नेतृत्व लिन पछि हट्दैनौँ ः गैडाकोट ४ का महिलाहरु, दिदीवहिनीहरुको आवश्यकता अनुसार कार्यक्रमः अध्यक्ष भुजेल

0

२३ पुस । गैडाकोट ४ का महिलाहरुले नेतृत्व लिन आफूहरु तयार रहेको बताएका छन् । महिला संजाल गैडाकोट ४ को आयोजनामा सम्पन्न भएको नेतृत्व विकास उद्घोषण तथा प्रस्तावना लेखन तालिम पश्चात महिला दिदीवहिनीहरुले अव समुह, टोल देखि समाजको नेतृत्व लिन पछि नहट्ने र महिला शसक्तिकरणका क्षेत्रमा आफूहरुले पनि थप योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थीहरु पुजा परियार र सावित्रि पाण्डेले तालिमले मञ्चमा उभिएर आफ्नो तार्किक विचार व्यक्त गर्न सक्ने बनाएको बताउँदै नेतृत्व तहमा पनि आफू सक्रिय रहने बताउनुभयो । साथै उहाँहरुले आयोजक महिला संजाललाई धन्यवाद दिनुभएको थियो ।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यवाहक वडाअध्यक्ष तेजप्रसाद घिमिरले संजालले आफ्नै व्यवस्थापनमा गरेको कार्यक्रमले आफूलाई खुशी वनाएको र आफू कार्यवाहक रहदा होस् वा सदस्यमा, आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । च्याउ खेती पनि संचालन भइरहेको वडामा सीपसँगै तीन दिने तालिममले नेतृत्व लिन पनि सिकाएको बताउँदै अव व्यवहारिक प्रयोगमा ल्याउन सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पूर्व गाविस उपाध्यक्ष समाजसेवी टोलनाथ घिमिरले प्रोत्साहित र सहयोग गर्ने आफ्ना परिवारका ज्यष्ठ सदस्यहरुलाई भुल्न नहुनेमा जोड दिँदै जुनकुनै नेतृत्व लिने कार्यक्रम आएमा अग्रसर भई आफूलाई प्रस्तुत गर्न सुझाव दिनुभयो । आफूहरुको युवा अवस्थामा यसरी तालिमको व्यवस्था नभएको स्मरण गर्दै तालिमको व्यवहारिक सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथि नगरकार्यपालिका सदस्य संगिता घिमिरे पण्डितले तालिमबाट सिकेर प्रशिक्षार्थीहरुले अभ्यासमा संचालन गरेको कार्यक्रमले खुशी वनाएको भन्दै अव नेतृत्व मागेर नभई क्षमता प्रस्तुत गरेर लिनसक्ने भएको बताउनुभयो ।
कार्यक्रममा टोलविकास संजालका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिमबाट सक्षम भई सिकाउने सक्ने क्षमतावान दीदिवहिनीहरुलाई टोलमा प्रशिक्षण दिने अवसर आफूले प्रदान गर्ने बताउनुभयो । टोलटोलमा गई प्रशिक्षण दिन्छु भन्ने क्षमताको विकास गर्दै औपचारिक कार्यक्रमहरुमा पनि आफ्ना भनाई हरु राख्ने अवसर माग्न आग्रह गर्नुभयो । कार्यक्रमको सभापति एवम् आयोज संस्थाकी अध्यक्ष शान्ता भुजेलले आफू नेतृत्वमा रहदा पाएको दुखले उद्घोषण र नेतृत्व विकास तालिम राखेको बताउनुभयो । आफूले नेतृत्व गर्दा यसरी तालिमको अवसर नपाएको र धेरै संघर्ष गर्नुपरेका कारण तालिमको आयोजना गरेको र तालिमले दिने उपलब्धी  राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
महिला दिदिवहिनीहरुको माग, चाहाना र आवश्यकता अनुसार महिला संजाल संचालन हुने भन्दै सदैव सहयोग र सहकार्यको अपेक्षा राख्नुभयो । कार्यक्रममा मुख्य प्रशिक्षक विजय एफ.एम.का स्टेशन म्यानेजर  श्रीधर उपाध्यायले औपचारिक तालिम सकिएपनि आफूले सिकेका सीपहरु व्यवहारमा लैजाने समय भने निरन्रत रहेको बताउँदै व्यवहारिक अभ्यासमा उतार्न आग्रह गर्नुभयो । संजालकी उपाध्यक्ष लक्ष्मी पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव एवम कार्यक्रम संयोजक शोभा घिमिरेले गर्नुभएको थियो । सो अवसरमा सहभागीहरुलाई प्रमाण पत्र र प्रमुख अतिथि सहित प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Share.

Leave A Reply