धुरीमा पोखरी, सिंचाइका लागि श्रमदान गर्दै डोडेबासी

0


माया कंडेल
गैंडाकोट । पूर्वी उत्तरतर्फ लहरै फर्किएका घर । पश्चिममा अग्लो धुरी (पहाडको चुचुरो) । यो गैंडाकोट नगरपालिकाको सबैभन्दा अग्लो स्थान हो । गैंडाकोट १८ डोडे जहाँ १७ घरधुरीको बसोवास छ । आपूmले जान्दादेखि नै उनीहरूको थातथलो यही हो । बारीका कान्लामा जे फल्छ, त्यहीबाट उनीहरूले गुजारा चलाउँदै आए तर वर्षौंपछि उनीहरू अहिले व्यावसायिकरूपमा खेतीगर्ने योजनाका साथ वर्षायामको आकाश र भलको पानी जम्मा गरेर हिउँदमा सिंचाइ गर्ने गरी पोखरी निर्माणमा जुटेका छन् । गाउँभन्दा माथि उनीहरूले पहाडको चुचुरोमा पोखरी निर्माण गर्न लागेका हुन् ।
गाउँमा काम गर्ने उमेरका युवा छैनन् । गाउँमा भएका स्थानीयले बिस्तारै यसलाई गर्दै गइरहेका छन् । पहिले उनीहरूले डोजर लगाए । नमिलेका स्थानमा गाउँकाकेटाकेटी, महिला, वृद्धवृद्धा र युवा सबै जुटे । बेल्चा, गैंची, कोदालो र डोकोलगायतका सामग्री लिएर स्थानीय कस्सिएका हुन् ।
गैंडाकोट ११ का वडासदस्य गुप्तप्रसाद रेग्मीले गैंडाकोट १८ को डोडे सोही स्थानमा खनेको सानो पोखरीमा वर्षायाममा जम्मा गरेको पानीले हिउँदमा सिंचाइ गरेको देखेपछि उहाँको सिकाइलाई स्थानीयले अवलम्बन गरेका हुन् ।
गाउँमा सुन्तला, कागतीलगायत अन्य खेतीपाती गरेपनि व्यावसायिक गाउँकारूपमा हुन सकेको थिएन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अहिले सुन्तला जोनको घोषणा गरी उनीहरु व्यावसायिक रूपमा गर्न जुटेका छन् । २ वर्षअघिदेखि सुन्तला लगाएका उनीहरू सिंचाइको आवश्यक परेपछि यही मंसिरदेखि यसको थालनी गरेका हुन् ।कहिलेसम्म र कतिलाई पुग्छ भन्ने थाहा नभए पनि स्थानीय सिंचाइका लागि केही हदसम्म सिंचाइ हुने कुरामा ढुक्क छन् । स्थानीय विष्णुबहादुर गन्द्रमा मगरले भन्नुभयो– “गाउँका सबै मिलीसमूह गठन गरेर सुन्तलाखेती सुरु गरेका छौं,पानी व्यवस्था गर्न सकियो भने हुन्छ कि भनेर नै कस्सिएका हौँ ।”


गैंडाकोट नगरपालिका वडा नम्बर १८ डोडेमा सुन्तला खेती र कागती खेतीको राम्रो सम्भावना छ । यही खेती गर्न सिंचाइको अभाव भएपछि स्थानीय वर्षायामको आकासेपानी जम्मा गरेर सुन्तला, जुनार रकागती खेतीका लागि पोखरी बनाउन कस्सिएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतसुन्तला जोन क्षेत्रमा स्थानीयको ५०÷५० प्रतिशत लगानीमा पोखरी निर्माण गर्न लागिएको हो ।
वर्षौंदेखि सुन्तला र मौसम लगाउँदै आउनुभएकी गैंडाकोट १८ डोडेकी बिर्खमाया बाचेले आशा व्यक्त गर्दै भन्नुभयो – “थौरै भएपनि सुन्तला र मौसमको बिरुवा छ, त्यसलाई अलिकति पानी हाल्न पाए फल्थ्यो कि भनेर पाखापखेरी खन्दैछौं ।”
खानेपानीको पनि पर्याप्त सुविधा नपाएका स्थानीयकृषि खेतीका लागि वर्षायामको आकासे पानी जम्मा गरेर खेती गर्नका लागि दुःख गरेका छन् । स्थानीय कर्णबहादुर मगरले भन्नुभयो –“अहिले खानेपानीका लागि पनि दुःख छ, सिंचाइकसरी गर्नु ?त्यहीभएर सिंचाइका लागि सहज होस् भनेर जुटेका छौँ ।”
पर्याप्त पानीको स्रोत नहुँदा जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानले बर्खाको पानी सङ्कलन गरी पोखरी निर्माण खटिएका हुन् । सिंचाइ नहँुदा कर्म गरेपनि फल राम्रो नपाएका स्थानीय अब भने केही हुन्छ कि भन्ने आशामा छन् । पोखरी बनेपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास लिइएको स्थानीय गङ्गाबहादुर थापा मगरले बताउनुभयो ।
गैंडाकोट १८ कै कर्णबहादुर मुकिम मगरले स्थानीय सबै जुटेपछि अब केही आशा जागेको बताउनुभयो । सुन्तला,जुनार, कागती र तरकारी खेती गर्न पर्याप्त सिंचाइ आवश्यक पर्छ । त्यही खेती फस्टाउने आशामा उनीहरूले श्रमदान गरिरहेका छन् ।स्थानीय सुमित्रा आले मगरले भन्नुभयो – “सिंचाइ भएपछि केही हुन्छ कि भन्ने आशा छ ।”


सिंचाइको सुविधा उपलब्ध गराउन गैंडाकोट १८ को वडा कार्यालयले समन्वय गरिरहेको छ । सोही स्थानमा गैंडाकोट ११ का वडा सदस्य गुप्तप्रसाद रेग्मीले खनेको सानो पोखरीले अहिले पनि सिंचाइ र वस्तुभाउका लागि पानी खुवाउन सहज भएपछि यसलाई निरन्तरता दिइएको गैंडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताउनुभयो । उहाँले निर्माण भइरहेको पोखरीबाट स्थानीयलाई सिंचाइमा केकति सहज हुन्छ त्यो हेरेर भोलिका दिनमा अन्य पोखरी निर्माणको योजना अघि सार्ने बताउनुभयो । उहाँले भन्नुभयो–“यो पोखरीको सफलतापछि वडाका प्रत्येक टोलमा पोखरी निर्माणको प्रक्रियालाई निरन्तरता दिनेछौं ।”
सिंचाइको सुविधा नहँुदा कृषिमा राम्रो उत्पादन लिन नसकेका स्थानीय सरकार र अन्य निकायको सहयोगको पर्खाइमा छन् । यस्ता पोखरी ठाउँ ठाउँमा बनाउन सके सहज हुने स्थानीयको विश्वास छ ।

Share.

Leave A Reply