गैंडाकोटमा पल्र्स विश्लेषण सिकाईदैं, के हो पल्र्स विश्लेषण ?

0


प्रेम क्षेत्री
गैंडाकोट, फागुन २२ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सहकारीलाई उत्पादनशिल बनाउन आग्रह गर्नुभएको छ । सहकारीका कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने मुख्य दायित्व व्यवस्थापकको रहेको बताउँदै उहाँले सहकारीलाई उत्पादनमुखी बनाउन आग्रह गर्नुभएको हो ।

गैंडाकोट नगरपालिकाको आयोजनामा नगरपालिकाका कर्मचारी तथा सहकारी संस्थाका व्यवस्थापकहरुका लागि सहकारी लेखापालन तथा पल्र्स विश्लेषण सम्बन्धी तीनदिने तालिमको उद्घाटन कार्यक्रममा उहाँले सहकारीहरु धेरै भएको र अब बचत मात्र नभई एक सहकारी एक उत्पादन देखाउन जरुरी रहेको बताउनुभयो । राष्ट्र निर्माणका लागि एक सहकारी एक उद्यमशिलताका साथ अघि वढ्नुपर्ने आवश्यकता रहेको नगर प्रमुख पौडेलको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले सहकारीका माध्यमबाट महत्वपूर्ण काम भएको बताउँदै विकास निर्माणमा सहकारीको भुमिका अहम् रहेको बताउनुभयो । सहकारीसँगको सहकार्यबाट नै गैंडाकोट नगरपालिका अगाडी वढ्न सक्ने उहाँको भनाई थियो । सहकारीहरु प्रतिस्पर्धात्मक रुपमा अघि वढिरहेको जनाउँदै उहाँले आर्थिक पारदर्शिता र सहकारीको लेखा व्यवस्थित गराउनतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत गर्दै गैंडाकोट नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सिताकुमारी लामिछाने पौडेलले सहकारीमा हिसाबकिताब दुरुस्त राख्न सके कुनै समस्या नहुने बताउँदै तालिममा सिकेका कुरा व्यबहारत कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।
तालिममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका प्रमुख प्रशिक्षक सागर खनालले पल्र्स विश्लेषण सम्बन्धी र प्रशिक्षक अधिकृत भुपेन्द्र विनायक थापाले लेखापालन सम्बन्धी तालिम प्रदान गर्नुहुने गैंडाकोट नगरपालिकाका सहकारी शाखाका प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो । सहमती संस्थामा शुरु भएको तालिमा २४ गतेसम्म सञ्चालन हुने छ । तालिममा गैंडाकोट नगर क्षेत्रका करिब ३ दर्जन सहकारीका व्यवस्थापक तथा लेखापाल लगायतको उपस्थिती रहेको छ ।
के हो पल्र्स ?
यो एक वित्तीय अनुपात वा सूचांकहरूको समूह हो जसले विभिन्न वित्तीय संस्थाहरूबीच विशिष्टीकरण वा तुलना गर्न मद्दत गर्दछ । पल्र्स एउटा वित्तीय क्षमता सुपरीवेक्षण गर्ने पद्दति हो जुन बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको व्यवस्थापनलाई मार्ग निर्देशन गर्न विकास गरिएको हो । पल्र्स अनुगमन प्रणालीलाई एक सुपरीवेक्षक औजारको रूपमा लिन सकिन्छ जसको सहायताद्वारा सहकारीहरूको तह निर्धारण गर्न र तुलना गर्न सकिन्छ । यसको मद्दतबाट दुई भिन्न प्रकृतिका सहकारी संस्थाहरूको तुलना गर्न सकिन्छ ।
सुरक्षणसँग सम्बन्धित सूचकहरू, प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर, प्रतिफल र खर्चको दर, तरलता, वृद्धिका संकेतका सूचकहरू पहिल्याउन यसले सहयोग मिल्ने छ ।
पल्र्स अनुगमन प्रणालीका विश्वव्यापी रूपमा ४६ वटा स्थापित सूचकहरू रहेका छन् जसको मद्दतले वित्तीय संस्थाका विभिन्न आर्थिक अवस्थाबारे जानकारी लिन सकिन्छ । समग्रमा भन्नुपर्दा पल्र्स एक गतिशील अनुगमन प्रणाली हो जुन निरन्तर रूपमा विश्व ऋण परिषद्द्वारा अद्यावधिक गरिदैं आएको छ, जसले सहकारीको आजको मात्र नभइ भोलिको समेत आवश्यकता पूरा गर्न मद्दत गर्दछ । पल्र्सका विश्वव्यापी ४६ वटा स्थापित सूचकहरूमध्ये नेपालमा धेरै प्रयोगमा आउने १५ देखि २२ वटा सूचकहरू रहेका छन् । जसले सहकारी संस्थाको समग्र वित्तीयस्थितिलाई एकै स्थानमा लक्ष्य र नतिजासहित देखाउने हुनाले यो आजको समयमा अत्यन्त प्रभावकारी मानिएको छ ।

Share.

Leave A Reply