देवघाटमा दोस्रो घण्टाचुली पर्यटन महोत्सव हुँदै

0

प्रेम क्षेत्री
फागुन २० । देवघाट क्षेत्रभित्र रहेका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार, मौलिक सांस्कृतिक संरक्षण र अर्गानिक कृषि प्रवर्धन गर्ने उद्देश्यले दोस्रो घण्टाचुली पर्यटन महोत्सवको आयोजना गरेको छ । घण्टाचुली पर्यटन क्षेत्र विकास संस्थाको आयोजनामा यहि फागुन २३ गतेदेखि २७ गतेसम्म ५ दिन दोस्रो घण्टाचुली पर्यटन महोत्सवको आयोजना गरिएको मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरि आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सवका संयोजक खड्क पामि आलेले जानकारी दिनुभयो । देवघाट गाउँपालिकाको वडा नम्बर १ र २ को संगमस्थल घण्टाचुलीमा महोत्सव हुन लागेको हो ।
देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुन्द्र सतहदेखि एक हजार ६३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको यस ठाउँमा राजदरबार, राजगद्दी, चौकीका भग्नावशेष रहेको छ । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजंगलमा अवस्थित यस ठाउँमा लालीगुराँस ढकमक्क फूलेको देख्न सकिन्छ । यस ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने आलेले बताउनुभयो । उहाँका अनुसार यस ठाउँबाट हिमशृंखलाका मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ । यस स्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले डिपिआर तयार गरि अघि वढेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।
५ दिनसम्म चल्ने महोत्सवमा ३५ वटा स्टल रहने छन् । निशुल्क स्टलको व्यवस्था गरिएको छ । १० लाख खर्चको अनुमान गरिएको महोत्सवमा १ लाख दर्शक पुग्ने अनुमान गरिएको छ । चितवनको गाईघाट देखी १८ कि.मि उत्तर तनहुँतर्फ सो स्थल रहेको छ ।
तनहुँको देवघाट गाउँपालिका–२ स्थित पर्यटकीयस्थल घण्टाचुलीको प्रवद्र्धनका लागि दौड प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । फागुन २३ गते कोटबैदी पालुराजा मन्दिरदेखि छिपछिपे दर्शन भञ्ज्याङसम्म ६.५ किमी दूरीको दौड प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक एवं घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्क आलेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावककलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।

Share.

Leave A Reply