आयोजनाको लापार्वाहीले गैंडाकोटमा अवरुद्ध विद्युत सुचारु

0

डोलराज रानाभाट, २९ पुस । बुटवल नारायणगढ सडक खण्ड विस्तार गर्ने आयोजनाका कर्मचारीले समन्वय नगर्दा गैडाकोटमा दिनभर विद्युत सेवा अवरुद्ध भयो ।

सडक खण्डमा पर्ने नारायणी सामुदायिक वनभित्रका रुख काट्ने क्रममा आयोजनाका कर्मचारीले होस नपुर्याउँदा काटिएको रुखले विद्युतको पोल भाँचिएपछि गैंडाकोटमा विद्युत सेवा अवरुद्ध भएको थियो । गैंडाकोट थुम्सी क्षेत्रको जंगलमा काटिएको रुख ढलेर ४ ओटा विद्युतको पोल भाँचिएपछि अवरुद्ध बिद्युत सेवा दिनभरको मर्मत पछि सुचारु भएको नेपाल बिद्युत प्राधिकरण गैंडाकोट प्र.शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । रुख काट्दैछौँ भन्ने खवर समेत नगरेको आयोजनाले समयमै ध्यान नदिँदा गैडाकोटवासीले दिनभर लोडसेडिङको सास्ती खेप्नुपर्यो ।

काटिएको रुख ढल्दा त्यसले गर्ने असरको वारेमा अध्ययन नगर्दा उक्त क्षती हुन पुगेको हो । विद्युतको पोल भन्दा ठिक विपरित तर्फ रहेका रुखहरु काट्दा त्यही रुखले विद्युतको पोलमा क्षती पुगको रिजालले बताउनुभयो । विद्युत प्राधिकरणका कर्मचारीहरुसँग सहकार्य गरेर रुख काटेको भए यो समस्यानै नआउने रिजालले बताउनुभयो ।

”हाम्रा कर्मचारीसँग सहकार्य गरेको भए रुख काट्ने तरिका र त्यसबाट हुनसक्ने क्षतीको पूर्व अनुमान लगाई व्यवस्थापन गर्न सकिन्थ्यो, रिजालले भन्नुभयो, ”खवर नभएपछि क्षती भयो ।” भाँचिएका विद्युतका पोल,काठ हटाई नयाँ पोल ठड्याउने देखि तार टाँग्ने काम सम्पन्न भएपछि साँझ ७ बजेदेखि विद्युत सुचारु भएको थियो ।

Share.

Leave A Reply