदस्य गुनाखर बस्यालले भोज भतेरमा हुने खर्च र गहनामा हुने खर्च रोकेर सामाजिक हितका लागि सहयोग गरेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य कल्पना धमलाले सामाजिक सद्भावका लागि सबै एक हुनुपर्ने बताउनुभयो ।
गैंडाकोट १ प्रतिभाटोल निवासी, संविधान सभा सदस्य गुनाखर बस्याल र खिमाकुमारी बस्यालका छोरा प्रकाश बस्याल र गैंडाकोट ८ विजयटोल निवासी खेमराज देवकोटा तथा बसुन्धरा देवकोटाकी छोरी आईसा देवकोटाको शुभविवाहका अवसरमा सो रकम हस्तान्तरण गरिएको हो ।


नारायणी रिसोर्टमा भएको सा कार्यक्रममा बस्याल परिवारले सहिद स्मृति प्रतिष्ठान नवलपुरलाई ५० हजार १ सय १ र सहिद स्मृति प्रतिष्ठान पर्वतलाई ५० हजार १ सय १ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई बस्यालका छोरीज्वाई पुष्पा र कपिल शर्माले ५ हजार ५० रुपैयाँ, छोरीज्वाई प्रतिक्षा र सन्तोष सापकोटाले १० हजार १० रुपैयाँ, त्यसैगरि हिरा र रुक्मांगत सापकोटाले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुली, किसान गैरे, प्रदेश सचिवालय सदस्य धनप्रसाद सापकोटा, ऋषिराम भुषाल, कृष्णप्रसाद भट्टराई लगायत जिल्ला तथा नगर स्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply