चोरीको घटनामा गृहमन्त्री गुहार्दै, हामी चुकेका छैनौं – प्रहरी

0


प्रेम क्षेत्री
गैंडाकोट, फागुन २८ । गैंडाकोट ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा भएको चोरीको घटनामा छानविन गरि चोर पत्ता लगाउन व्यवसायीहरुले दवाव दिन गृहमन्त्रीलाई भेट्ने भएका छन् । घटना घटेको १० दिन वितिसक्दा समेत प्रहरीको अनुसन्धान फितलो भएको भन्दै उनिहरुले दवावका लागि गृहमन्त्रीलाई भेट गर्ने बताएका हुन् । घटनाबारे नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष सहितको टोलीले बुधबार घटनाको स्थलगत अवलोकन समेत गरेको छ ।
स्थलगत अवलोकन पछि गैंडाकोट ५ मा संघको कार्यालयमा भएको व्यवसायीसँगको छलफलमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष रमेश मर्हजनले घटनाका विषयमा वस्तुगत विवरण संकलन गरिसकेपछि दवावका लागि गृह मन्त्रालय पुग्ने बताउनुभायो । उहाँले यति धेरै प्रमाणहरु फेला पार्दा पनि प्रहरीले चोर पक्रन नसक्नुमा प्रहरीको नियतमाथी नै प्रश्न उब्जिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत जानकारी गराउँदा पनि प्रशासनको उपस्थिती नहुनु दुःखद् रहेको उहाँको भनाई छ । अब हरेक निकायमा पुगी चोर पत्ता लगाउन दवाव सिर्जना गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले गृहमन्त्रीका स्वकिय सचिवसँग यस विषयमा कुराकानी भईसकेको बताउँदै अब मन्त्रीलाई भेट्ने बताउनुभयो । उहाँले संघीय सांसद, प्रदेश तथा स्थानीय तहका नेताको मौनताले आश्चर्य चकित भएको बताउँदै यसले चोरीलाई प्रश्रय दिईरहेको भन्ने बुझीने बताउनुभयो । उहाँले स्थानीय व्यवसायीले आन्दोलन गरे केन्द्रीय महासंघले साथ दिने बताउनुभयो । प्रहरीको नियतमाथी प्रश्न गर्दै उहाँले घटनाको अनुसन्धानमा प्रहरी गहन नभएको पुष्टि हुने बताउनुभयो ।
व्यवसायीलाई सान्त्वना प्रदान गर्न आएको केन्द्र, प्रदेश र विभिन्न जिल्लाका प्रतिनिधीहरुले प्रहरीको अनुसन्धान फितलो रहेको आरोप लगाएका थिए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाईलीले सांगठनिक रुपमा बलियो बन्नुपर्ने बताउँदै दवावका लागि महासंघले नेतृत्व लिनुपर्ने बताउनुभयो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रथम उपाध्यक्ष रुद्रबहादुर बराईलीले सबै मिलेर यसको खोजी गर्नुपर्ने बताउँदै भोलीका दिनमा हुनसक्ने चोरीप्रति सबै सचेत बन्नुपर्ने बताउनुभयो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका सल्लाहकार वद्रीप्रसाद कोईरालाले व्यवसायी शसक्तरुपमा लाग्नुपर्ने बताउनुभयो । प्रहरीको निगरानी कम हुनु र केन्द्रबाट दवाव सिर्जना गर्न नसक्दा चोर उम्कने वातावरण बनेको उहाँको भनाई थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कार्य समिति सदस्य सोमबहादुर विश्वकर्माले यसअघि आफ्नो पसलमा चोरी हुँदा प्रहरीको उपस्थिती पनि त्यस्तै फितलो भएको उल्लेख गर्दै प्रहरीलाई दवाव दिँदै व्यवसायी नै खोजीमा जुट्नुपने बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसासी संघ गैंडाकोटका अध्यक्ष वुद्धिबहादुर विश्वकर्मा लक्ष्मणले आफुहरु निरन्तर लागिपरेको जनाउँदै यसको नेतृत्व लिईदिन केन्द्र महासंघलाई आग्रह गर्नुभयो । साथै उहाँले घटनाबारे पत्ता नलगाए आन्दोलन गर्न संघ पछि नहट्ने चेतावनी दिनुभएको छ ।
सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी संघका प्रदेश ५ सदस्य राजकुमार विश्वकर्मा, मकवानपुरका अध्यक्ष केशव रसाईली, चितवनका अध्यक्ष पे्रम खाँती, तनहुँका अध्यक्ष अमृत शदाशंकर लगायत विभिन्न जिल्लाका प्रतिनिधी एवम् गैंडाकोटका सुनचाँदी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
गत फागुन १८ गते उमेश गहतराजले सञ्चालन गरेको पसलबाट चोरिएको लकर गंैडाकोट ५ टोलटोले स्थित नारायणी नदि किनारमा फोरेर सामान लगिसकेको अवस्थामा फेला परेको थियो । चोरीको घटनामा अनुसन्धान गर्न पोखराबाट कुकुर सहित आएको प्रहरीको टोली असफल बनेको छ । चोरी भएकै दिन टोलटोलेमा लकर चोर्न प्रयोग गरेको ठेला फेला परेको थियो ।
यता ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले भने अनुसन्धान गरिरहेको बताउनुभएको छ । घटनाका विषयमा हालसम्म ५० देखी ५५ जनासम्म सोधपुछ गरिसकेको उहाँको भनाई छ । उहाँले आवश्यक प्रविधीको सहायता लिई अनुसन्धान चलिरहेको बताउनुभयो । अपराध अनुसन्धान माहाशाखादेखी प्रहरी हेर्डक्वाटरमा फरेन्सीक साईबर लगायतका माध्यमबाट अनुसन्धान भईरहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो –“न्याय दिलाउनु हाम्रो पेशागत र्धम हो, त्यसमा हामी चुकेका छैनौं ।”

Share.

Leave A Reply