भृकुटीको जग्गा प्लटिङ गरी विक्रि गर्न खोज्दा रोक्न सकियोः कोमल वली

0

डोलराज रानाभाट,गैडाकोट, १३ फागुन । राष्ट्रिय सभा सदस्य कोमल वलीले आफ्नै पहलमा नवलपुरको गैडाकोटमा रहेको भृकुटी कागज कारखानाको जग्गा प्लटिङ हुनबाट रोकिएको बताउनुभएको छ । उद्योगपतिले जग्गा प्लटिङ गरी विक्रि गर्ने तयारी गरेको बेला उद्योग मन्त्री लेखराज भट्टले स्थलगत निरीक्षण गरेको र त्यस पश्चात उक्त कार्य रोकिएको वलीले बताउनुभयो । विजय एफएमसँगको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै वलीले देशमा रहेका ठूला उद्योगहरु स्थापना र वन्द रहेका सचालन नहुँदासम्म राष्ट्र समृद्ध नहुने भन्दै आफूले वारम्वार राष्ट्रिय सभा मार्फत सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

बैठक वाहेक पनि आफू उद्योग मन्त्रालयमा गएर पटक पटक उद्योग संचालन र स्थापनमा के प्रगति भइरहेको छ भन्ने वुझ्ने र चासो राख्ने गरेको बताउनुभएको हो । आफू घर गइरहदा खण्डहर उद्योग देखेपछि भृकुटी कागज कारखानको मुद्दा संसदमा उठाएको भन्दै सरकारले वर्षेनी लाखौँ युवालाई रोजगारी दिने बताएपनि भनाइलाई व्यवहारिकतामा बदल्न कुनै योजना नल्याएको भन्दै दुख व्यक्त गर्नुभयो । भृकुटी कागज संचालनको माग गर्दै राष्ट्रिय सभामा आवाज उठाउने राष्ट्रिय सभा सदस्य कोमल वलीले लाखौँलाई रोजगार दिने सरकारको भनाई र गराइमा भिन्नता रहेको बताउनुभयो ।

रोजगार दिन उद्योगधन्दा स्थापना र संचालन गर्नुपर्नेमा त्यसो नभएको भन्दै आफूले निरन्रत आवाज उठाइरहेको जानकारी दिनुभयो । उद्योगमन्त्री लेखराज भट्टसँग आफूले भेटेरै भृकुटी कागजकाराखाना वारे अवगत गराएपछि मन्त्रीले स्थलगत अवलोकन गरेको बताउनुभयो। प्लटिङ गरेर विक्रि गर्न लागिएको जग्गा स्थगित गरेको बताउँदै थप संचालन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको भन्ने जानकारी पाएको वलीको भनाई छ ।

देशमा कागजको मागको ६० प्रतिशत धानिरहेको उद्योगलाई निजीकरण गरेपछि २०६७ साल फागुन १९ गतेदेखि व्यवस्थापन पक्षले सूचना टाँस गरी उद्योग वन्द गरिएको जनाएको थियो । त्यस मितिदेखि आजसम्म उद्योग खुलेको छैन । न त त्यहाँ कार्यरत स्थायी कर्मचारीले नै तलव पाएका छन् । पटक पटकको सहमति कार्यान्वयन नगर्दा अहिले सम्म समस्या जस्ताको त्यस्तै छ । अहिले भवन, मेशिन सवै जिर्ण छन् ।

चीन सरकारले विस २०३९ सालमा निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर विस २०४९ सालमा गोल्छा अर्गनाइजेसन सहितको निजी क्षेत्रलाई १२ करोडमा विक्रि गरेपछि यसको दशा सुरु भएको थियो । दैनिक ८ टन कागज उत्पादन भइरहने उद्योग वन्द गरेपछि हजारौँ ले रोजगार गुमाए भने काम गर्नेले पाउनेपर्ने तलव समेत पाएका छैनन् ।


यसैविच सरकारले भूमि सम्बन्धी ऐन २०२१ मा संशोधन गरेको छ । २८ माघमा प्रमाणीकरण भई कार्यान्वयनमा आएको भूमि सम्बन्धी ऐन २०२१ को आठौं संशोधनले अब उद्योगहरुलाई जग्गा बेच्न पाउने अधिकार दिएको छ । नेपालमा उद्योगहरुका लागि पहिलो पटक यस्तो सुविधा दिएको हो ।

संशोधित ऐनले उद्योगहरुलाई हदबन्दी भन्दा बढी जग्गा ओगटेमा समेत निश्चित दस्तुर तिरेर निरन्तर उपयोग गर्न पाउने सुविधा दिएको छ । यद्यपी जग्गा विक्रि गर्न मन्त्रीपरिषदको अनुमति भने लिनुपर्ने छ ।

देशमा वन्द अवस्थाका ठूला उद्योगहरु संचालनमा सरकार उदासीन छ । जसमा भृकुटी कागज कारखाना सहित अन्य धेरै छन् । अहिले विराटनगर जुट मिल्सको जग्गा विक्रि गर्ने निर्णय भइसकेको छ भने सरकारले आठौँ संशोधन गरेर उद्योगले जग्गा विक्रि गर्न सक्ने कानुन बनाइ कार्यान्वयनमा ल्याइएको छ । किन सरकार उद्योग धन्दा खुलाउन चासो दिँदैन त ? कुराकानी गर्दै भृकुटी कागज कारखानाको विषय संसदमा उठान गर्ने राष्ट्रिय सभा सदस्य कोमल वली

Posted by 101.6 Vijaya FM on Monday, 24 February 2020

Share.

Leave A Reply