गैंडाकोट १८ मा  सडक मर्मतसँगै यातायात सेवा केही सहज

0


प्रेम क्षेत्री

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १८ मा सडक मर्मतसँगै यातायात सेवा केही सहज भएको छ । भौगोलिक रुपमा पहाडी क्षेत्र, बस्ती पनि टाढा टाढा रहेकाले सुविधायुक्त सडक पुग्न नसके पनि वडाका बस्तीसम्म विस्तार भएका सडकहरु मर्मत–सम्भार गरिएको छ । वडाका विभिन्न टोलसम्म पुग्ने बाटो ग्रावेलसँगै स्तरोन्नति र मर्मत गरिएको वडाअध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “गाउँमा भएका सडक मर्मत गरिएको छ । भागरदेखि आहाले हुँदै चन्डिभन्ज्याङ, भेडाबारीदेखि माथि डोडेसम्म, दमार खाप्सेटार हुँदै हात्तीसाल बसेनी, रतनपुर जाने बाटो, आहालेदेखि हुर्जिलसम्म नाला काट्ने खाल्डाखुल्डी पुर्ने लगायतका काम सम्पन्न गरेका छौं ।”


सडककै कारण सास्ती भोग्दै आएका गैंडाकोट १८ का स्थानीयलाई यसले राहत प्रदान गरेको छ । पूर्व पश्चिम राजमार्गदेखि १२÷१३ किलोमिटरको मात्रै दूरीमा रहेको गैंडाकोट १८ मा निर्माण भएका सडकमा ग्रावेलको काम सम्पन्न भएको हो । सहज बाटो नहुँदा कष्टकर दैनिकी बिताएका वडाबासीलाई केही सहज भएको महसुस गरिएको छ । हिउँदमा धुलैधुलो र बर्खामा हिलै हिलो हुने भएपनि खाल्डाखुल्डी पुरिएपछि यातायात सञ्चालनमा सहजता मिलेको छ । सुविधायुक्त बाटो नहँुदा बिरामी अस्पताल जान समस्या थियो । यसले केही हदसम्म समस्या टरेको वडाअध्यक्ष चितौरेको भनाइ छ । यहाँ उत्पादन भएका कृषि सामग्री खाद्यान्न बिक्रीका लागि सहज बनाउने प्रयास भएको बताउँदै उहाँले वडाबाट विनियोजन भएको रकमबाट कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– “यो सबै मर्मत कार्य वडास्तरीय बजेटबाट गरेका हौं ।”
पूर्व पश्चिम राजमार्गसम्म सहज बाटो बन्ला भन्ने आसैआसमा बसेका स्थानीयलाई भेडाबारीदेखि बुलिङटार जोडिने सडक निर्माण कार्यले झनै खुसी तुल्याएको छ । गैंडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले प्रदेशको योजनामा सडक निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । सडकका लागि ६ करोड प्रदेशबाट बजेट विनयोजन भई काम सुरु भएको छ । २७ महिनाभित्र सक्ने गरी कामको थालनी भएको उहाँले जानकारी दिनुभयो ।
सडक निर्माण भएपछि हिलाम्मे र धुलाम्मे कष्टकर यात्रा भोग्न नपर्ने कुराले स्थानीय पनि उत्साही बनेका छन् । समयमै सडक निर्माण कार्यले पूर्णता पाउने र यातायात सहज हुने विश्वास लिइएको छ ।

Share.

Leave A Reply