भरतपुर महोत्सवमा दोहोरी प्रतियोगिता सुरु

0

१८ फागुन । भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका आठ वटा समूहले भाग लिएका छन् । प्रतियोगिताको पहिलो दिन दिनबाट चार वटा समूह सेमीफाईनलमा प्रवेश गरेका भरतपुर महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिनुभयो ।


त्यस्तै आइतबार नै साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विकले आफ्ना प्रस्तुति राखेका पौडेलले बताउनुभयो । सोमबारको साँस्कृतिक कार्यक्रममा शान्तिश्री परियारले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा मंगलबारदेखि रत्यौली गीत प्रतियोगिता, बाल नृत्य प्रतियोगिता हुनुका साथै चर्चित ¥यापर भिटेन सहित विभिन्न कलाकारहरुले प्रस्तुति राख्ने बताइएको छ । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ ले कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक उत्पादनलाई प्रवद्र्धन गरेको पौडेलले जानकारी दिनुभयो । महोत्सवको आकर्षणको रुपमा बीस हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको साँस्कृतिक घर सहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको पौडेलको भनाइ छ ।

सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिएको मूल संयोजक पौडेलले बताउनुभयो । महोत्सवमा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलहरु समेत २५० भन्दा बढी स्टल रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिनुभयो । महोत्सवको आम्दानीबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ ।

Share.

Leave A Reply