गैंडाकोट १८ : बाख्रा पकेट क्षेत्र, पशु स्वास्थ्य सेवा चाहियो : किसान

0


माया कंडेल
गैंडाकोट । गैंडाकोट १८ का पदमबहादुर आलेले अहिले आफ्नै गाउँघरमा बाख्रापालन गर्दै आईरहनुभएको छ । यो नै उहाँको दिनचर्या र अर्थोपार्जनको बिकल्प हो । माईतीबाट श्रीमतीले पेवाको रुपमा पाएको तिनवटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएका आलेको खोरमा अहिले ५० भन्दा बढि बाख्रा छन् । बिदेशमा गएर पनि सोचेजस्तो नभएपछि उहाँले आफ्नै गाउँमा कृषिकर्म गर्ने र बाख्रा पाल्ने सोच बनाउनुभएको हो । अहिले उहाँको यहि कर्मले विहान बेलुका चुल्होमा आगो बाल्न र जिवीकोपार्जन गर्न सघाएको छ । आले भन्न्ुहुन्छ –“विदेशमा नभएपछि गाउँमा आएर बाख्रापालन गरेको राम्रै छ । पहिले त १ सय ५० बाख्रा थिए । अहिले ५० वटा जती छ । खर्च कटाएर पनि १ लाख त आम्दानी हुन्छ । यसैमा खुशी छु ।”
गैंडाकोट १८ का हरेक घरमा बाख्रापालन गरिएको छ । यहाँ चरनक्षेत्र प्रशस्त भएकाले पनि बाख्रापालनको सम्भावना रहेको स्थानीयको बुझाई छ । थोरै लगानीमा धेरै आम्दनी गर्न सकिने आलेको भनाई छ । उहाँले पशु स्वास्थ्य जाचँ गर्ने व्यवस्था भए अझै राम्रो हुने बताउनुहुन्छ । आले भन्नुहुन्छ–“पशु मेडिकल सेन्टर राखेर काम गर्न सके अझै राम्रो हुन्थ्यो, आम्दानी पनि बढ्थ्यो । ”
बाख्रापालनको सम्भावना सँगसँगै समस्या र चुनौती पनि उत्तिकै रहेको स्थानीयको भनाई छ । गाउँ नजिकै जङगल भएकाले खुल्ला चरन क्षेत्रमा बाख्रा चराउन लैजादा बाघले खाईदिने डर हुने गरेको खाप्सेटारकी बिष्णुमाया आलेले बताउनुभयो । उहाँले बाख्रापालनबाट आम्दानी भईरहेको पनि बताउनुहुन्छ । “कमाउन सजिलो छ अलि अलि आम्दानी भईरहेको छ । खसीको मुल्य पनि बढे पछि झन कमाई पनि वढेको छ । ”
लालसिंह सारु मगरले पनि बाख्रा पालन गर्दै आईरहनुभएको छ । रोग लागेर धेरै बाख्रा मर्ने गरेको बताउने सारुले भेटनरि तालिम पनि लिनुभएको छ । बाख्रालाई नियमित उपचार गराएर दानापानी मिल्यो भने आम्दानी बढि हुने भएपनि स्थानीयमा जनचेतनाको अभाव रहेको सारु बताउनुहुन्छ । उहाँले भन्नुभयो–“सबैले धेरै खर्च लाग्छ भनेर बाख्राको उपचार गर्दैनन् यहाँ त जनचेतनाको पनि अभाव छ ।”
सम्भावना भएपनि स्थानीय सरकारले चासो नदिएको स्थानीयको आरोप छ । बाख्रा पकेट क्षेत्र घोषणाको नाममा मात्रै घोषणा गरिएको उनिहरुको दुखेसो छ । त्यसका लागि आवश्यक तालिम र सहयोग गर्नुपर्ने मनमाया केजुको भनाई छ । उहाँले भन्नुभयो–“चासो कसले दिने हो एउटा बोका दिएका थिए, त्यहि पनि म¥यो । हामीले त बिरामी हँुदा कागती निचोरेर खुवाउछौं बाबुबाजेले त्यहि सिकाए । यहाँ एउटा प्राबिधिक राख्न पाए राम्रो हुन्थ्यो ।”
व्यवस्थित रुपमा बाख्रापालन गर्न सके आम्दानीको प्रशस्त सम्भावना रहेको आहालेकी मनकुमारी रानाको भनाई छ । उहाँले गाउँमा नै उपलब्ध भएका मकै ढुटो खुवाएर पनि बाख्रापालन गर्न सकिने बताउनुहुन्छ । “हामीले बाख्रा मात्रै पाल्दैनौ, बुङगुर, गाई सबै पाल्छौ त्यहि भएर पनि व्यवस्थित हुन सकेको छैन । व्यवस्थित गर्न सके त आम्दानी धेरै हुन्छ ।”
गैंडाकोट १८ मा प्रशस्त चरन क्षेत्र छ । प्रशस्त चरन क्षेत्र भएकाले बाख्रापालनको सम्भावना देखिएकाले समन्वय भईरहेको वडाअध्यक्ष तिलबहादुर चितौरेको भनाई छ । बाख्रा पकेट क्षेत्र घोषणा गरेको स्थानीय सरकारले अन्य सेवा सुबिधा उपलब्ध गराए गाउँमा नै बाख्रापालन गरि आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । व्यवस्थित रुपमा गर्न सके यसले समृद्ध नगर बन्ने मात्र नभई राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि सिर्जना गर्ने देखिन्छ ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट १८ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न नगरले अघिल्ला आर्थिक वर्षदेखि नै काम गरिरहेको बताउनुभयो । यससंगै गैँडाकोट १८ लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न आफु तयार रहेको बताउनुभएको छ । गैँडाकोट १८ मा भएका कृषि गतिविधिको अघिल्लो साता अवलोकन समेत नगरप्रमुख पौडेलले गर्नुभएको छ ।

Share.

Leave A Reply