कृषि कर्ममा रमाउँदै, स्रोत बढाउँदै परिणाममुखी गराइँदै

0


माया कंडेल
गैंडाकोट । उर्वर भूमि र सुहाउँदो वातावरणले गैंडाकोट १८ कृषिको प्रचुर सम्भावना बोकेको स्थान हो । यहाँ पर्याप्त सम्भावना छ तर सम्भावनाको पहिचान भने हुन सकेको छैन । नजिकको तीर्थ हेला भने झैं यहाँका स्थानीयले आफ्नै गाउँको सम्भावना चिन्न नसक्दा विभिन्न सेवा सुविधा र सम्भावना खोज्दै बेसी झर्ने क्रम बढ्दो रहेपनि गैंडाकोट ११ का वडासदस्य गुप्तप्रसाद रेग्मी भने यहाँ कृषि कर्म गर्न कस्सिनुभएको छ । उहाँले गैंडाकोट १८ मा व्यावसायिक कागती र एभोकाडो खेती गर्नुभएको छ ।
पर्याप्त व्यावहारिक अभ्यास र व्यावसायिक ज्ञान नहुँदा यहाँका स्थानीयले व्यावसायिक रुपमा खेती गर्न सकेका थिएनन् तर वडासदस्य नै कृषि कर्ममा लागेको देखेपछि भने स्थानीयले पनि पछ्याउन थालेका छन् । रेग्मीले भन्नुभयो – “उर्वर भूमि र सुहाउँदो वातावरणले गर्दा यहाँ सम्भावना देखिएपछि कागती र एभाकाडोको खेती सुरु गरेको हो ।” गरेपछि हुने रहेछ भन्ने देखाउन कस्सिएको उहाँले बताउनुभयो ।
गैंडाकोट १८ लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनअन्तरगत सुन्तला पकेट क्षेत्रका रुपमा घोषणा पनि गरिएको छ । जसले कृषिलाई प्रोत्साहन गरेको वडा सदस्य रेग्मीको भनाइ छ । सुन्तला जोन घोषणा भएपछि अझै आत्मबल बढेको उहाँले बताउनुभयो ।
वडासदस्य नै गाउँमा सक्रिय भएर काम गरेको देखेपछि आफूहरु पनि प्रोत्साहित भएको स्थानीय बताउँछन् । पहिले सम्भावना नदेखेका र परम्परागत कृषि खेती गरेका स्थानीयले अहिले समूहगत रुपमा नै कार्य गरेका छन् । १६ देखि १७ जनाको समूहमा काम गर्न थालेको उनीहरुको भनाइ छ ।
गैंडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेले वडामा कृषि र पशुपालनको सम्भावना रहेको बताउँदै त्यसको विकासका लागि काम गरिरहेको बताउनुभयो । बाख्रा, बंगुर, कागती, अदुवा, सुन्तलालगायतको खेतीको प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –“कृषि उत्पादन बढाउन १७ लाख बजेटसमेत छुट्टिएको छ, अहिले आवश्यक स्थान र खेतीमा यो रकम खर्च हुन्छ ।”
यस्तै गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले कृषि उत्पादन बढाउन नगरपालिका केन्द्रित रहेको बताउनुभएको छ । उहाँले कृषि नै विकास र समृद्धिको आधार भएकाले कृषि क्षेत्रको विकासमा नगरले कार्य गर्ने बताउनुहुन्छ । नगरप्रमुख पौडेलले भन्नुभयो– “वडा नम्बर १८ विकट होइन सम्भावनाको क्षेत्र हो यसका लागि काम भइरहेको छ ।”
कृषि क्षेत्र विकासको आधार हो । वडा सदस्य लगायत केही स्थानीयले यहाँको सम्भावनालाई आत्मसात् गर्दै काम गरिरहेका छन् यस्तै अन्य व्यक्ति र सरोकारवालाले पनि कृषि र कृषि क्षेत्रको विकासका लागि कम्मर कस्ने हो भने रोजगारीमा वृद्धि र स्थानीय उत्पादनले देश आत्मनिर्भर बन्ने पक्का छ । स्रोत बढाउन लागिपरेको जनाउँदै उहाँले कामलाई परिणाममुखी देखाउने गरी कृषकलाई आग्रह समेत गर्नुभएको छ । त्यसका लागि नगरका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

Share.

Leave A Reply