मौलाकालिका मन्दिरको ४० औँ वार्षिक साधारण सभा सम्पन्न, मन्दिरको मौलिकता कायम राख्न आग्रह

0

डोलराज रानाभाट, २५ फागुन । देवघाट धामका पीठाधीस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले विश्वमै ख्याती कमाउदै गइरहेको गैडाकोट १ मा अवस्थि मौलाकालिका मन्दिरको मौलिकतालाई बाचाई राख्न आग्रह गर्नुभएको छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको आज सम्पन्न ४० औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहनुभएका पिठाधीस महाराजले पछिल्लो विकास र शहरीकरणले मन्दिर एक वनभोज स्थल वन्छ की भन्ने चिन्तालाई अहिलेको समितिले दुर गरेको तर भविष्यमा हुने विभिन्न कार्यले मन्दिरको मौलिकता र शुन्दरतामा आँच आउन सक्ने भन्दै सचेन रहन आग्रह गर्नुभयो । २०६० साल असोज १० देखि वलि प्रथाको अन्त्य भएकाले मौलाकालिका भगवती मन्दिरको महिमा विश्वभर प्रख्यात हुँदै गएको उहाँले बताउनुभयो ।

अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गण्डकी प्रदेश सभासद कृष्ण चन्द्र नेपालीले गैडाकोटको समृद्धिमा मन्दिरले पुर्याएको भूमिकाको कदर गर्दै त्रिवेणी आउने धार्मिक पर्यटकलाई मन्दिरसम्म आउने वातावरण वनाउन आग्रह गर्नुभयो । त्यसका लागि गर्नुपर्ने पूर्वाधार विकासमा आफूले प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाकी उप प्रमुख विष्णु कुमारी कडेँलले मन्दिरले अनुशासन र इमान्दारीता सिकाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।


कार्यक्रममा सचिव सुरेन्द्रप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सह कोषाध्यक्ष सुवनप्रसाद ढकालले आर्थिक प्रतिवेदन पेश गर्दै गत आर्थिक वर्ष मन्दिरमा १ करोड ८८ लाख ८ हजार ३ सय ४८ रुपैया आम्दानी गरेर १ करोड ५६ लाख १४ हजार ५ सय ५२ रुपैया खर्च भएको बताउनुभयो । मन्दिरमा स्थापनमा भएको अक्षय कोषमा १ करोड ८२ लाख ३६ हजार ९४ रुपैया जम्मा भएको छ । कार्यक्रममा संयोजक गणेश शर्मा पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन र संयोजक तथा गैडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले अनुगमन तथा मूल्याङ्कन उप समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा गैडाकोट १ का मेघबहादुर कुमाललाई अभिनन्दन, गैडाकोट ४ का इश्वरीनाथ रिमाललाई सम्मान पत्र प्रदान सहित दोसल्ला ओढाइएको थियो । कार्यक्रममा १० जनालाई कदर पत्र, ७ जनालाई प्रसंसा पत्र सहित दोसल्ला ओढाइएको थियो । त्यस्तै आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

उत्कृष्ट पुजारीलाइ नगद सहित सम्मान गरिएको कार्यक्रममा पूर्व डिआइजी एवम् मन्दिरका प्रमुख सल्लाहारकार ज्ञानेन्द्र विक्रम महत,इश्वरीनाथ रिमाल,सीता न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्दिरका उपाध्यक्ष खगेन्द्र कडेँल खगराजले स्वागत गर्नुभएको कार्यक्रमको सचिव सुरेन्द्रप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply