लघुवित्तमा ठुलो समस्या नरहेको लघुवित्त बैंकर्स संघको दावी

0


प्रेम क्षेत्री
फागुन ८, नारायणगढ । लघुवित्त संस्थाहरुले मुलुकका करिब ४५ लाख जनसमुदायलाई समूहमा आवद्ध गराई करिब २८ लाख सदस्यलाई कर्जा प्रवाह गरि उनीहरुको जीवनस्तर उकास्न मद्दत पु¥याएको नेपाल लघुवित्त बैंकर्स संघले दावी गरेको छ । नेपाल लघुवित्त बैंकर्स संघले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष वसन्तराज लम्सालले नेपालको गरिबी न्युनिकरणमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । कर्जामा केही दोहोरोपनाको समस्या रहेपनि केही सञ्चारमाध्यममा आएजस्तो ठुलो समस्या नरहेको उहाँको दावी छ । १८ हजार ८ सय ८५ कर्मचारी कार्यरत रहेको जनाउँदै उहाँले ऋणी सदस्यहरुलाई छिटपुट रुपमा केही अभद्र व्यवहार भएको भए त्यस्तो क्रियाकलापमा संलग्नहरुलाई कारवाही गर्न निर्देशन दिनुभयो ।
देशभर ९० वटा लघुवित्त संस्था रहेका छन् । ७७ वटै जिल्लामा ३ हजार ८ सय ६१ शाखामार्फत २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको संघका अध्यक्ष लम्सालले बताउनुभयो । उहाँका अनुसार ९८ अर्ब ७५ करोड बचत रहेको छ ।
ग्राहकहरुलाई व्यवसायिक बनाउने तर्फ वित्तीय साक्षरता र ब्यवसायीक तालिममा विशेष जोड दिएको उहाँले बताउनुभयो । सङ्ख्यात्मक रुपमा लघुवित्त वित्तीय संस्थाहरु वढि हुनु, कर्जाको श्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महंगो र अस्थिर लगायतका चुनौती यस क्षेत्रमा रहेको उहाँले बताउनुभयो ।
लघुवित्त संस्थाले ग्राहकलाई पीडा नदिएको संघका महासचिव रामबहादुर यादवले बताउनुभयो । लघुवित्त संस्थाहरुले कर्जामा अधिकतम ब्याज १८ प्रतिशत सम्ममा लगानी गरेको उहाँको भनाई छ । नेपाल राष्ट्र बैंकले तोकेको ब्याज स्प्रेड दर ९ प्रतिशत भन्दा पनि कम हुने गरी हाल औषत ७ प्रतिशत सम्मको ब्याज स्प्रेड दरमा कार्य गर्दै आएको बताउनुभयो ।
संघका उपाध्यक्ष भेषराज पन्थीले लघुवित्त संस्था बाहेकको बाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीले समेत प्रत्यक्ष रुपमा विपन्न वर्गमा कर्जा लगानी गरिरहेकाले यसबाट पनि दोहोरो लगानी र कर्जा कोष संकुचन भएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुको पहुँच नपुगेको स्थानहरुमा शाखा विस्तार गरि लघुवित्तले वित्तीय साक्षरता र वित्तीय पहुँचमा महत्वपूर्ण योगदान पु¥याएको संघको दावी छ ।

Share.

Leave A Reply