गुणस्तरीय सामग्रीका लागि मिनिमार्ट : सापकोटा

0


सहकारी क्षेत्रमा नयाँ नयाँ आयाम र अनुकरणीय कार्य हुँदै आएका छन् । सामूहिक लगानीको वातावरण बन्दै गएको छ भने सामुदायिक सुदृढीकरणका लागि सहकारीका माध्यमबाट विभिन्न कार्यको थालनीसमेत भएको छन । आफ्ना सदस्यलाई वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको सहकारी इतिहासमा नै फरक पहिचान बनाउँदै अघि बढेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा प्रवद्र्धित विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले गैंडाकोट ८ मा मिनिमार्ट सञ्चालनमा ल्याएको छ । सोही विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभाबाट अध्यक्षमा हरिलाल सापकोटा चयन हुनुभएको छ । यसैसन्र्दभमा हामिले मिनिमार्ट र अबको योजनाका विषयमा विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटासँग कुराकानी गरेका छौं । प्रस्तुत छ विजय खबरका लागि समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
विकू र विजयश्री संस्थाबीचको सम्बन्ध के हो ?
विजयश्री उपभोक्ता सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्थाले प्रवद्र्धन गरेको सहकारी संस्था हो । विकूले बचत संकलन गर्ने ऋण लगानी गरिरहेको अवस्थामा आफ्ना सदस्यलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने हिसाबले उपभोक्ता सहकारी सञ्चालनमा ल्याएको हो । यो सहकारीमा विकूको मात्रै लगानी छैन । विजय परिवारका सदस्य सँगसँगै विकूका सदस्य र अन्य सदस्यहरुको समेत लगानीमा सञ्चालन आएको संस्था हो ।
मिनिमार्टको अवधारणा कसरी आयो ?
विकू बचत तथा ऋण सहकारी संस्थामा आबद्ध सदस्यबीच अब सदस्यलाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्छ भन्ने विषयमा छलफल भइसकेपछि विकूले नै विभिन्न ठाउँको अध्ययन अवलोकन गरायो । हामीले विदेश भ्रमणसमेत ग¥यौं । श्रीलंका, बंगलादेश र भारतका विभिन्न स्थानमा पुगेर समेत हामीले त्यहाँ भएका र सञ्चालनमा आएका मार्टहरु र उपभोक्ता पसल हे¥यौं । उनीहरुले उपभोग्य वस्तु कसरी आपूर्ति गरिरहेका छन् भन्ने विषयमा अध्ययन गरिसकेपछि त्यही सिकाइका आधारमा हामीले यसलाई अघि बढाएका हौं ।
अहिले व्यवस्थापन कसरी भइरहेको छ ?
गैंडाकोट ८ मा अहिले मिनिमार्ट रहेको छ र हामीसँग पाँचजना कर्मचारी रहेका छन् । कर्मचारीलाई सोही अनुसारको जिम्मेवारी दिएका छौं । विजयश्रीको कार्यक्षेत्र भनेको गैंडाकोट क्षेत्र हो । यसभन्दा अघि हामीले सुपर मार्केटको अवधारणा ल्याएका थियौं तर अहिले नै ठूलो लगानी चुनौती हुन सक्छ भन्ने लागेर मिनिमार्टको सुरुवात गरेका हौं । पहिलो चरणमा विकूका सेवा केन्द्रहरू रहेका स्थानहरुमा मिनिमार्ट सञ्चालन गर्ने तयारी स्वरुप अघि बढेका छौं । सोही अनुरुप व्यवस्थापन भइरहेको छ । विकूका सेवा केन्द्रनजिक मिनिमार्ट सञ्चालन हुनेछ । अहिले समग्रमा हेर्दा २५१ जना सेयर सदस्य रहनुभएको छ । १ करोड १६ लाख ६४ हजार सेयरपुँजी रहेको छ । यस पुँजीबाट हामीले पहिलो मिनिमार्ट सञ्चालनमा ल्याएका हौं र अर्को मिनिमार्ट सञ्चालनका लागि पनि यही पुँजीले पुग्ने अनुमान छ । त्यसपछि क्रमशः पुँजी वृद्धि गर्दै सञ्चालन गर्नेछौं ।
अर्को मिनिमार्ट कहिले कहाँ सञ्चालनमा आउने छ ?
सदस्यहरुले जुन उत्साह देखाउनुभएको छ त्यसले हामीलाई थप उत्साह मिलेको छ । बजारमा पनि यसले राम्रै चर्चा पाएको छ । अहिले तत्कालका लागि गैंडाकोटमा रहेका विकूका सेवा केन्द्र नजिकमा मिनिमार्ट सञ्चालनमा आउनेछ । यस आर्थिक वर्षभित्र तीनओटा मिनिमार्ट सञ्चालनमा आउने छन् । दोस्रो मिनिमार्ट कालिगण्डकी चोकमा सुरु हुनेछ । यसको भौतिक पूर्वाधारतर्फ सम्पूर्ण तयारी भइसकेको छ । यसपछि हर्कपुरमा राख्नेछौं । त्यहाँ घरको खोजी भइरहेको छ ।
मिनिमार्टमा हाल के–कस्ता सामग्रीहरू पाइन्छन् ?
हामीले सदस्यलाई तत्काल आवश्यकताको पूर्ति गर्नका लागि दैनिक उपभोग्य वस्तु खाद्यान्न र कस्मेटिकका सामग्री प्राथमिकतामा राखेका छौं । मिनिमार्टलाई विस्तार गर्दै सुपर मार्टका रुपमा स्थापना गर्ने सोचमा छौं । अहिले तत्काललाई दैनिक उपभोग्य वस्तुलाई महŒव दिएर सोही अनुरुपका वस्तु र सामग्री राखेका छौं ।
मिनिमार्टमा स्थानीय कृषि उत्पादन, लत्ताकपडा लगायतका सामग्री छैनन् अबको योजना के छ ?
अहिले सञ्चालनमा आएको पहिलो मिनिमार्टमा लत्ताकपडा छैनन् तर हामीले सोच भने बनाएका छौं । अब सञ्चालन हुने मिनिमार्टमा ती सामग्री पनि रहने छन् । क्षेत्र सानो भएकाले ती सामग्रीभन्दा पनि दैनिक उपभोग्य खाद्यान्नलाई हामीले जोड दिएका हौं । उपभोक्ताको चाहनाअनुसार हामिले यसलाई विस्तार गर्दै लग्ने योजना बनाएका छौं । अन्य कुरा गर्नुपर्दा अहिले उद्घाटनका अवसरमा उपभोक्तालाई हामीले विशेष छुटका साथ बिक्री गरेका छौं । जसले उपभोक्तालाई सहज भएको हामीले महसुस गरेका छौं । हामीले सबै उपभोक्तालाई त्यो छुट दिएका छौं । त्यसबाहेक सदस्यहरुलाई वर्षभरि किनेका सामानका आधारमा मुनाफा वितरण गर्नेछौं ।
अन्य बजार र मिनिमार्ट बीचको फरक के हो ?
अन्य क्षेत्रभन्दा यो धेरै फरक छ । समुदायका व्यक्तिहरुको लगानीमा सञ्चालित सहकारीले यो क्षेत्रमा पहिलोपटक फरक खालको कामको सुरुवात गरेको छ । त्यतिमात्र नभई हामीले मिसावटयुक्त खाद्य सामग्री बिक्री गर्दैनौं र यहाँ स्थिर मूल्य हुनेछ । बजारमा व्यक्तिको अनुहार हेरेर जुन मूल्य कायम गरिन्छ हामी त्यौ गर्दैनौं । मूल्यमा एकरुपता हुन्छ । गुणस्तरीयताका लागि हामीले विशेष ध्यान दिएका छौं । सदस्यहरुले त बुझिसक्नुभएको पनि छ । म सम्पूर्ण उपभोक्ताहरुलाई एकपटक यसको अवलोकनका लागि आउन आग्रह पनि गर्न चाहन्छु र कोही सेयर सदस्य बन्न चाहनुहुन्छ भने पनि सम्पर्कका लागि अनुरोध गर्न चाहन्छु ।

Share.

Leave A Reply