घरमै सुत्केरी हुन बाध्य, बर्थिङ सेन्टर निर्माणका लागि रकम अभाव

0


प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १८ मा गतवर्ष ३७ जना गर्भवती महिलाले स्वास्थ्य चौकीबाट सेवा लिए । यीमध्ये करिब १० जनाले अस्पताल जान नसकेर घरमै सुत्केरी हुन बाध्य भए । स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरु घरमा नै सुत्केरी बन्न पुगे ।
गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी पुगेकाहरु पनि घरमा नै सुत्केरी बन्नुको कारण पहिल्याउन स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरु घर घरमा नै पुगे । घरमा पुगेका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको जवाफ थियो–गाउँमा सुत्केरी गराउने स्वास्थ्य संस्था छैन, अस्पताल जाउँ कहाँ बस्ने ? यातायातको पनि असुविधा यस्तै यस्तै ।
नगर स्वास्थ्य शाखाले यसवर्ष वडामा ७१ जना गर्भवतीले सेवा लिएको हुनुपर्ने लक्ष्य दिएको छ । जसमा ६० जना जीवित बालबालिकाको लक्ष्य रहेको छ तर हालसम्म १३ जना गर्भवतीले मात्रै स्वास्थ्य चौकीबाट सेवा लिइरहनुभएको छ ।
सुत्केरी अस्पतालमा गराउँदा राम्रो भन्ने थाहा हँुदाहुँदै पनि वडामा बर्थिङ सेन्टर नभएपछि यहाँका महिलाहरु असुरक्षित रुपमा सुत्केरी हुन वाध्य छन् । स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति नहुँदा सेवा लिन जानेहरु पनि तुलनात्मक रुपमा निकै कम छन् ।
भौगोलिक अवस्थितिका कारण पनि वडावासीहरु स्वास्थ्य चौकी नगई अन्यत्र गएर स्वास्थ्य जाँच गराउने गरेका छन् । टाँडी मटकुरीलगायतका स्थानका व्यक्तिलाई वडामा रहेको स्वास्थ्य चौकीभन्दा अन्यत्र जान सहज हुने भएकाले पनि अन्यत्र जाने गरेका छन् ।
खाप्सेटारकी विष्णुमाया आलेले गाउँमा बर्थिङ सेन्टर नहुँदा निकै दुःखभोग्दै आएको बताउनुभयो । हुने खाने र सक्नेले भरतपुर अस्पताल पुगेर सेवा लिने गरेको र वडाका प्रायः भेडाबारीसम्म सेवा लिन जाने गरेको उहाँको भनाइ छ । बुहारीलाई रातारात बोकेर अस्पताल लग्नुपरेको तीतो अनुभव उहाँसँग छ । उहाँले भन्नुभयो –“रातारात झोलुंगो बनाई बाटोमा निकालेर बल्ल गाडीमा अस्पताल लगी बुहारीलाई सुत्केरी गराइयो ।”
वडामा बर्थिङ सेन्टर नहँुदा कति महिलाले अकालमा ज्यानसमेत गुमाएका छन् । अझैपनिगर्भवती महिला ज्यानजोखिममा राखेर गैंडाकोटको तल्लो भेगमा आउने गरेका छन् ।
यही समस्या हल गर्न वडामा अहिले बर्थिङ सेन्टर निर्माण चलिरहेको छ । बर्थिङ सेन्टर निर्माण कार्यले तीव्रता पाएसँगै केही राहत मिल्छ कि भन्ने आशा वडावासीमा जागेको छ । गर्भावस्थामा बषौँदेखि विभिन्न दुःख भोग्दै आएका गैंडाकोट १८ का महिलाहरु अब वडामा बर्थिङ सेन्टर बन्ने भएपछि खुसी देखिएका छन् । उपचार सेवा लिन भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य हुने र जोखिमपूर्ण यात्रा गर्न नपर्नेमा ढुक्क छन् ।


वडामा बर्थिङ सेन्टर बनेपछि धेरै राहत प्रदान गर्ने रतनपुर स्वास्थ्य चौकीका प्रमुख एवम् हेल्थ असिस्टेन्ट पुष्पराज श्रेष्ठ बताउनुहुन्छ तर वर्थिङ सेन्टर निर्माण भएपनि एम्बुलेन्स नभए समस्या ज्युँका त्युँ हुने उहाँको ठम्याइ छ । अझै पनि घरमा नै सुत्केरी गराउने गरेको बताउँदै उहाँले बर्थिङ सेन्टरको सुरुवातसँगै एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो – “आर्थिक भार कम गर्न, बर्थिङ सेन्टरसम्म ल्याउन र अवश्यक परेको खण्डमा रिफर गर्न पनि एम्बुलेन्स आवश्यक छ ।”
अहिले हुर्जिल, अहाले र टाँडी मटकुरीका बसिन्दालाई २–३ घण्टा लाग्ने भएकाले पनि सेवा लिन नजाने गरेको श्रेष्ठ बताउनुहुन्छ । यातायातको असुविधाका कारण स्वास्थ्य सेवाबाट वडावासी वञ्चित रहेको उहाँले बताउनुभयो ।
परामर्श गरेपनि आर्थिक अभावका कारण घरमा नै सुत्केरी गराउने गरेको पाइएको स्वास्थ्य चौकीकी अहेब बिनाकुमारी माप्छन मगरले बताउनुभयो । अब भने केही आशा जागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –“गैंडाकोटको तल्लो भेगमा आफ्ना मान्छै नहुने र भाडामा बस्न नसक्नेलाई अब यहाँ बर्थिङ सेन्टर भएपछि केही सहज हुनेछ ।”
बर्थिङ सेन्टरका निर्माणका लागि वडाबाट ११ लाख र नगरपालिकाबाट ५ लाख गरी१६ लाख रुपैयाँ बजेट विनियोजन भई अहिले भवन निर्माण चलिरहेको छ । टेन्डर आÞवान गरेपनि २ वर्षसम्म बनाउन कोही ननिस्किएपछि वडाबासीको सक्रियतामा नै अहिले बर्थिङ सेन्टर निर्माण कार्य चलिरहेको छ । झ्याल, ढोका, रंगरोगन, जिप्सन लगाउने र सिंढी निर्माणलगायतका कार्य बाँकी रहेको बर्थिङ सेन्टर निर्माण समितिका उपाध्यक्ष पदमबहादुर आलेमगरले बताउनुभयो । करिब ७५ प्रतिशत काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । बीचमा केही समय काम रोकिए पनि अहिले तीव्ररुपमा काम चलिरहेको जनाउँदै रकम अभाव देखिएको बताउनुभयो । भोलीका दिनमा आवश्यक उपकरण खरिद गर्न रकम जुटाउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।
वडा सदस्य चमबहादुर सुनारीले बर्थिङ सेन्टर निर्माण भएसँगै वडाबासीलाई सहज स्वास्थ्य सेवा पाउने र अकालमा कसैले ज्यान फाल्न नपर्ने गरी सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । पैसा हुनेहरु पहिले नै तल्लो भेगमा कोठा खोजेर बस्ने गरेका छन् । नहुनेहरु घरमा नै सुत्केरी गराउने गरेको त्यो दुःख भोग्नु नपरोस् भन्नका लागि बर्थिङ सेन्टर निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो –“वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । यातायात सहज भए गाडीले १० हजारसम्म भाडा लिने गरेका छन् । त्यो खर्च जोगाउन पनि गाउँमा व्यस्थित स्वास्थ्य संस्था बनाउन लागेका छौं ।”
गैंडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले बर्थिङ सेन्टर नहँुदा महिलाहरुले ज्यानै सम्म गुमाउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो –“डोकोमा बोकेर लैजानुपर्ने, अस्पताल पु¥याउँदा बच्चासहित महिलाले ज्यान गुमाउनप¥यो । अब त्यस्तो अवस्था आउन नदिन लागिपरेको छु ।” वडामा बर्थिङ सेन्टरको आवश्कता देखेर नै यसका लागि आपूm लागिपरेको उहाँले बताउनुभयो । ढुवानीका हिसाबले बढी खर्च उठेका कारण भवन निर्माणमा रकम अपुग देखिएको उहाँले बताउनुभयो । बर्थिङ सेन्टर सम्पन्न गर्नका लागिअझै ५ देखि७ लाख रुपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।
गर्भावस्थामा वर्षौदेखि विभिन्न दुःख भोग्दै आएका गैंडाकोट १८ का महिलाहरु सहज सवास्थ्य सेव प्रदान गर्न पनि बर्थिङ सेन्टरलाई छिट्टै पूर्णता दिनुपर्ने देखिएको छ । गर्भवती महिलालाई जोखिमपूर्ण यात्रा गर्न नपर्ने अवस्था सिर्जना गर्न एम्बुलेन्ससँगै सुरक्षित सेवा प्रदान गर्न उपकरण जुटाउनुपर्ने देखिएको छ ।

Share.

Leave A Reply